शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

ओमिक्रोन खोप लगाइसकेका र सङ्क्रमण भएका व्यक्तिमा पनि तीव्र सर्छ  : डब्लूएचओ

बिहीबार, २३ मङ्सिर २०७८, ०९ : १४
बिहीबार, २३ मङ्सिर २०७८

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन खोप लगाइसकेका र एक पटक सङ्क्रमित भइसकेका व्यक्तिलाई सजिलै सर्ने, तर यसको लक्षण सामान्य देखिने जनाएको छ । ‘दक्षिण अफ्रिकामा देखिएको पछिल्लो तथ्याङ्कले यो देखाउँछ की एक पटक सङ्क्रमण भएका व्यक्ति वा खोप लगाइसकेकाहरूमा पनि ओमिक्रोन तीव्र ढङ्गले फैलिन सक्छ,’ विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रो आडहानोम घेब्रियसले भने । 

तर, तीव्र फैलिन्छ भनेर निष्कर्षमा पुग्नुअघि अझै बढी तथ्याङ्क अध्ययन गर्न आवश्यक भएको उनले बताए । ओमिक्रोनकाे लक्षणबारे प्रष्ट तथ्याङ्क उपलब्ध गराउनसमेत प्रभावित देशहरूलाई उनले अनुरोध गरे ।दक्षिण अफ्रिकामा फैलिएको ओमिक्रोन भेरियन्ट अहिले नेपाललगायत ४५ देशमा फैलिइसकेको छ । प्रभावित देशहरूले सीमामा कडाइ गर्नुका साथै विभिन्न प्रतिबन्धात्मक व्यवस्था लागू गरेका छन् ।  

भाइरसलाई लिएर लापरबाही नगर्न पनि टेड्रोसले सर्वसाधारणलाई अनुरोध गरेका छन् । ‘यो सामान्य भाइरस हो भनेर रमाउने हो भने यसले ठूलो मानवीय क्षति गर्नेछ,’ उनले भने । पछिल्लो भेरियन्ट मानिसहरुमा सजिलै फैलिने भएकोले सङ्क्रमणको ‘चेन’ तोड्नुपर्ने उनले बताए । नयाँ भेरियन्ट यसअघिका डेल्टा भाइरसभन्दा न्यून जोखिमपूर्ण रहे पनि यसको सङ्क्रमण क्षमता भने तीव्र भएको वैज्ञानिकहरूले बताउँदै आएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप