शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

महेन्द्र पी. लामाको ‘ओ दार्जिलिङ !’

सोमबार, २० मङ्सिर २०७८, १५ : १३
सोमबार, २० मङ्सिर २०७८

जेएनयुका प्राध्यापक महेन्द्र पी. लामाको पुस्तक ‘ओ दार्जीलिङ ! सीमा वारिपारिका परिवेश र मन्थन’ प्रकाशित भएको छ । पुस्तक भारतका नेपालीभाषी र उनीहरुले माग गर्दै आएको गोर्खाल्याण्डका मुद्दामा बढी केन्द्रित छ । साथै, पुस्तकले दार्जिलिङको समृद्ध इतिहासदेखि अन्यौलग्रस्त वर्तमानलाई पनि चित्रण गरेको छ । 

दार्जीलिङले आफ्नो स्वाभिमानका निम्ति एक शताब्दीदेखि गर्दैआएको संघर्षको झल्को पनि यसमा समेटिएको छ । छिमेकी राज्य सिक्किमसँग जोडिएका प्रसंगहरु पनि पुस्तकमा प्रशस्त छन् ।
‘आफ्नो जन्मथलो, जाति, क्षेत्रका जल्दाबल्दा मुद्दालाई टाढाबाट हेर्दा र भित्रै पसी केलाउँदा पाइएका सोच यो पुस्तकमा छ,’ प्राध्यापक लामा भन्छन्, ‘मैले जन्मथलो छोडेर कर्मथलोमा जरा गाडेको चार दशक बढी भएछ । तर मेरो मन, भोगेको तन र निफन्ने ऐतिहासिक परिप्रेक्ष्य भने दार्जिलिङकै वरपर छ ।’

किताब पब्लिशर्सले प्रकाशित गरेको ४३० पृष्ठ ‘ओ दार्जिलिङ !’  पुस्तक विभिन्न ६  खण्डमा विभाजित छ ।  ‘पहाडकी रानी’, ‘हाम्रो आवाज र स्वाभिमान’, ‘नेपाललाई नियाल्दा’, ‘चीनतिर चियाउँदा’, ‘कूटनीति र यताउति’ तथा ‘अनुभूति र अवलोकन’ शीर्षकमा लेखन समेटिएको छ । पुस्तकमा समेटिएका आलेख विभिन्न पत्रपत्रिकामा यसअघि प्रकाशन भइसकेका छन् । 

पुस्तकमा भारतबाट हेर्दा नेपाल कस्तो देखिन्छ; तिब्बत र चीनतिर चियाउँदा के–के पाइन्छ; कुटनीति, भूराजनीति र अन्तर्राष्ट्रिय सम्बन्धका नयाँ मुद्दाहरु के हुन्– जस्ता बिषय पनि समेटिएका छन् । आफ्नो लेखनीको प्रेरणास्रोत प्यारा पाठकहरु भएको बताउने लामाले दुई दर्जन पुस्तकको लेखन एवम् सम्पादन गरिसकेका छन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप