शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

विपद् व्यवस्थापनसम्बन्धी नीतिगत सुधारका लागि गृहले थाल्यो परामर्श

मङ्गलबार, ०९ कात्तिक २०७८, १८ : ३४
मङ्गलबार, ०९ कात्तिक २०७८

गृह मन्त्रालयले विपद् व्यवस्थापनसम्बन्धी नीतिगत सुधार गर्न परामर्श बैठक गरेको छ । विगतको अनुभव र हाल कार्यान्वयनको चरणमा रहेका नीति, नियमलाई थप प्रभावकारी र समयसापेक्ष बनाउन मन्त्रालयले पहल थालेको हो ।  सोमबार काठमाडौँमा आयोजित परामर्श बैठकमा गृहमन्त्री बालकृष्ण खाणले नागरिकको जीवन रक्षा राज्यको पहिलो दायित्व रहेकाले त्यसबाट पछि हट्नै नसक्ने बताए । उनले आवश्यकताको आधारमा विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरण निर्माण गरिएको बताए । उनले संरचनाहरू नेपालको आवश्यकता अनुसार निर्माण गर्नुपर्ने र समय सापेक्ष सुधार गर्नुपर्नेमा जोड दिए ।

विपदमा सबै तहका सरकारको समन्वय र सक्रियताको खाँचो आवश्यक रहेको उनको भनाइ थियो । मन्त्री खाणले विपद् व्यवस्थापनका विषयमा ऐन, कानूनमा उल्लेख छैन भनेर काम गर्न विर्सन नहुने र त्यसप्रति मन्त्रालय सचेत रहेको बताए । 

गृहसचिव टेकनारायण पाण्डेले विपद जोखिम न्युनिकरण र व्यवस्थापनका लागि  कस्तो संरचनाको आवश्यकता हुन्छ भन्नेबारे गम्भीर छलफलको अवश्यकता रहेको औँल्याए ।

विपदप्रति मानिसमा चासो र सूचना वृद्धि गर्नु आवश्यक रहेको पनि बताए ।  पछिल्ला समयमा मुलुक कल्पना भन्दा बाहिरको विपदसँग जुधिरहेकाले त्यसको सामना गर्न रणनीतिक योजना निर्माणका लागि छलफल जरुरी रहेको उनको भनाइ छ ।

बैठकमा विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले श्रोत साधन र जनशक्तिको अभावका कारण थप प्रभावकारी रूपमा काम गर्न कठिनाइ भइरहेको बताए ।

गृह मन्त्रालयको विपद व्यवस्थापन महाशाखा प्रमुख सहसचिव हुमकला पाण्डेले बैठकमा आएका सुझावलाई एकीकृत गरेर मन्त्रालयमा प्रतिवेदन बुझाउने जानकारी दिइन् ।

बैठकमा सहभागीहरूले गृह मन्त्रालय र प्राधिकरणको भूमिकालाई कानूनतः स्पष्ट पार्नुपर्ने, अन्तरप्रदेश समन्वय बढाउनुपर्ने, समन्वयगत निकाय बीचको सूचना आदानप्रदान र सहकार्य बढाउनुपर्ने सुझाव दिएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप