फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
सारांश
- पर्यटकको सुरक्षालाई दृष्टिगत गर्दै फेवातालमा डुङ्गा चालकहरूको लागुऔषध सेवन सम्बन्धी विशेष जाँच अभियान सुरु गरिएको छ ।
- अभियानका क्रममा ३२ जना डुङ्गा चालकको परीक्षण गर्दा तीन जनाले लागुऔषध सेवन गरेको पुष्टि भएपछि नियन्त्रणमा लिइएको छ ।
- प्रहरीले आगामी दिनमा पनि यस्ता निगरानी र चेकजाँचलाई निरन्तरता दिइने जानकारी दिएको छ ।
पोखरा । पर्यटकीय नगरी पोखराको फेवातालमा डुङ्गा सयर गर्ने पर्यटकको सुरक्षालाई दृष्टिगत गर्दै प्रहरीले चालकहरूको मादक पदार्थ तथा लागुऔषध सेवन (मापसे/लापसे) सम्बन्धी विशेष जाँच अभियान सुरु गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्की, वडा प्रहरी कार्यालय बैदाम र सामुदायिक प्रहरी सेवा केन्द्र जिल्ला समन्वय समिति कास्कीको संयुक्त आयोजनामा फेवातालका विभिन्न घाटमा चालकहरूको स्वास्थ्य परीक्षण गरिएको हो । पोखरा महानगरपालिका वडा नम्बर ६ स्थित बाराहीघाट क्षेत्रमा सञ्चालित उक्त अभियानका क्रममा ३२ जना डुङ्गा चालकको परीक्षण गरिएको थियो । परीक्षणका क्रममा तीन जना चालकले लागुऔषध गाँजा सेवन गरेको पुष्टि भएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको छ । वडा प्रहरी कार्यालय बैदामका प्रहरी नायव उपरीक्षक (डिएसपी) नमराज भट्टराईकाअनुसार पक्राउ परेका चालकहरूमाथि आवश्यक अनुसन्धान र कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको छ । डिएसपी भट्टराईले पर्यटक तथा सर्वसाधारणको सुरक्षा प्रहरीको प्राथमिकतामा रहेको बताउँदै आगामी दिनमा पनि यस्ता निगरानी र चेकजाँचलाई निरन्तरता दिइने जानकारी दिए ।
उनले भने, ‘डुंगाबाट हुनसक्ने सम्भावित दुर्घटना र क्षति न्यूनीकरण गर्न तथा मापदण्ड अनुसार व्यवसाय सञ्चालन भए÷नभएको सुनिश्चित गर्न हामीले यो कदम चालेका हौँ ।’
फेवातालका विभिन्न आठवटा घाटमा फेवा डुङ्गा व्यवसायी समितिसँग आबद्ध सात सयभन्दा बढी डुङ्गाहरू सञ्चालनमा छन् । बेलाबेलामा हुने मानवीय हेलचेक्र्याइँ र भवितव्यका कारण तालमा दुर्घटना हुने गरेकाले प्रहरीले सक्रियता बढाएको हो । यसैबिच, फेवा डुङ्गा व्यवसायी सङ्गठनका अध्यक्ष बलराम गिरीले प्रहरीको यस अभियानलाई सकारात्मक भन्दै स्वागत गरे । लागुपदार्थ सेवन गरेर डुङ्गा चलाउनु सुरक्षाको दृष्टिकोणले जोखिमपूर्ण हुने र यसले पर्यटन क्षेत्रमा समेत नकारात्मक सन्देश जाने उनको भनाइ छ ।
यद्यपि, प्रशासनले साँझ ६ बजेपछि डुङ्गा सञ्चालनमा रोक लगाउने निर्णय गरेकोप्रति भने व्यवसायीहरूले असन्तुष्टि व्यक्त गरेका छन् । अध्यक्ष गिरीले आफ्ना डुङ्गाहरू सुरक्षित रहेको दाबी गर्दै चालक र लाइफ ज्याकेट बिना कुनैपनि पर्यटकलाई तालमा नपठाइने प्रतिबद्धता जनाए । उनले व्यवसायी र प्रशासनबिच समन्वय गरेर सुरक्षित रूपमा व्यवसाय सञ्चालन गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणतन्त्रका उपलब्धिविरुद्ध प्रतिक्रान्तिको हावा चलेको छ : प्रचण्ड
-
कम्युनिस्ट र लोकतान्त्रिक शक्तिबिचको सहकार्य नै परिवर्तनको आधार : केपी शर्मा ओली
-
मधेस प्रदेशका ३४ स्थानीय तहमा करदाता सेवा विस्तार
-
प्रश्नपत्र चुहावट मुद्दामा फास्ट ट्र्याक अदालत बनाउने मोदीको घोषणा
-
‘बाँदर हेरालु’का लागि दरखास्त आह्वान, मासिक तलब साढे १२ हजार
-
नामिबियासँगको हार भुलाउने दाउमा नेपाल, आज नेदरल्यान्ड्सको कडा चुनौती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण