दक्षिण अफ्रिकाको जोहानेसबर्गमा सामूहिक गोलीकाण्ड, १२ जनाको मृत्यु
जोहानेसबर्ग । दक्षिण अफ्रिकाको सबैभन्दा ठुलो सहर जोहानेसबर्गमा भएको सामूहिक गोलीकाण्डमा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने अन्य नौ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार मंगलबार राति क्लिभल्यान्ड उपनगरस्थित जम्पर्स अनौपचारिक बस्तीमा १० भन्दा बढी सशस्त्र व्यक्तिहरूले प्रवेश गरेर अन्धाधुन्ध गोली चलाएका थिए । आक्रमणपछि उनीहरू सेतो रंगको सवारी साधनमा फरार भएका छन् ।
घटनापछि प्रहरीले आक्रमणकारीहरूको खोजीका लागि व्यापक अभियान सुरु गरेको छ । हालसम्म कसैलाई पक्राउ गर्न नसकिएको भए पनि सबै सम्भावित सुराकीहरूको आधारमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घटनास्थलमै आठ पुरुष र तीन महिलाको मृत्यु भएको थियो । गम्भीर घाइते भएका अर्का एक पुरुषको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । स्थानीय बासिन्दाले यो घटना अवैध खानी उत्खननमा संलग्न समूहहरूबीचको क्षेत्रीय वर्चस्व (टर्फ वार)सँग सम्बन्धित हुन सक्ने आशंका व्यक्त गरेका छन् ।
प्रहरीले पनि उक्त सम्भावनालाई पूर्ण रूपमा अस्वीकार नगरेको जनाएको छ । प्रान्तीय प्रहरी आयुक्त टमी थोम्बेनीले घटनास्थल निरीक्षणपछि पत्रकारहरूसँग कुरा गर्दै आक्रमणलाई निर्मम र बर्बर भने ।
यो घटना अवैध खानी उत्खनन हुने स्थानसँग जोडिएको हुन सक्ने प्रहरीले पनि बताएको छ ।
दक्षिण अफ्रिकामा पछिल्ला वर्षहरूमा परित्यक्त सुनखानीहरूमा अवैध उत्खनन गर्ने गतिविधि बढ्दै गएको छ । यस्ता समूहहरूले निकालिएको सुन कालोबजारीमार्फत बिक्री गर्ने गरेको बताइन्छ । विश्वमै उच्च हत्या दर भएका मुलुकहरूमध्ये एक दक्षिण अफ्रिकामा बस्तीहरूमा हुने गोलीकाण्डका घटना नयाँ होइनन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण