बेच्न मन छ मलाई मेरो शैक्षिक योग्यता

person explore access_timeअसोज ४, २०७८ chat_bubble_outline0

 

ती दिन सम्झिँदा झस्किन्छ मेरो मुटु, जब म ए बी सी डी र क ख ग घसम्म भन्न सक्ने भएको थिएँ । बाबाले मलाई प्रश्न गर्नुहुन्थ्यो– ‘बाबु तिमी ठूलो भएपछि के बन्छौ ?’ त्यत्तिकैमा आमाले काखमा च्याप्दै ‘मेरो छोरा डाक्टर बन्छन्’ भन्दैगर्दा मैले पनि तोते बोलीमा ‘दाक्तर बन्छु’ भन्ने गर्थें ।

झोलामा कापी किताबभन्दा टिफिनको खाजा हेरेर स्कुल जाने मलाई कक्षाकोठामा हरेक दिन प्रश्न तेस्र्याइन्थ्यो– ‘ठूलो भएपछि के बन्छौ ?’ मेरो मुखबाट सबैभन्दा छिटो उत्तर निस्किन्थ्यो– ‘सर, म त ठूलो भएपछि डाक्टर बन्छु ।’ मेरो उत्तरमा सरले खुसी हुँदै, सुमसुम्याउँदै स्याबास् भन्दा डाक्टर ठूला मान्छे रहेछन् भन्ने चाल पाएको थिएँ । अनि मेरो मस्तिष्कमा डाक्टर बन्ने सपनाले डेरा जमाउन लाग्यो । पढ्नमा अब्बल हुँदै गएँ । मेरा लागि जेनतेन स्कुले खर्च जुटाएका मेरा बाआमालाई पनि ममाथि छोरा एक दिन डाक्टर साब बन्नेछ भन्नेमा पूरै विश्वास थियो ।

 म त अनभिज्ञ रहेछु । अहिलेसम्म डाक्टर पढ्नका लागि चाहिने लगानीका बारेमा भने बिचरा मेरा बालाई के थाहा, मेरो ९०– ९५ प्रतिशतको मार्कसिट सर्टिफिकेटभन्दा गह्रुँगो खल्ती बाबाको हुनुपर्छ भन्ने । हजारमा शुल्क बुझाउने दिन पसिनाले लुथु्रक्क भिज्ने बाले लाखौँको शुल्क सुन्न पनि सक्लान् कि नसक्लान् ? म खङ्ग्रङ्ग भएँ । मसँग सशुल्क पढेर डाक्टर बन्ने हैसियत छैन । अब मैले छात्रवृत्तिमा पढ्नका लागि नाम निकाल्नुपर्छ र डाक्टर बन्नुपर्छ भनेर १ वर्ष तयारीमै बिताएँ ।

अहं सकिनँ सफल हुन अनि परिन कुनै आरक्षणमा पनि । सबै विषयमा सहज पास गर्दै आएको म लक्ष्य प्राप्तिको विषयमा भने नराम्ररी गुल्टिएँ । मैले लाखौँको हिसाब किताबमा बाआमालाई बन्धकी राखेर डाक्टर बन्न चाहिनँ र एकाउन्ट पढ्ने सुरु गरेँ । अब चाहिँ जिन्दगीको एकाउन्ट मिलाउन सकिन्छ कि झैँ लागेको थियो । तर जिन्दगीको डेबिट– क्रेडिट किताबका पानामा छापिएका जस्तो कहाँ हुन्थ्यो र । मैले पढेको अर्थशास्त्रले मात्रै आर्थिक उन्नति पनि नहुने रहेछ । गणितको हिसाबमा जोड– घटाउ गरी ठ्याक्क उत्तर मिलाए जस्तो गरी जिन्दगीको उत्तर पनि नमिल्ने रहेछ ।

मार्केटिङ पढ्दा बजारमा वस्तु बिक्रीका लागि विज्ञापनको ठूलो भूमिका रहन्छ भन्ने पढेको म हरेक पत्रिकाका विज्ञापनमा मेरा एक जोर आँखा छिटो पुग्नेगर्थे । कतै मेरा लागि रोजगारीको अवसर छापिएको छ कि ? दिनहुँ छापिएका हुन्थे तर ती विज्ञापन छाप्नु अगावै उक्त पदका लागि लक्षित व्याक्ति छनोट भइसकेका हुने । अझ कतै त ती आफ्नाको छनोटका लागि उनीहरूलाई नै उपयुक्त हुने योग्यता र क्राइटएरिया राख्ने रहेछन् । कैयौँ विज्ञापनका लागि दस्तुर तिरेँ । कैयौँ संस्था, कम्पनीहरूमा मेरा बायोडाटा पेस गरेँ ।

 म कतै योग्य भइनँ । मैले खर्च जुटाउन लागि घरघरमा गएर पढाएको होम ट्युसन मेरो अनुभवको सर्टिफिकेट बनेन । बाले जुगैभर बाँजो खेत जोतेर बगाएको पसिना अनि आमाले सत्कर्म गर्नुपर्छ छोरा भनेर सिकाएको संस्कार मेरा लागि कतै अनुभवको सूचीमा परेन ।

धेरैले त विज्ञापनमै उल्लेख गर्छन्– सम्बन्धित काममा दुई वर्ष, पाँच वर्षको अनुभव भनेर । जागिर नपाई खै कसरी गर्नु अनुभव ? जागिर खोज्ने क्रमका अनुभव कति छन् कति । दर्जनौँ पटक परीक्षा दिएको अनुभव छ । लोक सेवामा लिखितमा पास भएर अन्तरवार्तामा फालिएको अनुभव छ । वैकल्पिकमा परेर प्रतीक्षामा बसेको अनुभव छ । लक्ष्य प्राप्तिका खातिर भोगेका अनेकन दःुखपीडाका अनुभव छन् ।

तर, यी अनुभवहरूले मलाई योग्य कहिले बनाएन । बरु मेरो दक्षतामाथि प्रश्न उब्जियो । मेरा सर्टिफिकेट न त बुनेर लाउन मिल्ने न त भोकमा गाँस बन्न सक्ने यी त केवल कागजी खोस्टा रहेछन् । यी कागजी योग्यता अनुसारको काम पाउने आशा निराशामा बदलिसक्यो । अब त समय पनि निकै ढिलो भइसक्यो ।

सर्टिफिकेटको चाङ बनाउन सफल म बेरोजगारी अनि मेरो विक्षिप्त मनले बाटा र उपायहरू सम्झिैँदै गर्दा झल्याँस्स सम्झेँ विदेशिएको साथीलाई । एसएलसी दिएपछिको खाली समयमा के सिक्ने होला भनेर उसैसँग सल्लाह गर्दा उसले सिक्ने भए घरमा भान्सामा खाना बनाउन र भाँडा माझ्न सिकौँ, वाइरिङ, प्लम्बिङ र यस्तै मेकानिकल काम सिकौँ यसमा भविष्य छ । भोलि वैदेशिक रोजगारीमा पनि काम लाग्छ भन्दा मैले उसलाई मजाक बनाएँ– ‘पढ्न नसक्नेले पो यस्तो सिक्ने त, म त कलम चलाएर खाने हो’ भन्दै कम्प्युटर सिक्न थालेँ । तर आज अल्ट र सिफ्टबिना नलेखिने अक्षर जस्तो जीवनको अर्थ लेख्न कतै भेटिएन अल्ट र सिफ्ट की । बल्ल बुझेँ अनि ग्लानि भयो । साथीको अपमान पो गरेको रहेछु त्यो बेला ।

हिजोसम्म कहिल्यै हाई, हेल्लो पनि नभन्ने साथीसँग आज बोल्न मन लाग्यो । उसलाई म्यासेन्जरबाट कल गरेँ । दुवैको एक प्रतिष्ठित तारे होटलमा म्यानेजर भएको छ रे । उतै घर किनेर राम्रो व्यवस्था गरेर बसेको रहेछ यता मेरो घरलाई छहारी दिने अग्लो घर पनि उसैले बनाएको रे । कति खुसी छ ऊ र उसका परिवार ।

पश्चातापसँगै जीवन धान्ने र लागेको ऋण तिर्ने दायित्व ममाथि छ । अब आफूलाई पर्दा ‘...को त पाउ मोल्नुपर्छ’ भन्छन्, ऊ त बच्चादेखिको साथी हो । उसैको सहारामा म पनि विदेश जान्छु भनेर भिसा पठाउन अनुरोध गरेँ । एकै अनुरोधमा मलाई ढुक्क बनायो । उसमा कुनै दम्भ, रिस, राग भेटिनँ । किनभने ऊ हाम्रो समाजबाट यी कुरा सिक्न नपाउँदै विदेशिएको थियो । त्यसैले उसलाई नेपाल र नेपालीप्रति अथाह माया छ । म त झन् उसको साथी नै परेँ ।

मेरो जीवनले मोड फेर्ने क्रममा छ । अब मेरो लाइन बस्ने पालो राहदानी विभागमा । त्यहाँको ठेलमठेल भिडमा म पनि च्यापिएको छु । धेरैका अनुहार उस्तै मलिन देख्छु । मेरा दुईवटा डिग्रीलाई यो भिडसँग तुलना गर्छु र आफैलाई धिक्कार्छु । राहदानीका लागि चाहिँ योग्य भएँ म । साँझ घरमा समाचार सुन्दै थिएँ । सरकारले बेरोजगार भत्ता दिने रे अनि सर्टिफिकेट धितोमा सहुलियत दरमा ऋण दिने रे । मेरो मनले त अझै पनि देशमै योग्य व्याक्ति बन्ने चाह गरिरहेको छ ।

भोलिपल्ट बेरोजगारी भत्ताका लागि भौतारिएँ । सर्टिफिकेट बोकेर आफ्ना मूल्यवान र आजसम्म कमाएको सम्पत्ति धितो राख्न भनी धाएँ । धाउने भरी अहँ कतै देखिएन मेरो बेरोजगारी, कतै सुनिएन मेरा आवाज, अहँ पाइन कतै सहुलियत ।

नेपालको संविधानको धारा ३३ ले रोजगारीको हकलाई मौलिक हकका रूपमा समावेश गरेको छ । रोजगारीको हकसम्बन्धी ऐन २०७५ ले प्रत्येक स्थानीय तहमा रोजगार सेवा केन्द्रको स्थापना गरी बेरोजगारीहरूको पहिचान गर्ने, सूचीकरण गर्ने र रोजगार सेवा केन्द्रमा सूचीकृत भएका बेरोजगार व्याक्तिहरूलाई एक आर्थिक वर्षमा न्यूनतम एक सय दिनको रोजगारी प्रत्याभूति गरिने र सो गर्न नसकेमा नेपाल सरकारले हरेक बेरोजगार परिवारलाई एक जना श्रमिकले एक सय दिन काम गर्दा प्राप्त गर्ने न्यूनतम पारिश्रमिकको पचास प्रतिशत रकम निर्वाह भत्ता दिने व्यवस्था रहेको छ । यस्ता व्यवस्थाहरू कहाँ र कसका लागि प्राप्त छ, मैले यो सुविधा प्राप्त गर्न किन सकेको छैन । म जस्ता आम बेरोजगारलाई यस्ता संवैधानिक व्यवस्था कगलाई बेल पाक्यो हर्स न विस्मात जस्तो भएको छ ।

हेर्दाहेर्दै मेरो विदेश जाने दिन आयो । आमा तिम्रो काखमा बसेर ती चरचरी फुटेका खुट्टाहरूमा स्नेहको मलम लगाउन मन थियो तर सकिनँ । तिमी बिरामी परेर ओछ्यानमा पर्दा सिटामोल किन्ने रुपैयाँ पनि कमाउन नसक्ने म छोरा भएर के अर्थ ? म विवश छु आमा, यो घर सुनसान बनाएर अनकन्टार सहरको दुःखी यात्रामा निस्कन । आमाको मायाले बेरिएको गुन्द्रुक र बाबाको पसिना भिजेको सुट्केस बोकेर भारी मनले भिजेका परेली निचोर्दै मनभरि अनेकन कुरा खेलाउँदै घरबाट बिदा भएँ ।

पहिलो पटक हवाइजहाज चढेर विदेशी भूमिमा पाइला टेकेको म २÷४ दिन त यी बाटाघाटा यहाँको विकास र मेरो देशका भर्ल्याङ खाँदै गुड्नुपर्ने मुख्य सडकहरू, धुवाँ, धुलो फोहोर सम्झिँदा स्वर्ग आएजस्तो भयो ।

कामका लागि आएको म अब ड्युटी सुरु गरेको छु । एसएलसीपछि कामको खोजीमा आएको साथी म्यानेजर छ । म चाहिँ म्यानेजमेन्ट पढेको । सुटबुटमा चट्ट कुर्चीमा बसेको छ ऊ । म चाहिँ हातमा पाखुरासम्मको पन्जा लगाएर भाँडा माझिरहेको हुन्छु । यही काम गर्ने भए मैले यतिका वर्ष किन ऋण खोजेर पढेँ ? कहाँ काम लाग्यो मेरो शैक्षिक योग्यता ? बरु यी डिग्री नै मसँग नभएको भएजस्तो काममा पनि सन्तुष्टि पाउने थिएँ मैले । मलाई आज आफ्नै डिग्री खुसी र सन्तुष्टिको बाधक बनेको छ । सबै कुरा बिक्री हुँदा सर्टिफिकेट पनि बिक्री हुने भए बेच्न मन छ आज मेरो यो शैक्षिक योग्यता ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।