शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानन्यायाधीशको राजीनामाको मागबाट पछि हटेनन् १५ न्यायाधीश

भोलि साढे ११ बजेका लागि अर्को बैठक बोलाइयो
मङ्गलबार, ०९ कात्तिक २०७८, १४ : २५
मङ्गलबार, ०९ कात्तिक २०७८

सर्वोच्च अदालतका १५ न्यायाधीशले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा दिनुपर्ने अडान दोहोर्‍याएका छन् । जबरासँगको भेटपछि आन्तरिक छलफलमा बसेका उनीहरुले प्रधानन्यायाधीशले मार्गप्रशस्त गर्नुको विकल्प नरहेको अडान दोहोर्‍याएका हुन् । 

प्रधानन्यायाधीशमाथि प्रश्न उठिसकेकाले उनले राजीनामा नदिइ न्यायपालिका सञ्चालन गर्न सम्भव नरहेको निष्कर्ष निकाल्दै यो नै अहिलेको समस्याको निकासको उपयुक्त विकल्प भएको  न्यायाधीशहरुको ठहर छ । 
यसअघि न्यायाधीशहरूसँगको छलफलमा जबराले आफूले राजीनामा नदिने स्पष्ट पारेका थिए । न्यायाधीशहरूसँग करिब ४५ मिनेट छलफलका क्रममा क्रममा जबराले न्यायालय सडकको दबाबमा नचल्ने बताउँदै सबैलाई आ–आफ्नो जिम्मेवारी निर्वाह गर्न आग्रह गरेका थिए । 

​आजको छलफलमा एक जना न्यायाधीशले प्रश्न उठेको बताउँदै सम्मानजनकरूपमा मार्ग प्रशस्त गर्न प्रधानन्यायाधीशलाई आग्रह गरेको सह रजिस्ट्रार प्रवक्ता बाबुराम दाहालले रातोपाटीलाई बताए । जवाफमा जबराले बाहिरबाट दबाब आयो भन्दैमा आफूले राजीनामा नदिने स्पष्ट पारेका थिए । 

‘मेरो नियुक्ति संविधानअनुसार भएको हो । मेरो बहिर्गमन  पनि संविधान बमोजिम नै हुन्छ । बाहिरबाट दबाब आयो भन्दैमा राजीनामा दिने कुरा हुँदैन । केही श्रीमान्को विषयमा पनि प्रश्न उठेका छन् । के तपाईंहरु राजीनामा दिन सक्नुहुन्छ ? तपाईंहरु राजीनामा दिनुहुन्छ भने म पनि दिन्छु,’ जबराको भनाइ उद्धृत गर्दै दाहालले भने, ‘सडकको दबाबबाट न्यायालय चल्दैन । यसरी राजीनामा दिन थाल्यो भने न्यायालय बच्दैन । म पदमा रहुञ्जेल संवैधानिक दायित्व पुरा गर्न तयार छु । तपाईंहरुले पनि आ–आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्छ ।’

प्रधानन्यायाधीशसँग मंगलबार १५ जना न्यायाधीशहरु छलफलका लागि पुगेका थिए । सो छलफलपछि न्यायाधीशहरु आन्तरिक छलफलमा जुटेर प्रधानन्यायाधीशले राजीनामा नै दिनुपर्ने अडान दोहोर्याएका हुन् । 
यसैबीच सर्वोच्चका न्यायाधीशले बुधबार बिहान साढे ११ बजेका लागि अर्को बैठक बोलाएका छन् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप