शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

कम्युनिष्टले मुलुकको नेतृत्व गर्न सक्दैनन् : मुख्यमन्त्री पोखरेल

बिहीबार, २१ असोज २०७८, २० : २६
बिहीबार, २१ असोज २०७८

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले कम्युनिष्टले मुलुकको नेतृत्व गर्न नसक्ने बताएका छन् । बिहीबार नेपाली काँग्रेस पोखरा महानगरले दशैं, तिहार, नेपाल सम्बत, छठ तथा ईदको अवसर पारेर गरेको चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रममा उनले गएको चुनावमा कम्युनिष्टले २ तिहाइ ल्याए पनि उनीहरु बीचको आन्तरिक कलहले संवैधानिक संकट निम्तेपछि काँग्रेस अघि सर्नुपरेको बताए ।

उनले भने, ‘चुनावका बेला काँग्रेससँग अत्तालिएर अप्राकृतिक गठबन्धन बनाए, सरकार बनेको केही समयमा नै खटपट सुरु भयो, आखिर गठबन्धन टुटेर छाड्यो ।’  काँग्रेस प्रतिपक्षमा बस्दा पनि रचनात्मक भूमिका खेलेको स्मरण गर्दै उनले अहिले सरकारमा रहँदा झनै जिम्मेवारी थपिएको भनाइ राखे । 

मुख्यमन्त्री पोखरेलले मुलुकमा जब संकट पर्छ तब काँग्रेसमाथि थप जिम्मेवारी आइलाग्ने गरेको जिकिर गरे । उनले २०६४ को चुनावमा माओवादी ठूलो पार्टी बने पनि संविधानसभाले संविधान दिन नसकेपछि काँग्रेस नै अग्रसर भएर संविधान जारी गरेको दावी गरे । ‘विगतका घटनाहरूले हामीलाई पाठ सिकाएका छन्, विकास र समृद्धिका लागि काँग्रेसकै नेतृत्व आवश्यक छ,’ उनले भने, ‘मुलुकमा भएका सबै खालका परिवर्तनमा काँग्रेसकै नेतृत्वदायी भूमिका रहेको छ ।’

मुख्यमन्त्री पोखरेलले काँग्रेस अहिले १४ औं महाधिवेशनमा लागिरहेको बताउँदै अब पार्टीलाई थप सशक्त बनाउनुपर्नेमा जोड दिए । पार्टीभित्र हुने आन्तरिक लोकतन्त्रका लागि चुनावी प्रक्रिया अपनाइएको बताउँदै यसलाई सहज रुपमा लिन उनले कार्यकर्तासँग आग्रह गरे । 

कास्की काँग्रेसको चिप्लेढुंगास्थित पार्टी कार्यालयमा भएको कार्यक्रममा प्रदेशका मन्त्रीद्वय कुमार खड्का, बिन्दुकुमार थापा, पार्टीका पूर्व महामन्त्री तारानाथ रानाभाट, पूर्वमन्त्री यज्ञबहादुर थापा, शुक्रराज शर्मा, महादेव गुरुङ, जिल्ला सभापति कृष्ण केसीसहित नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप