शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

गोविन्दराज जोशीको आक्रोश : ‘आयोगको निर्णय घोर अप्रजातान्त्रिक’

आइतबार, १९ कात्तिक २०७४, १४ : ३२
आइतबार, १९ कात्तिक २०७४

तनहुँ–  तनहुँ निर्वाचन क्षेत्र नं १ बाट बागी उम्मेदवारी दिएका नेपाली काङ्ग्रेसका पुर्व सहमहामन्त्री गोविन्दराज जोशीले उम्मेदवारी रद्ध भएपछि निर्वाचन आयोगको निर्णय घोर अप्रजातान्त्रिक र असंबैधानिक भएको प्रतिकृया जनाएका छन् । उनले आइतबार पत्रकार सम्मेलन गर्दै आयोगको निर्णयले कानुनी राज्यको अवधारणालाई खिल्ली उडाएको बताएका छन् ।

आयोगले शनिबार जोशीको उम्मेदवारी रद्द गरेको थियो । ‘नेपाली काङ्ग्रेसको आधिकारिक उम्मेदवार मै हँु, पहिले उम्मेदवारी दर्ताका समयमा पनि भनेको थिए अहिले पनि फेरि भन्छु म नै हँु काङ्ग्रेसको आधिकारिक उम्मेदवार’ पत्रकार सम्मेलनमा जोशीले भने । ‘हिजो नामावली प्रकाशित गर्दा मेरो नाम प्रकाशित भएन । मेरो नाउँ किन प्रकाशित भएन, कहाँ के निर्णय भयो त्यो बारे मलाई जानकारी छैन ।’ 

अहिलेको अवस्थामा यो विषयमा कानुनी आधार के कस्तो छ त्यो बारे आफुले कानुनी सल्लाहकारसंग छलफल गरिरहेको जोशीले बताए । २०६४ सालमा समेत आफुले तनहुँबाट चुनाव लडेको र त्यो बेला निर्वाचन आयोगबाट कुनै अवरोध नआएको जोशीले जानकारी गराए । आयोगमा उजुरी दिने रामचन्द्र पौडेलका विषयमा भने जोशीले पत्रकार सम्मेलनमा कुनै टिप्पणी गरेनन् । जोशीको उम्मेदवारी खारेजीको माग गर्दै नेता रामचन्द्र पौडेलबाट परेको उजुरीमा मुख्य निर्वाचन अधिकृतको कार्यलयले शनिबार जोशीको उम्मेदवारि खारेजी गरेको थियो ।

भ्रष्टाचारको मुद्दामा मुछिएको भन्दै निर्वाचन आयोगले जोशीको उम्मेदवारी खारेजको निर्णय गरेको हो । जोशी बिरुद्ध भ्रष्टाचारको अभियोग लागेको हुनाले उम्मेदवार हुन अयोग्य भएको ठहर्याउँदै उम्मेदवारी खारेजी गरिएको निर्वाचन कार्यालयले जनाएको छ ।

नेपाली कांग्रेसले टिकट नदिएपछि पूर्वगृहमन्त्री समेत रहेका जोशीले प्रतिनिधिसभा सदस्यका लागि तनहुँ १ मा स्वतन्त्र उम्मेदवारी दिएका थिए । तर, जोशीविरुद्ध कांग्रेस उम्मेदवार पौडेलले उजुरी दिएका थिए । जोशीविरुद्ध परेको उजुरीका सम्बन्धमा मुख्य निर्वाचन अधिकृतको कार्यालय तनहुँले आयोगबाट निर्देशन मागेको थियो । आयोगले नैतिक पतन देखिने उम्मेदवार अयोग्य हुने कानुनी व्यवस्था भएको भन्दै जोशीको उम्मेदवारी बदर गर्न निर्देशन दिएको थियोे । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण श्रेष्ठ
किरण श्रेष्ठ
लेखकबाट थप