ad
चलचित्र

‘फिल्मको आधारभूत आवश्यकता नै स्वतन्त्रता हो’

person explore access_timeकात्तिक २५, २०७८ chat_bubble_outline0
तस्बिर : कृष्ण खड्का

दबिएर बसेका समुदाय २०६२/६३ सालको आन्दोलनपछि अधिकारको खोजीमा लगातार सडकमा आउन थाले । यही समय जागरण मिडिया सेन्टरले जनअधिकारको पक्षमा एउटा शृङ्खला तयार गर्ने योजना बनायो । र, संस्थाका महासचिव पूर्णसिंह बराइलीलाई त्यस शृङ्खलाको निर्माण पूरा गर्ने जिम्मेवारी दिइयो । 


‘पहिले चलचित्र बनाउने भनेर छलफल भएको थियो । तर हलमा पुग्ने दर्शकले मात्रै चलचित्र हेर्छन्, टेलिभिजनमा देखाउँदा घर–घरसम्म पुग्छ भनेर हामीले टिभी शृङ्खला बनाउने निष्कर्ष निकाल्यौँ,’ पूर्णले भने,‘त्यसअघि अविरल बग्दछ इन्द्रावतीलगायत केही शृङ्खलाहरूले दलितको मुद्दा उठाएका थिए । तर, दलित समुदायकै चश्माबाट दलितका मुद्दा उठाउनुपर्छ भन्ने सोचअन्तर्गत हामीले ‘दलन’ निर्माण गर्ने भयौँ र लेखनको जिम्मेवारी आहुतीजीलाई दियौँ । निर्देशनको जिम्मा नवीन सुब्बालाई दियौँ । किनकि उहाँले नेपाली समाजको परम्परागत सौन्दर्य चेतलाई भत्काउने गरी ‘नुमाफुङ’ नामक चलचित्र बनाइसक्नु भएको थियो ।’



सकस, त्यतिबेला सुरु भयो, जतिबेला नेपाल टेलिभिजनले मिडिया हबमार्फत् शृङ्खला प्रसारण गर्ने भन्यो । तर, मिडिया हबले प्रशारणमा रुची देखाएन । ‘उनीहरूलाई हाम्रो शृङ्खला चल्छ भन्ने लागेन,’ पूर्णले भने,‘त्यसपछि हामीले मिडिया ग्यालरी भन्ने एउटा नयाँ विज्ञापन एजेन्सीलाई प्रसारणको जिम्मा दियौँ । नयाँ कम्पनी भएकाले यसले विज्ञापन ल्याउन सक्ने सम्भावना निकै कम थियो । तर जसरी पनि जनताका घरसम्म सिरियल लैजानु हाम्रो प्रमुख प्राथमिकता थियो ।’



नेपाल टेलिभिजनबाट प्रसारण हुनुअघि कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा यस सिरियलको पहिलो भाग प्रिमियर पनि गरिएको थियो, पत्रपत्रिकामा प्रिमियर कार्यक्रमले राम्रो कभरेज तथा समीक्षा पायो र दोस्रो भागसम्म आइपुग्दा सिरियलप्रति आकर्षित हुनेहरूको संख्या पनि ह्वात्तै  बढ्यो । ‘बिस्तारै, देश–विदेशका युवाहरूले ‘दलन क्लब’ गठन गर्दै विभेदविरुद्धको आवाज चर्को बनाए । अन्ततः नेपाल टेलिभिजनको इतिहासमै सर्वाधिक टिआरपी बढाउने सिरियलका रूपमा यसले आफूलाई उभ्यायो,’ पूर्णले दाबी गरे । 



फरकधारका चलचित्रहरुको प्रवर्द्धनमा केही न केही गर्नुपर्छ भन्ने सोच पूर्णमा थियो । यस्तै सोच राख्ने अन्य साथीहरूसँगको छलफल र परामर्शपछि ह्युमन राईट्स फिल्म फेस्टिभलको अवधारणा तयार भयो ।



उनकाअनुसार त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर अध्ययन गर्ने विद्यार्थीहरूले दलनबारे ५–६ वटा थेसिस नै लेखिसकेका छन् । यो सिरियल बेलायतमा वान वर्ल्ड मिडिया अवार्डमा पनि मनोनयनमा परेको थियो । त्यस्तै, युरोपेली युनियनको नमुना परियोजनाका रूपमा पनि यसलाई लिइन्छ । पछिल्लो समय सामाजिक कथावस्तुमा आधारित सिरियलहरू कमैमात्र बनेका छन् । तर, पूर्णलाई यस्ता सिरियलहरू बारम्बार बनिरहनुपर्छ भन्ने लाग्छ । ‘टेलिभिजनहरू मनोरञ्जनमा मात्रै केन्द्रित हुनु हुँदैन । समाज बदल्न सक्ने कथावस्तुहरू पनि प्रवाह गर्न सक्नुपर्छ,’ उनले भने । 



ह्युमन राईट्स फिल्म फेस्टिभल 

फरकधारका चलचित्रहरुको प्रवर्द्धनमा केही न केही गर्नुपर्छ भन्ने सोच पूर्णमा थियो । यस्तै सोच राख्ने अन्य साथीहरूसँगको छलफल र परामर्शपछि ह्युमन राईट्स फिल्म फेस्टिभलको अवधारणा तयार भयो । ‘दलन निर्माणपछि विदेशका केही राम्रा फिल्म फेस्टिभलहरुमा सहभागिता जनाउने मौका मैले पाएँ । त्यस्तै, इटालीमा केही महिना तालिमको अवसर पनि पाएँ । ती फेस्टिभलहरुमा मानवअधिकारको पक्षमा बनेका फिल्महरुलाई ठूलो महत्त्व दिइन्थ्यो,’ उनी भन्छन्,‘कला वा फिल्मको आधारभूत आवश्यकता नै स्वतन्त्रता हो भन्नेमा उनीहरू विश्वस्त थिए । नेपालमा पनि केही साथीहरू यस्तै विचार राख्थे । त्यसैले, सोच मिल्ने साथीहरू मिलेर सन् २००९ मा हामीले ह्युमन राईट्स फिल्म सेन्टर (एचआरएफसी) स्थापना गर्‍यौँ ।’

मानिसले आफैँ पर्खालहरू खडा गरेको छ र त्यसले ल्याउने विभाजनको मार पनि आफैँ भोगेको छ । वर्ग, लिङ्ग, नश्ल, जातलगायत अनेकौँ नाममा सदियौँदेखि ठड्याइएका त्यस्ता पर्खाल भत्काएर समाजलाई एकताबद्ध बनाउन सिनेमा महत्त्वपूर्ण माध्यम हुन सक्छ ।

यस संस्थाले मानवअधिकार तथा सामाजिक विषयवस्तुमा निर्माण भएका फिल्महरूको प्रदर्शन तथा प्रवर्द्धनमा सहयोग गर्दै आएको छ । आठौँ संस्करणसम्म आइपुग्दा ह्युमन राईट्स फिल्म फेस्टिभल नेपालकै प्रतिष्ठित फेस्टिभल बनिसकेको छ । हाल लेखक/पत्रकार अरुणदेव जोशी यस फेस्टिभलका अध्यक्ष र पाण्डव केसी फेस्टिभल निर्देशक छन् । 

नेपाल–अमेरिका फिल्म फेस्टिभल 

रामेछाप स्थायी घर भएका पूर्ण सन् २०१३ यता अमेरिकाको मेरिल्यान्डमा बस्छन् । उनी नेपाल–अमेरिका फिल्म फेटिस्भलको डाइरेक्टरका रूपमा अमेरिकामा नेपाली सिनेमाको प्रवर्द्धनका लागि सक्रिय भूमिका निभाइरहेका छन् । ‘विश्वभरका मानिस बस्ने भएकाले यहाँ बहुराष्ट्रियताको विषयले महत्त्व राख्छ, अर्थात् मानिसहरूले कुन देशबाट आएको भनेर सोध्छन् । अहिले हामीले नेपाल भनेर चिनाउँदा धेरैले नचिन्ने अवस्था छ । उही माउन्ट एभरेस्ट भनेपछि बल्लतल्ल चिन्न खोज्लान्,’ पूर्णले भने,‘हामीले फिल्ममार्फत् नेपाली समाजका मौलिक पक्षहरूलाई देखाउन सक्छौँ र भविष्यमा, आफ्नो समुदायलाई चिनाउन सक्छौँ भन्ने सोच राखेरै २०१७ मा नेपाल अमेरिका फिल्म सोसाइटी स्थापना गर्‍यौँ र यस सोसाइटीको आयोजनामा निरन्तर रूपमा नेपाल–अमेरिका फिल्म फेस्टिभल आयोजना गर्दै आएका छौँ ।’

यद्यपि, भाषा र संस्कृति प्रवर्द्धनको नाममा विदेशी भूमिमा नेपाली सिनेमा लग्ने र नेपालीहरूलाई नै देखाउने काम उपलब्धिमूलक नहुने पूर्णको बुझाई छ । ‘हाम्रा सिनेमा हेर्नका लागि विदेशी दर्शकलाई पनि आकर्षित गर्न सक्नुपर्छ । त्यसका लागि हामीले फेस्टिभलमा विदेशी भाषाका सिनेमा पनि समावेश गर्‍यौँ भने ती समुदायका दर्शकहरू आउँछन् । त्यसरी आउँदा नेपाली सिनेमा पनि हेर्छन् । त्यस्तै, हाम्रा दर्शकले पनि अन्य समुदायका व्यक्तिहरूको कथा हेर्न पाउँछन्,’ उनले भने । 

नेपाल–अमेरिका फिल्म फेस्टिभल मेक्सिकन, अमेरिकी,  हिन्दीलगायत विश्वका धेरै भाषामा धेरै समुदायका कथाहरू प्रदर्शन हुने गरेका छन् । ‘जुनसुकै भाषा वा आवाज बिना नै किन नहोस्, सिनेमाले मानवता, जगत् र स्वतन्त्रताबारे निरन्तर बोलिरहनुपर्छ,’ पूर्णले भने, ‘नेपालका युवा पुस्ताका सिनेमेकरहरुमा मैले जागरण देखेँ । उनीहरू निकै उत्कृष्ट छन् । उनीहरूसँगको सहकार्यमा काम गर्ने मन छ ।’ 

मानिस आफैले निम्त्याएका समस्या उजागर गर्न र त्यसविरुद्ध जागरण फैलाउन सिनेमा प्रभावशाली माध्यम बन्न सक्ने उनको टिप्पणी छ । ‘मानिसले आफैँ पर्खालहरू खडा गरेको छ र त्यसले ल्याउने विभाजनको मार पनि आफैँ भोगेको छ । वर्ग, लिङ्ग, नश्ल, जातलगायत अनेकौँ नाममा सदियौँदेखि ठड्याइएका त्यस्ता पर्खाल भत्काएर समाजलाई एकताबद्ध बनाउन सिनेमा महत्त्वपूर्ण माध्यम हुन सक्छ,’ कुराकानीको अन्त्यमा पूर्णले भने,‘ म नेपालमा दलित र अमेरिकामा आप्रवासी समुदायको प्रतिनिधित्व गर्छु । भलै, विभेद सहने म पहिलो होइन, तर अन्तिम पुस्ता अवश्य हुनेछु भन्ने सोचका साथ हामीले सामाजिक जागरण फैलाउनुपर्छ भन्ने लाग्छ ।’

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।