शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

मतदानस्थलमा देउवा र शेखरको पौने ६ घण्टा

मङ्गलबार, २८ मङ्सिर २०७८, २१ : १४
मङ्गलबार, २८ मङ्सिर २०७८

नेपाली काँग्रेसको सभापति पदमा दोस्रो चरणमा भएको निर्वाचनका क्रममा उम्मेदवारहरू शेरबहादुर देउवा र शेखर कोइराला झण्डै पौने ६  घण्टा मतदानस्थलमा रहेका छन् ।  भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा दुबै उम्मेदवार लगभग उही समय मतदानस्थलमा रहेका हुन् ।

देउवा र कोइराला मतदानस्थलमा भोट माग्न सक्रिय रहेका थिए भने उनीहरुसँगै निकटस्थ नेताहरुको पनि उस्तै सक्रियता देखिन्थ्यो । देउवाले प्रतिनिधिहरूलाई नमस्कार गर्दै भोट मागिरहेका थिए भने शेखरको पनि उही शैली थियो । 

करिब ३ बजेतिर देउवा मतदान स्थलमा प्रवेश गरेका थिए भने कोइराला पनि लगत्तै आइपुगेका थिए । त्यसपछि उनीहरुको मत माग्ने प्रतिस्पर्धा नै चलेको थियो । उनीहरु यसैगरी मतदान स्थलमा राति पौने ९ बजेसम्म रहेका थिए । पौने ९ बजेतिर देउवा बाहिरिएपछि कोइराला पनि मतदान स्थलबाट बाहिरिएका हुन् । 

काँग्रेसको सोमबार भएको पहिलो चरणको मतदानबाट कसैको पनि बहुमत आउन नसकेपछि मंगलबार फेरि मतदान भएको छ । पहिलो चरणको मतदानमा ५ उम्मेदवार रहेकामा कम मत पाएका तीन उम्मेदवार प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रतिस्पर्धाबाट बाहिरिएका थिए भने शेखर र देउवाबीच फाइनल भिडन्त भएको थियो । 

निधि, सिंह र गुरुङ तीनै उम्मेदवारले देउवालाई समर्थन गरेपछि दवावमा रहेका कोइरालाले मैदानमा सक्रियताका साथै सामाजिक सञ्जालमार्फत पनि निकटस्थहरुमार्फत माहोल सिर्जनाको प्रयास गरेका थिए । 

जम्मा ८२ भोट नपाएर पहिलो चरणबाटै विजयी हुन नपाएका देउवालाई तीन उम्मेदवारले सघाएपछि जितका लागि सहज भएको बताइएको छ । यद्यपि मतदाताको विवेकको कुरा भएकाले नतिजा कस्तो आउला भन्नेमा यसै भन्न सकिने अवस्था छैन । मतदान सकिएर आवश्यक प्रक्रिया सम्पन्न भएपछि राति नै मतगणनाको तयारी भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप