शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

निर्वाचन प्रणाली नै खिचडीजस्तो : उपेन्द्र यादव

सोमबार, २२ कात्तिक २०७८, २० : ३७
सोमबार, २२ कात्तिक २०७८

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिलेको निर्वाचन प्रणाली गलत भएको बताएका छन् । जसपा रुपन्देही क्षेत्र नम्बर १ ले सोमबार रोहिणी गाउँपालिका–३, धकधईमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै यादवले अहिलेको निर्वाचन प्रणाली खिचडीजस्तो र अत्यन्तै महँगो भएको बताए ।

खर्चिलो निर्वाचन प्रणालीका कारण आम जनतालाई निर्वाचनमा उम्मेदवार बन्न समस्या रहेको उनको भनाइ छ । उनले भने,  ‘अहिलेको निर्वाचन प्रणालीले नेपालजस्तो गरीब मुलुकमा पैसावाला, माफिया, ठेकेदारको प्रतिनिधित्व हुन्छ, जनतालाई केवल भोटर मात्र बनाइएको छ ।’

उनले अहिलेको संसदीय प्रणाली असफल भइरहेको समेत बताए । सांसद खरिदबिक्री भइरहनुमा नेताभन्दा पनि प्रणालीको दोष रहेको उनको भनाइ छ । न्याय प्रक्रिया पनि खर्चिलो भएको भन्दै उनले न्याय प्रणालीमा सुधार गर्नुपर्ने खाँचो औंल्याए ।

उनले ठूला दल नेपाली काँग्रेस र कम्युनिष्ट पार्टी मिलेर मुलुकमा त्रुटिपूर्ण संविधान बनाएको आरोप लगाउँदै त्यस्ता त्रुटीलाई संशोधनमार्फत सच्याउनुपर्ने बताए । संघीयता विरोधीले नै संविधान बनाएकाले संविधान संशोधन अहिलेको आवश्यकता रहेको उनको भनाइ छ ।

७ वटा प्रदेश अव्यवहारिक र अवैज्ञानिक रहेको भन्दै उनले उच्चस्तरीय राज्य पुनर्संरचना आयोगको प्रतिवेदनबाट सुझाव आएको १० वटा प्रदेश नै नेपालको सन्दर्भमा उचित भएको बताए । उनले जनसंख्याको आधारमा महिला, दलित, मधेसी, मुस्लिम, जनजाति, पिछडावर्ग तथा सम्पूर्ण उत्पीडित समुदायको प्रतिनिधित्व हुनुपर्नेमा जोड दिए ।

केपी ओली नेतृत्वको सरकारले असंवैधानिक तरिकाले दुईपटक संसद विघटन गरी सत्ता र शक्ति आफ्नो हातमा लिन खोजेको आरोप लगाउँदै यादवले संघीय लोकतान्त्रिक गणतन्त्र समाप्त पार्ने षडयन्त्र चिर्दै जनताको अधिकार रक्षा गर्न जसपा अगाडि बढेको बताए । जसपाले नेतृत्वकारी भूमिका निर्वाह गरी प्रतिगमनकारी शक्तिलाई परास्त गरेर लोकतन्त्र बचाउन सफल भएको उनको दाबी थियो ।

कार्यक्रममा जसपाका केन्द्रीय सदस्य गोविन्द चौधरी, लुम्बिनी प्रदेश सह–इञ्चार्ज कमल खनाल, समाजवादी युवा संघ, नेपालका केन्द्रीय अध्यक्ष तथा प्रदेश २ सरकारका कृषि राज्यमन्त्री योगेन्द्र राय यादव, पार्टीका केन्द्रीय सदस्य देवेन्द्र पाण्डे (सागर), किस्मत विक, संघीय परिषद सदस्य विद्या यादव, महिला नेतृ धनेश्वरी चौधरी, रुपन्देही जिल्ला अध्यक्ष रामअवतार यादव, रोहिणी गाउँपालिका अध्यक्ष सनोजकुमार यादव लगायत सहभागी थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप