सिन्धिया राजपरिवारको एक खर्ब भन्दा बढीको सम्पत्ति पशुपति र धवलशमशेरका परिवारको भागमा !
सारांश
- ग्वालियरको सिन्धिया राजघरानाको करिब ६ खर्ब ४० अर्ब नेपाली रुपैयाँ बराबरको सम्पत्ति विवाद समाधान भएको छ।
- यो सहमति अनुसार राप्रपा नेता पशुपति शमशेर जबरा र डा. धवल शमशेर जबराको परिवारको भागमा १ खर्बभन्दा बढी नेपाली रुपैयाँ पर्ने दाबी गरिएको छ।
- सम्पत्ति बाँडफाँटमा 'जो जहाँ छ, त्यो सम्पत्ति उसकै हुने' भन्ने मध्यमार्गी र व्यावहारिक बाटो अपनाइएको छ।
काठमाडौँ । भारतको इतिहासमा आर्थिक रूपमा सम्पन्न मानिने ग्वालियरको सिन्धिया राजघरानाको दशकौँ पुरानो सम्पत्ति विवाद समाधानको बाटोमा पुगेको छ। करिब ४० हजार करोड भारतीय रुपैयाँ (करिब ६ खर्ब ४० अर्ब नेपाली रुपैयाँ) बराबरको विशाल शाही सम्पत्तिको बाँडफाँटमा परिवारका सदस्यहरूबिच सहमति जुटेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
यो सहमतिसँगै राप्रपाका नेता पशुपति शमशेर जबरा र राजावादी नेता डा. धवल शमशेर जबराको परिवारको हिस्सामा झन्डै एक खर्बभन्दा बढी नेपाली रुपैयाँ बराबरको सम्पत्ति पर्ने दाबी गरिएको छ ।
सिन्धिया राजपरिवारको यो सम्पत्ति विवाद आजको होइन। यसको जरा स्वर्गीय राजमाता विजयाराजे सिन्धिया र उनका छोरा स्वर्गीय माधवराव सिन्धियाबिचको राजनीतिक र व्यक्तिगत मतभेदसँग जोडिएको छ।
राजमाताले आफ्नो इच्छापत्र मार्फत छोरा माधवरावलाई सम्पत्तिबाट वञ्चित गर्ने प्रयास गरेपछि सुरु भएको भनिएको यो विवाद सन्तान दरसन्तानसम्म पुग्यो। माधवरावका छोरा तथा वर्तमान भारतीय केन्द्रीय मन्त्री ज्योतिरादित्य सिन्धिया एकातिर र उनका चार फुपूहरू–वसुन्धरा राजे, यशोधरा राजे, उषा राजे र स्वर्गीय पद्मा राजेको परिवार अर्कोतिर भएर दशकौँसम्म भारतका विभिन्न अदालतमा मुद्दा चल्यो।
ग्वालियरको भव्य जय विलास प्यालेस, दिल्लीको सफदरजंग रोडमा रहेका विलासी कोठीहरू, मुम्बईका समुद्री किनारका फ्ल्याटहरू र पुणेदेखि उज्जैनसम्म फैलिएको अचल सम्पत्तिको स्वामित्व कसको हुने भन्ने विषयमा १६ वर्षभन्दा बढी समयदेखि तीव्र कानुनी सङ्घर्ष जारी थियो।
ज्योतिरादित्यले राजपरिवारको परम्पराअनुसार जेठो छोरो नै सबै सम्पत्तिको हकदार हुने दाबी गर्दै आएका थिए भने फुपूहरूले हिन्दू उत्तराधिकार ऐनअनुसार पैतृक सम्पत्तिमा छोरीहरूको पनि बराबर हक हुनुपर्ने माग राख्दै आएका थिए।
कसरी टुङ्गियो त विवाद ?
लामो समयको कानुनी अन्योल र परिवारभित्रको तिक्ततालाई अन्त्य गर्न दुवै पक्षले अन्ततः 'मध्यमार्गी र व्यावहारिक' बाटो रोजेका छन्। ग्वालियरको अतिरिक्त जिल्ला अदालतमा पेस गरिएको ३५ पृष्ठ लामो सम्झौता पत्रअनुसार यो विवाद आपसी सहमतिमा टुङ्गिएको हो। यस सहमतिको मुख्य सूत्र 'जो जहाँ छ, त्यो सम्पत्ति उसकै हुने' भन्ने रहेको छ।
यसको अर्थ, हाल जुन पक्षले जुन बंगला, कोठी वा जमिन भोगचलन गरिरहेको छ, त्यसलाई नै उसको अन्तिम हक मानिनेछ। यसका लागि पहिले ती सम्पत्तिहरू जुन सुकै ट्रस्ट वा कम्पनीको नाममा दर्ता भए पनि अब ती व्यक्ति विशेषको नाममा नामसारी गरिनेछ।

यस सहमतिले दिल्ली, मुम्बई, पुणे र ग्वालियरका अदालतमा विचाराधीन रहेका एक दर्जनभन्दा बढी मुद्दाहरूलाई सधैँका लागि अन्त्य गरिदिएको छ।
नेपालका राणाद्वयलाई लाभ
यो शाही बाँडफाँटको सबैभन्दा रोचक पक्ष नेपालसँग जोडिएपछि चर्चा सुरु भएको छ। राजमाता विजयाराजे सिन्धियाका पाँच सन्तानमध्ये दुई छोरीहरूको सम्बन्ध नेपालको राणा परिवारसँग छ।
माहिली छोरी उषा राजे सिन्धियाको विवाह राप्रपा नेता पशुपति शमशेर जबरासँग भएको हो। त्यस्तै, जेठी छोरी स्वर्गीय पद्मा राजे सिन्धियाकी छोरी प्रतिमाको विवाह नेता डा. धवल शमशेर जबरासँग भएको छ। पद्मा राजेको मृत्यु भइसकेकाले उनको अंशका हकदार उनका छोरीहरू प्रतिमा र कनिका रहेका छन् ।
अनुमानित ४० हजार करोड भारतीय रुपैयाँको कुल सम्पत्तिलाई पाँच हिस्सा (स्वर्गीय माधवराव, वसुन्धरा, यशोधरा, उषा र पद्माको परिवार) मा बाँड्दा प्रत्येक हिस्सामा झन्डै ८ हजार करोड भारतीय रुपैयाँ (करिब १ खर्ब २८ अर्ब नेपाली रुपैयाँ) बराबरको मूल्य पर्न जान्छ। पशुपति शमशेरकी पत्नी उषा राजे र धवल शमशेरकी पत्नी प्रतिमा दुवैले आ-आफ्नो शाखाको हिस्सा प्राप्त गर्ने भएपछि नेपालका यी दुई परिवारको आर्थिक हैसियतमा निकै ठुलो बढोत्तरी हुने देखिन्छ। यसअघि नै पनि उनीहरूको आर्थिक हैसियत उच्च थियो ।

विशेष गरी दिल्लीको सफदरजंग रोडमा रहेका 'सिन्धिया विला' र अन्य बहुमूल्य कोठीहरूमा उषा राजे र पद्मा राजेका सन्तानहरू पहिलेदेखि नै बस्दै आएका छन्। अब 'जो जहाँ छ, त्यहीँको मालिक' हुने फर्मुलाले गर्दा ती अर्बौँ मूल्यका भारतीय सम्पत्तिहरू कानुनी रूपमै उनीहरूको स्वामित्वमा आउने बताइएको छ ।
सम्झौताअनुसार, ग्वालियरको १२ लाख वर्ग फिटमा फैलिएको विश्वप्रसिद्ध 'जय विलास प्यालेस' र त्यसभित्रको सङ्ग्रहालय ज्योतिरादित्य सिन्धियाको भागमा पर्ने सम्भावना छ। ५६० किलो सुनको जलप लगाइएको दरबार हल, ३५०० किलोका विशाल झूमर र चाँदीको रेल रहेको यो दरबार विश्वकै महँगो निजी निवासमध्ये एक हो।
त्यसै गरी, राजमाताले प्रयोग गर्ने गरेको अमूल्य 'पन्नेको शिवलिंग' पनि यसै बँडफाँटको हिस्सा बनेको छ। हाल वसुन्धरा राजेको संरक्षणमा रहेको यो आध्यात्मिक धरोहर अब ज्योतिरादित्यको जिम्मामा आउने सहमति भएको बताइएको छ।
अन्य सहरका व्यावसायिक भवनहरू, कृषि भूमि र ट्रस्टका सेयरहरू पनि पाँचै पक्षबिच सहमतिअनुसार भाग लगाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्षमा श्रेष्ठ नियुक्त
-
महत्त्वपूर्ण क्षेप्यास्त्र भण्डार अभावको जोखिममा अमेरिका
-
बालेनसँगकाे छलफलदेखि उठेका विभिन्न प्रश्नबारे रवि लामिछानेले के भने ?
-
अभिषेक गिरीको दादागिरीः कन्स्ट्रक्सनको टिप्पर र स्काभेटर कवाडीमा बेचे, बुढानिलकण्ठको घर कब्जा
-
सरकारले गम्भीर मुद्दाबाट ध्यान मोड्न खोज्यो : कांग्रेस सचेतक राई
-
पर्यटक लोभ्याउने ‘ठूली दह’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण