शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

काठमाडौंमा डेंगुले ‘कमब्याक’ गऱ्यो

दोश्रो पटक डेंगु संक्रमण : कडा हुन सक्दछ !
बिहीबार, १८ कात्तिक २०७८, ११ : ३४
बिहीबार, १८ कात्तिक २०७८

एक बर्षको अन्तरालपछि काठमाडौंमा डेंगुले ‘कमब्याक’ गरेको देखिन्छ । हुन त काठमाडौंमा डेंगु फैलाउने एडीस जातको लामखुट्टे प्रशस्त रहेको र उच्च जनघनत्वको कारणले पनि यो शहर  डेंगुको उच्च जोखिममा रहदै आइरहेको थियो । हाल केही दिन यता यो पंक्तिकारले घट्टेकुलो, मैतीदेबी, कोटेश्वर (अरु पनि टोलमा हुन सक्दछ) आदि क्षेत्रमा डेंगुका संक्रमितहरु बढ्दो क्रममा रहेको देखेको छ । सन् २०१९ मा डेंगुले देशब्यापी महामारीको रूप लिंदा काठमाडौँ शहर पनि व्यापक प्रभावित भएको थियो । सो समयमा नेपालमा महामारी ल्याउनुको मुख्य कारकमा डेंगुको सेरोटाईप–२ भएको अनुसन्धानले देखाएको थियो । डेंगुको डेन–१, २, ३ र ४ गरी चार सेरोटाईपहरु हुन्छन् । विगतमा गरिएको अनुसन्धानले नेपालमा डेंगुका चारै सेरोटाईपहरु देखिइसकेको छ । डेंगुको दोश्रो पटक संक्रमण भए त्यसलाई ‘सेकेण्डरी डेंगु इन्फेक्सन’ पनि भनिन्छ । 

पहिलो डेंगुको सेरोटाईपभन्दा फरक सेरोटाईपले पुनः संक्रमण गरेको भए संक्रमितमा डेंगु झन कडा हुने अनुसन्धानहरुबाट प्रमाणित भइसकेको छ । त्यसैले, काठमाडौंमा सन् २०१९ मा देखिएको डेंगुको सेरोटाईप–२ भन्दा फरक सेरोटाईप (१ वा ३ वा ४) अहिले देखिदै गरेको डेंगुले संक्रमितलाई दोश्रो पटक संक्रमण गरेको रहेछ भने सो व्यक्तिमा डेंगु कडा हुन सक्ने अनुमान गर्न सकिन्छ । 

कडा खालको डेंगु हुँदा देखिने लक्षण​:

१– तारन्तार बान्ता हुनु 

२– पेट असाध्य दुख्नु 

३– रक्तश्राब हुनु (गिजाबाट रगत बग्नु, दिसा कालो हुनु आदि)

४– आलस्य वा व्यग्रता वा बेचैनी हुनु

५– पेटमा पानी जम्नु 

६– कलेजोको आकार बढ्नु 

७– र, रगतमा प्लेटलेट्सको संख्यामा तीब्र गिरावट देखिनु र हेमाटोकृत बढ्नु   

यदि ज्वरो आएको छ भने ज्वरो घटेको २४ देखि ४८ घण्टा सबैभन्दा महत्वपूर्ण हुने गर्दछ । माथि उल्लेखित स्वास्थ समस्याहरु यही समयमा बढी देखिन सक्दछ । यो अवस्था देखिए तुरुन्त स्वास्थकर्मीको निगरानीमा उपचार वा परामर्श लिनु पर्दछ । ब्रुफिन, एस्पिरिन वा फ्लेक्सन जस्ता दुखाई कम गर्ने औषधीहरुको प्रयोग झुक्किएर पनि गर्नु हुदैन । यस्ता औषधीको प्रयोगले रक्तश्राब बढाउने र संक्रमित थप जटिल अवस्थामा गई मृत्युसमेत हुन सक्दछ । ज्वरो वा जीउ दुखे सिटामोलको प्रयोग भने गर्न सकिनेछ।

दोश्रो पटक डेंगु संक्रमण भएको र पहिलेको भन्दा फरक सेरोटाईपले संक्रमण गरेको रहेछ भने जटिल अवस्था आउन सक्ने भएता पनि यस्तो थाहा पाउने जाँच भने नियमित छैन । डेंगुको सेरोटाईप छुट्याउन पीसीआर प्रविधिको आवश्यकता पर्ने हुन्छ । हाल आरडीटी टेष्टबाट डेंगुको पहिचान गरिन्छ । तर आरडीटी टेष्टभन्दा पीसीआर प्रविधिलाई अझ बढी विश्वासिलो र भरपर्दो मानिन्छ । हाल कोरोना भाइरस पहिचान र पुष्टि गर्न पीसीआर प्रविधिको नै प्रयोग हुँदै आइरहेको छ । सोही पीसीआरबाट डेंगु र सेरोटाईपको पहिचान गर्न सकिन्छ। 

हाल सन् २०१९ मा काठमाडौँमा देखिएको डेन–२ सेरोटाईपभन्दा फरक सेरोटाईपले (१ वा ३ वा ४) संक्रमण गर्न शुरु गरेको रहेछ भने धेरै संक्रमितहरु अस्पताल भर्ना हुन सक्ने सम्भावना बढेर जाने देखिन्छ। डेंगु लाग्नुभन्दा फैलिन नदिनु वा नियन्त्रण गर्नु नै बुद्धिमानी हुनेछ । त्यसको लागि डेंगु फैलिएको ठाउँमा लामखुट्टेको लार्भा ‘खोज र नष्ट गर’ अभियानलाई तत्काल अगाडी बढाइनु पर्दछ । र, सँगसँगै डेंगुसम्बधि जनचेतनामूलक कार्यक्रमलाई पनि अगाडी बढाइनु आवश्यक देखिन्छ ।

सुरुमा छालामा ससाना बिबिरा देखिएको, त्यसपछि ज्वरो अनि आँखाको गेडी दुखेको र नजिकैको प्रयोगशालामा जाँच गर्दा डेंगु पुष्टि भएको भन्दै एक संक्रमितले लेखकसंग डेंगुसम्बधि परामर्श लिन आइपुगेका थिए । के तपाईमा पनि यस्ता लक्षणहरु देखिएका छन ? यदि छन् भने, त्यो डेंगु पनि हुन सक्दछ ।  

लेखक शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल, टेकुका क्लिनिकल रिसर्च युनिट संयोजक हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. शेरबहादुर पुन
डा. शेरबहादुर पुन

पुन शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा क्लिनिकल रिसर्च युनिटका संयोजक हुन्

लेखकबाट थप