ad
x

पूर्वमा लिम्बू समुदायले चासोक तङ्नाम मनाउँदै

person explore access_timeपुस ४, २०७८ chat_bubble_outline0
file photo

पूर्व क्षेत्रमा बसोबास गर्ने लिम्बू समुदायले आज चासोक तङ्नाम धुमधामका साथ मनाउँदै छन् । प्रत्येक वर्षको धान्य पूर्णिमा दिन लिम्बू समुदायले न्वागी पर्वका रुपमा चासोक तङ्नाम मनाउँदै आएका छन् । खेती प्रणालीको विकासदेखि ती समुदायले चासोक तङ्नाम पर्व मनाउँदै आएको किराँत याङ्थुङ चुम्लुङ ताप्लेजुङका शाखाका सचिव इदिरा मान्याङ्बोले बताइन् । धान पाक्न थालेसँगै थक्याउने समयभरि यो चाड मनाइन्छ ।


आजको दिन किराँत समुदायमा बस्ती चासोक तङ्नाममय बनेको छ । प्रदेश नं १ मा किराँत समुदायको बसोबास भएकाले आज एक दिन सार्वजनिक बिदासमेत दिएको छ । प्रायः पाँचथर, ताप्लेजुङ, तेह्रथुम, इलाम, धनकुटा, झापा, मोरङ, सुनसरीमा चासोक तङ्नामन मनाइन्छ । 



चासोक तङ्नामका बेला थान थापेर प्रकृतिदेवीलाई पुकार्दै नयाँ अन्नबाली पुजिन्छ । सारमा, बाली उब्जाइदिने प्रकृति–जल, जमिन, वायु, अग्नि (सूर्य) लाई विशेषले पुजिन्छ । चासोक तङ्नाम अन्नप्रति सम्मान व्यक्त गर्ने परम्परा पनि हो । लिम्बू जातिले अन्नलाई एक प्रकारले माङ् (देवता) नै मान्दै आएको किराँत याक्थुङचुम्लुङका ताप्लेजुङका उपध्यक्ष डिपी बालुङबाले बताए ।



चासोक तङ्नाम पैँयु फुल्नुका साथै माछा, चरा दक्षिणतिर लागेको उधौली याम (दक्षिणायण) को न्वागी पर्व चासोक तङ्नाम पर्वका रुपमा मानउने गर्दछन् । लिम्बू भाषामा ‘चासोक’को अर्थ नया पाकेको शुद्ध अन्न पवित्र मनले पुजेर तागेरानिङ्वाभुमाङ (प्रकृतिदेवी) लाई अर्पण गर्नु भन्ने हुन्छ । तागेरानिङ्वाभुमाङ जल, जमिन, वायु, अग्नि वा सूर्यका जन्मदाता मानिन्छ । ‘तङ्नाम’ले पर्व÷चाड अर्थात् उत्सव जनाउँछ ।



लिम्बू मुन्धुम (शास्त्र) अनुसार आदिम लिम्बू पुर्खा सावा येत्हाङले काँचो कन्दमूल खोजी खाने गर्दथ्यो । यसबाट उन्मुक्ति पाउन पुर्खाले तपस्या गरे । यसको सुनुवाइ गर्दै तागेरानिङ्वाभुमाङले मानिसलाई आगोसहित पारामा (कोदो जातको पाङ्दुर), क्यावो (फापर), फामु (कागुनी) लगायत बिज दिएको लिम्बू शास्त्रमा उल्लेख गरिएको छ ।



प्राप्त बिज सावा येत्हाङका चेली सिबेरा याक्थुङमा (लिम्बू महिला) ले संरक्षण गरेर कृषि युगको सुरुआत गरे । आगोले मानिस खाद्यान्न पकाएर खान अभ्यस्त भए । यसपछि मानिसले स्वास्थ्यवद्र्धक खाद्यान्न पाउन थाले । यसपछि प्रकृतिसहित खाद्यान्नको बीउ दिने ‘तागरेनिङ्वाभुमाङ’लाई सधन्यवाद आफूले नखाई चोखो अन्न अर्पण गर्न थालियो । यसैको निरन्तरता ‘चासोक तङ्नाम’ अहिले पनि कायम रहेको लिम्बू समुदायमा रहिआएको छ । 



धान र कोदो पाकेपछि लिम्बू जातिले चासोक गर्नैपर्ने चलन छ । चासोक पूजा आआफ्नो घरमा फेदाङ्मा (लिम्बू पुरेत) बोलाई गर्न गर्दछ । फेदाङ्माले तागेर निङ्वाभुमाङलाई पुकार्दै नयाँ अन्न खान पाउने अनुमतिको माग गर्छन् । खाँदा, रोगव्याध नलागोस्, स्वस्थ जीवन जिउन पाइयोस् भन्ने कामना पनि गरिन्छ । फेरि पनि धेरै अन्न फलाउनमा सहयोगको याचनासमेत गरिन्छ ।



चासोकका बेला कलात्मकरूपमा चिटिक्कको पुतली झलक दिने धानका बाला बुनिन्छ । यसलाई घरको पनि शोभा बढ्नेगरी ढोका छेउमा झुन्ड्याइन्छ । यसरी आफूहरूको पहिचानसहितको सभ्यता बोक्ने चासोक तङ्नाम लिम्बू जातिले आफ्नो मौलिकताको मुख्य चाड लिने गर्दछ ।



‘चासोक तङ्नाम’ विभिन्न धार्मिक, ऐतिहासिक, सांस्कृतिकस्थलमा आयोजना गरिन्छ ।  संस्थागतको चासोक तङ्नाम मनाउनेक्रममा यसलाई सांस्कृतिक पर्यटनसँग पनि जोड्न थालिएको छ । चासोक पर्यटन प्रवद्र्धन गर्न लिम्बूवान क्षेत्रका विभिन्न ठाउँमा, मेलासमेत लाग्न लगाइन थालेका छन् ।  
 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

X