शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

गायक अमात्यको जग्गा किर्ते प्रकरण : १९ करोड कर्जा लिनेदिनेलाई किन चलाइएन ‘बैंकिङ कसुर’ मुद्दा ?

शुक्रबार, ०२ पुस २०७८, ०७ : १२
शुक्रबार, ०२ पुस २०७८

गायक योगेश्वर अमात्यको जग्गाको नक्कली पुर्जा बनाएर १९ करोड कर्जा लेनदेन गर्ने समूहलाई विशेष सरकारी वकिल कार्यालय काठमाडौँले बैङ्किङ कसुर मुद्दा चलाउन अस्वीकार गरेको छ । 

बारामा अमात्यको नाममा रहेको १२ बिगाहा जग्गा धितो राखेर कुमारी बैङ्कको न्युरोड शाखाबाट १९ करोड ऋण लेनदेन गर्ने समूहबारे सिआईबीले बैंकिङ कसुरमा अनुसन्धान गरेर विशेष सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको थियो । तर, बुधवार विशेष सरकारी वकिल कार्यालयले सो मुद्दा अगाडी नबढाउने निर्णय गरेको हो । 

केन्द्रीय अनुसन्धान ब्युरोले यसअघि नक्कली पुर्जा बनाएर १९ करोड ऋण लिने समूहका कुसन प्रधान, एसके महर्जन, मुक्तिलाल गौतम र कुमारी बैङ्कको वीरगन्ज शाखाका कनिष्ठ सहायक सोनु ठाकुरलाई सरकारी लिखत ‘किर्ते’ मुद्दा चलाएको थियो । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले सो समूहलाई  बैंकिङ कसुर मुद्दा पनि चलाउन निर्देशन दिएको थियो । 

बैंकिङ कसुर मुद्दा विशेष सरकारी वकिल कार्यालय मार्फत मात्रै अदालतमा दर्ता गर्ने व्यवस्था छ । सो निर्देशन अनुसार ब्युरोले कुमारी बैङ्कको न्यूरोड स्थित कर्जा शाखाका प्रमुख गोपाल जोशी सहित १३ जनालाई विपक्षी बनाएर मुद्दा चलाउनुपर्ने राय सहितको अनुसन्धान प्रतिवेदन विशेष सरकारी वकिल कार्यालयमा बुझाएको थियो । 

प्रहरी अनुसन्धानबाट कर्जा प्रवाहमा कुमारी बैङ्कको वीरगन्ज शाखाका कर्जा प्रमुख राजेश्वर प्रसाद शाह, केन्द्रीय कार्यालय स्थित कर्जा विभागमा कार्यरत अजित राई, न्यूरोड शाखाका कर्जा प्रमुख गोपाल जोशी र वीरगन्ज शाखाका सोनु ठाकुरको संलग्नता खुलेको थियो । ब्युरोले जग्गा मूल्याङ्कनकर्ता राजेश कुमार चौरसिया, किर्ते कागजात बनाएर ऋण लिनेहरू कुशन प्रधान, उविन्द्र राज शाक्य, शोभा शाक्य, ईश्वर पोखरेल ‘सफल’, रेशम बहादुर सिलवाल, मुक्तिनाथ गौतम, यस कुमार महर्जन र विजय कुमार शाक्यलाई बैङ्किङ कसुर मुद्दा चलाउन सिफारिस गरेको थियो । 

विशेष सरकारी वकिल कार्यालयका प्रमुख ध्रुव चौहानले जाहेरी पर्नुअघि नै ऋण सेटल गरिसकेको देखिएको हुनाले मुद्दा नचलाउने निर्णय गरिएको बताए । रातोपाटीसँग कुरा गर्दै चौहानले भने–‘त्यो लोन सेटल गरेको देखियो, किर्तेमा जाहेरी पर्नुभन्दा अघि नै जुन पैसा कम्पनीले लियो त्यो सेटल गरिसकेको देखिएको हुनाले यो निर्णय गरेका हौँ ।’ 

अमात्यको जग्गा डेनियल ट्रेडिङ नामक कम्पनीको नाममा देखाएर कर्जा लेनदेन गरिएपछि मालपोत कार्यालयमा भने सो जग्गा अमात्यकै नाममा छ । नक्कली पुर्जा राखेर कर्जा लिएको थाहा पाएपछि बैङ्कले सो समूहलाई अर्को धितो राख्न लगाएर कर्जा असुल गरेको थियो । त्यही आधारमा टेकेर विशेष सरकारी वकिल कार्यालयले मुद्दा नचल्ने निर्णय गरेको हो ।

केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धान प्रतिवेदनमा अमात्यको जग्गा डेनियल ट्रेडिङ नामक कम्पनीको नाममा देखाएर कर्जा प्रवाह भएको र सो ऋण चुक्ता गरेको उल्लेख गरिएको छ । कागजात किर्ते गरेर ऋण लिएको विषय राफसाफ भैसकेको देखिएको हुनाले सो निर्णय गरिएको चौहानले जिकिर गरेका छन् । 

लिखत सम्बन्धी कसुरमा मुद्दा चलाएर जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले चाहिँ ‘बैंकिङ कसुर’मा अनुसन्धान हुन आवश्यक देखिएको भन्दै थप अनुसन्धान गर्न ब्युरोलाई निर्देशन दिएको थियो । 

लिखत सम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौँले नक्कली कागजात बनाएर जग्गा किन्ने यश कुमार महर्जन ‘एसके’, मुक्तिलाल गौतम र कुमारी बैङ्कका कर्मचारी सोनु ठाकुरलाई पुर्पक्षका लागी थुनामा पठाउने आदेश गरेको थियो ।  जग्गा मूल्याङ्कनकर्ता कन्सल्ट्यान्ट  राजेश कुमार चौरसिया १ लाख धरौटीमा छुटेका छन् । कुसन सहित ४ जनालाई ब्युरोले कात्तिक ११ मा र राजेश चौरसियालाई कात्तिक २१ मा पक्राउ गरेर अनुसन्धान गरेका थियो । 

अमात्यको जग्गा डेनियल ट्रेडिङ नामक कम्पनीको नाममा देखाएर कर्जा लेनदेन गरिएपछि मालपोत कार्यालयमा भने सो जग्गा अमात्यकै नाममा छ । नक्कली पुर्जा राखेर कर्जा लिएको थाहा पाएपछि बैङ्कले सो समूहलाई अर्को धितो राख्न लगाएर कर्जा असुल गरेको थियो । त्यही आधारमा टेकेर विशेष सरकारी वकिल कार्यालयले मुद्दा नचल्ने निर्णय गरेको हो । तर, कम्पनीको नाममा नै नआएको जग्गामा कर्जा प्रवाह भएको, धितो बन्धक सम्बन्धी कागजपत्रमा मालपोतको सट्टा नगरपालिकाको छाप भएको, हदबन्दीभन्दा धेरै रहेको जग्गामा कर्जा प्रवाह भएको विषयमा बैङ्कको लापरबाही देखिएको छ ।

यसरी पोल खुल्यो

कुसन प्रधानसँग यस कुमार महर्जन र मुक्तिलाल गौतमले पैसा लिनुपर्ने थियो । सो पैसा माग्दा कुसनले बाराको जग्गाको लालपुर्जा दिएको उनीहरूले प्रहरीलाई बताएका छन् । 

जग्गा राखेर बैङ्कबाट पैसा निकालेको थाहा पाएपछि योगेश्वर अमात्य उनका साथीले खबर गरेका थिए । तर, त्यसअघि नै बैङ्कले नक्कली जग्गा भन्ने थाहा पाएर एसके महर्जन र मुक्तिलाल गौतमलाई बोलाएर उनीहरूको नाममा रहेको काठमाडौँको घरजग्गा धितो लिएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

‘अहिले अमात्यको जग्गा फुकुवा भैसकेको छ’ ब्युरोका डिआइजी धिरज प्रताप सिंहले भने । कुसन सहितको समूहले नक्कली पुर्जा बनाएर गत असारमा बैङ्कबाट ऋण स्वीकृत गराएका थिए । तर, सो कुरा साथीमार्फत योगेश्वरले भदौमा मात्र थाहा पाए ।  त्यसपछि अमात्यले ब्युरोमा उजुर गरेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप