शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णालीमा २५ घण्टाको अवधिमा तीन जनाले गरे आत्महत्या

बिहीबार, ०९ मङ्सिर २०७८, १० : ११
बिहीबार, ०९ मङ्सिर २०७८

कर्णाली प्रदेशमा २५ घण्टाको अवधिमा तीन जनाले आत्महत्या गरेका छन् । तीनै जनाले पासो लगाएर आत्महत्या गरेका हुन् । प्रदेश प्रहरी कार्यालय कर्णालीका अनुसार डोल्पामा एक जना र सुर्खेतमा दुई जनाले आत्महत्या गरेका हुन् ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी नायव उपरीक्षक माधवप्रसाद श्रेष्ठका अनुसार मंगलबार बिहान ७ बजेतिर डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–६ की १४ वर्षकी अस्मिता शाहीले सलको पासो लगाई आत्महत्या गरिन् । उनले डोल्पाकै मुड्केचुला गाउँपालिका—४ मा रहेको आफ्नै मामा केव रोकायाको घरमा झुण्डिएर आत्महत्या गरेकी हुन् । उनी मामाको घरमै बस्दै आएको प्रहरीको भनाइ छ ।

अस्मिताले आत्महत्या गरेको ११ घण्टापछि सुर्खेतकी १९ वर्षीय सरस्वती घर्ती मगरले पनि झुण्डिएर आत्महत्याको बाटो रोजेकी छन् । प्रवक्ता श्रेष्ठका अनुसार सरस्वतीले गुर्भाकोट नगरपालिका–१२ लाटीगैरास्थित आफ्नै घरको सुत्ने कोठामा सलकै पासो लगायर झुण्डिएकी थिइन् ।  सरस्वती विवाहित महिला हुन् ।

यस्तै बुधबार बिहान आठ बजे सुर्खेतकै गुर्भाकोट नगरपालिका–७ को नाङ्गी भन्ने स्थानका ६९ वर्षका वृद्ध दिलबहादुर खत्रीले पनि झुण्डिएर आत्महत्या गरेका छन् । उनले आफ्नै घर नजिकैको खन्युको रुखमा गलबन्दीको पासो लगाई झुण्डिएर आत्महत्या गरेका हुन् ।

उनी झुण्डिएको अवस्थामा स्थानीयले बिहान १० बजेपछि मात्र देखेका थिए । प्रहरीका अनुसार यी तीनवटै घटनाको अहिले अनुसन्धान भइरहेको छ । पछिल्लो समय कर्णालीमा दिन–प्रतिदिन झुण्डिर आत्महत्या गर्नेहरुको ग्राफ बढ्दै गएको देखिन्छ ।

प्रदेश प्रहरी कार्यालयका अनुसार विगत पाँच वर्षको अवधिमा मात्र कर्णालीमा एक हजार ३६२ जनाले आत्महत्या गरेका छन् । ती मध्ये २८५ जनाले झुण्डिएर आत्महत्या गरेको तथ्याङ्क प्रहरीसँग छ । आत्महत्या गर्नेमध्ये १३३ जना बालबालिका छन् । विगत एक वर्षमा मात्रै ४७ जना बालबालिकाले आत्महत्या गरेका छन् ।

अघिल्लो आर्थिक वर्षमा कर्णालीमा ३६२ जनाले आत्महत्या गरेको प्रहरीले जनाएको छ । कर्णाली प्रदेशमा गरिबीका कारण सिर्जित मानसिक समस्या रहेको प्रहरीको भनाइ छ । कर्णालीमा झण्डै ५२ प्रतिशत नागरिक गरिबीको रेखामुनि छन् ।

यस्तै, महिलाहरुले घरेलु हिंसाका कारण आत्महत्याको बाटो रोज्ने गरेका छन् । कर्णालीमा घरेलु हिंसा, महिला हिंसा, सामाजिक सञ्जालको दुरुपयोग र दीर्घरोगका कारण पनि आत्महत्या गरेको घटना पाइन्छ ।

प्रदेश अस्पतालका मानसिक रोग विशेषज्ञ डा. सुशील समदर्शी पछिल्लो दुई आर्थिक वर्षमा कर्णालीमा कोरोना महामारीका कारण आत्महत्याका घटनामा वृद्धि भएको बताउँछन् । उनी भन्छन, ‘निराशापन, बदलिँदो जीवनशैली र तनाव व्यवस्थापन गर्न नसक्दा पनि आत्महत्याका घटना वृद्धि हुँदै गएका छन् ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप