शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

भारतमा रहेका प्रवासी नेपालीलाई मताधिकारबाट वञ्चित नगर्न माग

शनिबार, ०९ असोज २०७८, १८ : ०६
शनिबार, ०९ असोज २०७८

मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले ‘भारत प्रवासमा रहेका नेपाली नागरिकहरूलाई’ नेपालमा हुने महत्त्वपूर्ण निर्वाचनहरूमा मताधिकार दिने सन्दर्भमा वञ्चित नगरियोस् भन्दै सरकारलाई ज्ञापन पत्र बुझाएको छ । समाजले भारतस्थित रहेको प्रवासीहरूको भारतबाटै मताधिकारको व्यवस्था गर्नुपर्ने भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर १२ बुँदे ज्ञापन पत्र बुझाएको हो ।

रिपोर्टर्स क्लब नेपालमा आज (शनिबार) पत्रकार सम्मेलनको आयोजना गरेर समाजले नेपालको परिवर्तनको हरेक आन्दोलनमा आफूहरूको पनि महत्त्वपूर्ण योगदान रहेको तर सरकारले भने आफूहरूलाई सधैँ उपेक्षा गरेको भन्दै अब हुने हरेक निर्वाचनमा आफूहरूलाई पनि मताधिकार दिने व्यवस्था गरिनुपर्ने बताएको हो । 

भारतमा रहेका प्रवासीहरूले ०४६ सालमा भएको जनआन्दोलन र ०६२–६३ सालमा भएको जनआन्दोलन दुवैमा पूर्ण साथ दिएको भन्दै अहिलेको अवस्थामा आएर सरकारले सोही प्रवासीहरूको मताधिकारलाई सुनिश्चित गर्न नसकेको एकता समाजको गुनासो छ । आफूहरूको मागप्रति प्रधानमन्त्री देउवा सकारात्मक रहेको समाजले जनाएको छ । 

सर्वोच्च अदालतले परमादेशको सम्मानसहित हालै सरकारले नीति र कार्यक्रममा प्रवासी नेपालीहरूलाई मताधिकारको व्यवस्था गर्ने विषयलाई समेटेकोमा केही आशा पलाएतापनि भारतमा रहेका प्रवासी नेपालीहरूको बारेमा सरकारले प्रष्ट नीति नलिएकोले आफूहरूले ज्ञापनपत्रमार्फत भारतमा रहेको प्रवासीको हकअधिकार सुनिश्चित गर्न प्रधानमन्त्री देउवालाई ज्ञापन पत्र बुझाउनुपरेको पनि समाजको भनाई छ । 

मूल प्रवाह अखिल भारत नेपाल एकता समाजका अध्यक्ष दुर्गाबहादुर केसीले सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको समानुपातिक निर्वाचनमा प्रवासीहरूले पनि मतदान गर्न पाउनुपर्ने बताए । त्यसैगरि कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय प्रतिनिधि आनन्द शर्माले मूल प्रवाह अखिल भारत नेपाल एकता समाजले भारतमा रहेका नेपाली प्रवासीहरूले नेपालको सम्पूर्ण आन्दोलनमा साथ दिएको बताए । 

जनमोर्चाका केन्द्रीय सदस्य लालबहादुर थापाले विदेशमा रहेका नेपालीहरूले पठाएको रेमिट्यान्सले देश धानिएको भन्दै उनीहरूको अधिकारलाई पनि सुनिश्चित गर्नुपर्नेमा जोड दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप