शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

‘ओमिक्रोन’ भेरियन्टले थपिएको चुनौती

विदेशमा कडाइ गरिँदै, के गर्दैछ नेपाल ?
आइतबार, १२ मङ्सिर २०७८, १५ : ३८
आइतबार, १२ मङ्सिर २०७८

दक्षिण अफ्रिकामा (कोभिड–१९) भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ भेटिएपछि सरकारले सतर्कता अपनाउने तयारी थालेको छ ।  ‘ओमिक्रोन’ को रोकथाम लागि पूर्वतयारी बारे कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय समितिको बैठक बसिरहेको प्रवक्ता सुनिता नेपालले जानकारी दिइन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दक्षिण अफ्रिका हुँदै नेपालमा आउने यात्रुलाई अनिवार्य एक हप्ता क्वारेन्टिनमा बस्न आग्रह गरेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोनाको नयाँ ‘ओमिक्रोन’लाई ‘भेरियन्ट अफ कन्सर्न’ घोषणा गरेपछि नेपालले अब अनिवार्य क्वारेन्टिन बस्नुपर्ने स्वास्थ्य मन्त्रालयले जनाएको हो । 

यो नयाँ भेरियन्ट तीव्र रूपमा फैलन सक्ने डब्लुएचओले सङ्केत गरेको छ । दक्षिण अफ्रिकामा नोभेम्बर २४ मा नयाँ भेरिएन्ट बी.१.१.५२९ ‘ओमिक्रोन’ पुष्टि भएको थियो । त्यसैले त्यो नयाँ भेरिएन्ट अत्यधिक मात्रामा उत्परिवर्तन हुने भएकाले डब्लुएचओले चुनौती थपिएको भन्दै चेतावनी दिइएको छ । 

दक्षिण अफ्रिकाबाट आउनेलाई विमानस्थलमा निगरानी र परीक्षण गरी क्वोन्टिन पठाउने स्वास्थ्य मन्त्रालयको भनाइ छ । यद्यपि कोरोनाविरुद्धको खोप लगाइसकेकालाई होटल क्वारेन्टिको अनिवार्यता नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यता नयाँ भेरियन्टमा धेरैवटा उत्परिवर्तन भएकाले वैज्ञानिकले यसलाई भयानक भनेर व्याख्या गर्नुका साथै यो भेरियन्ट आफूहरूले देखेकोमध्ये सबैभन्दा खराब भएको बताएका छन् । यो भाइरस चीनमा देखिएको भाइरसभन्दा धेरै फरक देखिएकाले चिन्ताको विषय बनेको वैज्ञानिकहरूले व्यक्त गरिरहेका छन् ।

जनस्वास्थ्यका मापदण्ड पालना नगरेसम्म नयाँ भेरियन्ट भित्रने जोखिम कायम रहेको जनस्वास्थ्य विज्ञहरू बताउँछन् ।

के नयाँ भेरियन्टको पहिचान नेपालमा हुन्छ ?

नेपालले कोरोनाभाइरस उत्परिवर्तित भएका नमुनाहरु विदेशमा पठाइने गरिन्थ्यो । विगतमा स्वास्थ्य संगठनको  प्रयोगशालामा नमुना  पठाए पनि हाल नेपालमै नयाँ भेरियन्ट पहिचान गर्न सकिने राष्ट्रिय प्रयोगशालाका निर्देशक डा. रुना झाले बताइन् । नेपालमा नयाँ भेरियन्ट पत्ता लगाउनका लागि पूर्वाधार र जनशक्तिको उपलब्धता रहेको उनले बताइन् । ‘नयाँ भेरियन्टको नमुना सिक्वेसिङ नेपाल मै हुन्छ,’ उनले भनिन्, ‘रेकर्डिङको लागि चाहिँ नमुना बाहिर पठाउनुपर्ने पनि हुन्छ ।’ 

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले हाल उपलब्ध खोपलाई समेत चुनौती दिन सक्ने बताउँछन् ।‘ ओमिक्रोन’ बारे डा.पुन यस्तो भन्छन् :

कोरोनाभाइरस (कोभिड—१९) को नयाँ भेरियन्ट रूपमा प्रस्ट जानकारी छैन । यस भेरियन्टको मुख्य चिन्ताको विषय भनेको धेरै सङ्ख्यामा उत्परिवर्तन हुनु हो । यसको थप स्पाइक प्रोटिनमा अत्यधिक मात्रामा उत्परिवर्तन भएको देखिन्छ । यस्तो अवस्थामा शरीरमा एन्टिबडीलाई छल्न सक्ने सम्भावना बढी हुन्छ । विश्वमा उपलब्ध खोपहरू स्पाइक प्रोटिनलाई लक्षित गरेर निर्माण गरिएको छ । भाइरसको स्वरूप धेरै उत्पपरिवर्तन भएपछि खोपबाट बनेको एन्टिबडी अथवा कोरोना सङ्क्रमण भई शरीर बनेको एन्टिबडीलाई छल्यो भने समस्या आउन सक्छ ।

यो स्वरूप परिवर्तन गरेको भाइरस कति घातक छ वा छैन भन्ने अध्ययनको विषय हो ।  यस भाइरसको बारेमा वास्तविकता हेर्न बाँकी नै छ । अफ्रिकामा खोप लगाउनको सङ्ख्या कम रहेछ त्यसैले त्यहाँ फैलिँदो अवस्थामा देखिन्छ । यो भाइरस छिटो फैलिन सक्छ भन्नेबारे अनुमान गरिएको छ । नेपालमा दैनिक सय भन्दा बढी कोरोना सङ्क्रमित भेटिरहेका छन् । के थाहा नेपाल पनि भाइरसको उत्परिर्वतन भएको हुन सक्छ । अफ्रिका र नेपालको सिधै हवाई उडान छैन । तर, अफ्रिका भइ विभिन्न ट्रान्जिटबाट नेपाल प्रवेश गर्न सक्छन् । यस्तो अवस्था गम्भीर रूपमा सतर्कता अपनाउनुपर्छ । अफ्रिका भएर वा अफ्रिकामा भेटघाट भएर नेपाल आएको खण्डमा जोखिम हुन्छ । अर्को कुरा भारतमा यो भेरिएन्ट देखियो भने नेपालका लागि उच्च जोखिम हुन्छ । सीमा नाकाहरु खुल्ला छन् । खुल्ला सिमाना भएकाले नेपालका लागि झन् थप चुनौती छ ।  

विदेशमा कडाइ गरिँदै

कोरोना नयाँ भेरियन्ट देखिएपछि अफ्रिकादेखि यूरोपेली राष्ट्रमा हलचल मच्चिएको छ । नयाँ भेरियन्ट अहिले सुरुकै चरणमा रहेको भन्दै विश्व स्वास्थ्य संगठनले दक्षिण अफ्रिकाका सबै प्रान्तमा भेरियन्टबाट सङ्क्रमित मानिसको सङ्ख्या बढ्दै गएको बताएको छ ।

यस्तै, ‘ओमिक्रोन’ भाइरस अन्य ठाउँमा फैलिएको सङ्केत देखापरेको छ । अमेरिकाले न्युयोर्कमा सङ्कटकाल घोषणा गरेको छ । नयाँ भेरियन्ट खतरनाक भएको भन्दै न्युयार्कका गभर्नर काथी होचुलले राज्यभर आगामी सन् २०२२ को जनवरी सम्म संकटकालको घोषणा गरेकी हुन् । यस्तै धेरै युरोपेली मुलुक बेलायत, क्यानडा, अस्ट्रेलिया, जापान,इजरायल, जर्मनी, ब्राजिल, बेल्जियम, रुस र हङकङमा समेत यो भाइरस फैलँदा  कडाइ गरिएको छ ।  

डब्लूएचओका अनुसार यो भेरियन्ट नोभेम्बर ९ मा सङ्कलित नमुनामा पहिलो पटक फेला परेको थियो । पहिलाका उत्परिवर्तनभन्दा अहिले पुष्टि भएकाले उत्परिवर्तनहरु थप घातक छन् कि छैनन् भन्ने स्पष्ट तथ्य भने आइसकेको छैन । यस्तै छिमेकी मुलुक भारतले अफ्रिका र हङकङबट प्रवेश गर्ने यात्रुलाई निगरानी राख्न निर्देशन दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप