शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

राति साढे १० बजेदेखि मतगणनाको तयारी, तीन घण्टामा नतिजा आउने

मङ्गलबार, २८ मङ्सिर २०७८, २२ : ००
मङ्गलबार, २८ मङ्सिर २०७८

नेपाली काँग्रेसको नयाँ सभापति चयनका लागि मंगलबार भएको पुनः मतदानको मतगणना राति साढे १० बजेदेखि सुरु गर्ने तयारी भएको छ ।

निर्वाचन समितिका सदस्य एगराज पोखरेलले अहिले मतपेटिका सिलबन्दी गर्ने कार्य भइरहेको र सबै प्रक्रिया पुरा गरेर राति साढे १० बजेदेखि मतगणना सुरु गर्ने तयारी भएको जानकारी दिए । उनले मतगणना सुरु भएको ३ घण्टामा नतिजा आउने पनि बताए ।

काँग्रेसमा राष्ट्रियसभा गृहमा दिउँसो ३ः३० बजेदेखि सुरु भएको मतदान निर्धारित समयभन्दा डेढ घण्टा ढिला राति ९ बजे सम्पन्न भएको थियो । मतदानमा चार हजार ७४३ मतदातामध्ये चार हजार ५६४ ले मतदान गरेका छन् ।

सोमबारको तुलनामा आजको मतगणना सुरु गर्दा कम समय लाग्ने भएको हो । मतपत्र एकै किसिमको मात्र रहेको, मतगणना आचारसंहिता र गणक तयारी अवस्थामा रहेकाले तुरुन्तै मतपेटिका शिलबन्दी गरी मुचुल्का बनाएर गणना सुरु गरिने भएको हो । 

सोमबार भएको निर्वाचनमा सभापति पदका प्रत्यासी कसैले पनि ५० प्रतिशत भन्दा बढी मत ल्याउन नसकेपछि पार्टी विधानअनुसार सबैभन्दा बढी मत ल्याउने प्रधानमन्त्री एवं वर्तमान पार्टी सभापति शेरबहादुर देउवा र नेता डा शेखर कोइरालाबीच दोस्रो चरणको  मतदान भएको हो । 

सोमबारको मतदानमा प्रधानमन्त्री एवं वर्तमान सभापति देउवाले दुई हजार २५८ र उनका निकटतम प्रतिद्वन्द्वी कोइरालाले एक हजार ७०२ मत प्राप्त गरेका थिए । सभापतिका अन्य प्रत्यासी पूर्व महामन्त्री प्रकाशमान सिंहले ३७१, उपसभापति विमलेन्द्र निधिले २५० र केन्द्रीय सदस्य कल्याण गुरुङले २२ मत प्राप्त गरको थिए । 

सोमबारको मतदानमा जम्मा चार हजार ७४३ मतदातामध्ये चार हजार ६७९ मतदाताले मतदान गरेका थिए । मतदानमा कूल ७६ मत बदर भएको थियो । कांग्रेस विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नु अनिवार्य हुन्छ ।

पहिलोपटक कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नल्याएमा सबैभन्दा बढी मत ल्याउने दुई जनाबीच पुनः मतदान गर्ने विधानको व्यवस्था छ । पुनः मतदान हुँदा  भने बढी मत प्राप्त गर्ने उम्मेदवार विजयी हुने व्यवस्था छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप