शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

नेतृत्वको प्रतिस्पर्धाबाट अलग हुँदै रामचन्द्र पौडेलले भने– पार्टीभित्रका विकृतिविरुद्ध लडिरहन्छु

शनिबार, २५ मङ्सिर २०७८, १४ : १३
शनिबार, २५ मङ्सिर २०७८

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १४ औँ महाधिवेशनमा नेतृत्वको प्रतिस्पर्धाबाट आफू अलग भएको बताएका छन् । शनिबार विज्ञप्ति जारी गर्दै उनले राष्ट्रिय राजनीतिमा भने आफ्नो भूमिका रहिरहने प्रस्ट पारेका छन् ।

पार्टीको महाधिवेशन केवल व्यक्तिको छनोट गर्ने थलोमात्र नभएर यसले पार्टीलाई स्पष्ट नीति, योजना र एकताको सन्देश दिन आवश्यक हुने उनले बताएका छन् । ‘म नेपाली काँग्रेस पार्टीका तमाम कार्यकर्ता र महाधिवेशन प्रतिनिधिहरूलाई यो दिशामा आफ्नो ध्यान लगाउन र सुदृढ, सबल र एकताबद्ध पार्टी निर्माणमा एकजुट हुन आग्रह गर्दछु,’ पौडेलले विज्ञप्तिमार्फत भनेका छन् ।

काँग्रेसमा अहिले विचलन आइरहेको अनुभव आफूले गरेको पनि उनले खुलाएका छन् । ‘पार्टी सत्ताको भर्‍याङमा सीमित नहोस् भनेर यसका संस्थापक नेताहरू बीपी, गणेशमान र किशुनजीले आदर्श र मूल्यका लागि जीवनभर लड्नुभयो, संघर्ष गर्नुभयो,’ उनले भनेका छन्, ‘त्यो आज निरर्थक हुन लागेको पीडा बोध भइरहेको छ ।’

संसदीय विचलनबाट हात लागेको सत्ता अवसरमा पार्टी रमाइरहेको पौडेलको टिप्पणी छ । ‘चौधौँ महाधिवेशनमा आइपुग्दा मैले अनेक प्रपञ्च भोगेको छ, प्रजातन्त्रका मूल्य, मान्यता र आदर्श अँगालेर अथक प्रयत्न गरिरहँदा पनि पार्टी महाधिवेशनको मझधारमा आएर प्रतिस्पर्धाको मैदान छोड्नुपर्ने अवस्थामा म पुगेँ,’ उनले भनेका छन्, ‘तथापि एउटा इमानदार र लोकतन्त्रवादी नेपालीको हैसियतमा पार्टी र राष्ट्रमा देखिएका विकृति र गलत प्रवृत्तिविरुद्ध भने लडिनै रहनेछु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप