सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

दरबार रोधीको १८औँ वार्षिकोत्सवमा दृष्टिविहीन कलाकारलाई सहयोगको घोषणा

आइतबार, २४ जेठ २०८३, २३ : ५१
आइतबार, २४ जेठ २०८३

काठमाडौँ । दरबार रोधी क्लबले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा साङ्गीतिक उल्लास र सामाजिक सेवालाई एकसाथ अघि बढाउने भएको छ । आगामी जेठ २९, ३० र ३१ गते दरबारमार्गस्थित मायालु कम्प्लेक्समा रहेको रोधी घरमा आयोजना हुने तीन दिने विशेष साङ्गीतिक उत्सवमा चर्चित गायक तथा मोडल दुर्गेश थापादेखि लोकदोहोरीकी लोकप्रिय गायिका टीका सानुसम्मका दर्जनौँ चर्चित कलाकारहरू एउटै मञ्चमा प्रस्तुत हुने भएका छन् । 

वार्षिकोत्सवलाई केवल मनोरञ्जनमा मात्र सीमित नराखी क्लबले सामाजिक उत्तरदायित्व समेत वहन गर्दै दृष्टिविहीन तथा सडकमा सङ्घर्षरत कलाकारहरूको हरेक वर्ष आर्थिक सहयोग प्रदान गर्ने घोषणासमेत गरेको छ । 

क्लबका सञ्चालक सुनिल कुँवरले हालै इन्द्रेणी कार्यक्रममा पुगेर दृष्टिविहीन कलाकारहरूको संघलाई ५० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका छन्। कलाकार र कर्मचारीहरूको अथक मेहनतले १८औँ वर्षसम्म आइपुग्न सफल भएको बताउँदै कुँवरले भने, ‘अबदेखि हरेक वर्ष वार्षिकोत्सवको अवसरमा क्लबले कमाएको केही हिस्साबाट न्यूनतम ५० हजार रुपैयाँ सडकदेखि सङ्घर्षरत र दृष्टिविहीन कलाकारहरूलाई सहयोग गर्नेछौँ।’

तीन दिनसम्म चल्ने यस वार्षिकोत्सवको साङ्गीतिक मेलामा पहिलो दिन जेठ २९ गते प्रेम राजा महत, राजु परियार, दुर्गेश थापा, कृष्ण कँडेल, श्याम राना, दीपिका बयम्बु र सञ्चिता बोलाखेको प्रस्तुति रहनेछ। दोस्रो दिन जेठ ३० गते रामजी खाँण, प्रीति आले र शान्त रानी परियारले दर्शकलाई नचाउनेछन् भने अन्तिम दिन जेठ ३१ गते, विश्व दोङ र टीका सानुले साङ्गीतिक माहोल तताउनेछन् । यो उत्सव तीनै दिन साँझ ७ बजेदेखि भोलिपल्ट बिहान ४ बजेसम्म चल्नेछ, जहाँ दर्शकले साङ्गीतिक मनोरञ्जनका साथै विशेष छुट र सहुलियतको सुविधा समेत पाउने सञ्चालक कुँवरले जानकारी दिए । 

विगत १८ वर्षदेखि नेपाली लोक संगीत र संस्कृतिको संरक्षणसँगै नयाँ प्रतिभा पहिचान र प्रवर्द्धन गर्ने थलोका रूपमा स्थापित यस क्लबले कयौँ चर्चित कलाकारहरूलाई व्यावसायिक मञ्च प्रदान गर्दै साङ्गीतिक क्षेत्रमा बलियो आधारशिला निर्माणको काम समेत गर्दै आएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप