शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

रवीन्द्र अधिकारी ह्याट्रिकको तयारीमा, रोक्लान् चालिसेले ?

शुक्रबार, २४ कात्तिक २०७४, ११ : ४८
शुक्रबार, २४ कात्तिक २०७४

काठमाडौँ । नेकपा एमालेका युवानेता रवीन्द्र अधिकारीले कास्की २ बाट सुविधाजनक जित निकाल्न चाहन्छन्, ताकि जितको ह्याट्रिक होस् । वाम गठबन्धनबाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका अधिकारीको प्रतिस्पर्धीमा नेपाली काङ्ग्रेसका देवराज चालिसेसँग हुनेछ  ।

अधिकारीको विगतको जित, स्थानीय तहको निर्वाचन मत  आधार तथा वाम गठबन्धनका कारणले अधिकारीलाई केही सहज ठाउँमा छन् । तर काँग्रेस नेता पनि चुनावी मैदानमा पूरै शक्ति लगाएर उत्रेका छन् ।

क्षेत्रफलका आधारमा देशकै सबैभन्दा ठूलो पोखरा–लेखनाथ महानगरपालिकाबाट उम्मेदवार बनेका अधिकारी गत दुई संविधान सभामा सोही स्थानबाट विजयी भएका थिए । नयाँ संरचना हुनुअघि कास्की ३ नम्बर क्षेत्रबाट अधिकारी विजयी भएका थिए । अधिकारी विजयी भएको स्थान कास्कीको मुख्य केन्द्र पर्छ । 

पोखरा लेखनाथ महानगरपालिका अन्तर्गतका ११ वडाहरू रहेको कास्की २ मा  स्थानीय तहको निर्वाचनमा एमाले आठवटा वडामा विजयी भएको थियो भने नेपाली काङ्ग्रेसले तीन वडा आफ्नो पक्षमा पारेको थियो । महानगरपालिकाका ४, ७, ८, ९, ११, १५, १६, १७, २०, २१ र ३३ वडाहरू कास्की २ निर्वाचन क्षेत्रअन्तर्गत पर्छन् । स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेसले ४, ९ र ११ मा जित हात पारेको थियो । स्थानीय निर्वाचनमा  नेकपा एमालेले २० हजार ४४१ मत ल्याएर पहिलो भएको थियो भने दोस्रो स्थानमा रहेको काङ्ग्रेसले १६ हजार ७६ मत प्राप्त गरेको थियो । तेस्रो स्थानमा रहेको माओवादी केन्द्रको तीन हजार २८४ सहित वाम गठबन्धनको मत  २३ हजार ७२५ हुन्छ । स्थानीय तहको प्राप्त मतलाई तुलना गर्दा नेपाली काङ्ग्रेस वाम गठबन्धनभन्दा सात हजार ६४९ मतले पछिपरेको छ । 

एमालेका युवा नेता अधिकारीले २०७० को दोस्रो संविधान सभामा नेपाली काङ्ग्रेसका सोभियतबहादुर अधिकारीलाई कास्की ३ मा हराएका थिए । तत्कालीन समयमा  कास्की ३ मा अधिकारीले १३ हजार ११० मतका साथ विजयी भएका थिए भने उनका निकटम प्रतिद्वन्द्वी सोभियतबहादुर अधिकारीले १० हजार ८०८ मत ल्याएका थिए । पहिलो संविधान सभामा अधिकारीले १३ हजार ३८६ मत ल्याएर सोही क्षेत्रबाट सभासद चुनिएका थिए । 

दुई पटक कास्की ३ बाट संविधान सभा सदस्य भएका अधिकारी  संसदीय समितिअन्तर्गतको विकास समितिको सभापतिको भूमिकामा थिए ।  अधिकारीले एमालेको विद्यार्थी सङ्गठनबाट राजनीतिक यात्रा सुरु गरेका हुन् । यसपटक पनि अधिकारीले जित निकाले भने उनको ह्याट्रिक हुनेछ । 

प्राध्यापन पेसाबाट चुनावका लागि राजीनामा दिएका चालिसे नेपाली काङ्ग्रेसबाट प्रत्यासी  छन् । चुनावी अनुभव नभएका चालिसेका लागि अधिकारीसँग भिड्न अनुकूल छैन । नेपाली काङ्ग्रेसका महासमिति सदस्य रहेका चालिसेको प्रतिनिधि सभा सदस्यका लागि चुनावी प्रतिस्पर्धा पहिलो पटक हो । पृथ्वी नारायण क्याम्पसबाट प्राध्यापन पेसाबाट चुनावी मैदानमा आएका चालिसेले सोही क्याम्पसबाट एमाले निकटको विद्यार्थी राजनीति हुँदै राष्ट्रिय राजनीतिमा आएका अधिकारीसँगको भिडन्त रोचक देखिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लिलु डुम्रे
लिलु डुम्रे

लिलु डुम्रे रातोपाटीका संवाददाता हुन् ।

लेखकबाट थप