शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : राजनीतिमै सक्रिय रहने रामचन्द्र पौडेलको घोषणा

प्रचण्डको दस्ताबेज तयार
बिहीबार, ०८ पुस २०७८, २१ : १०
बिहीबार, ०८ पुस २०७८

आज मिति २०७८ साल पुस महिनाको ८ गते बिहीबार । आज देशभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको नियमित बुलेटिन ‘रातोपाटी ब्रिफिङ’ मा प्रस्तुत गरिएको छ–

१. रामचन्द्र पौडेल राजनीतिमै रहने

काँग्रेस नेता रामचन्द्र पौडेलले अझै राजनीतिमै सक्रिय रहने घोषणा गरेका छन् । सहकर्मीहरूले चुनाव नलडी जोगिएर बस्नुपर्छ भनेपछि मात्रै आफू चुनावी प्रतिस्पर्धामा सहभागी नभएको उनको भनाइ छ ।  उनले यसरी अलग बस्नु राजनीतिक यात्रामा विश्राम नभइ केही क्षणको अल्पविराम मात्रै भएको एक वक्तव्यमार्फत उनले बताएका छन् ।

२. जिम्मेवारीबाट बिदा भयो प्राधिकरण

भूकम्पले भत्काएका भौतिक संरचनाको पुनर्निर्माणको काम गर्न गठन भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आफ्नो ६ वर्षे कार्यकाल पूरा गरी बिदा भएको छ । बिहीबार सिंहदरबारस्थित प्राधिकरणको कार्यालय परिसरमा ‘हस्तान्तरण तथा बहिर्गमन’ कार्यक्रम गर्दै प्राधिकरणले आफ्नो दायित्व र जिम्मेवारी राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण,शहरी विकास मन्त्रालय लगायतलाई हस्तान्तरण गरेको छ ।

३. प्रचण्डको दस्ताबेज तयार

राष्ट्रिय सम्मेलनको तयारीमा रहेको नेकपा माओवादी केन्द्रले सम्मेलनमा पेश गर्ने दस्तावेजमाथि छलफल गर्न स्थायी कमिटी बैठक बोलाएको छ । पुस ११ गतेबाट सुरु हुने सम्मेलनमा अध्यक्ष प्रचण्डले पार्टीलाई क्रान्तिकारी रुपान्तरण गर्ने दस्तावेज पेश गर्ने बताउँदै आएका छन् । त्यसका लागि उनले झण्डै १५ दिन लगाएर दस्तावेज लेखनको काम बिहीबार सकेका हुन् । सोही दस्तावेज स्थायी कमिटीमा छलफल गरेर अन्तिम रुप दिन माओवादीले बैठक बोलाएको बुझिएको छ ।

४. सरकारमाथि खनिए ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशी विदेशी प्रतिक्रियावादी शक्तिहरुले विकासको पक्षमा काम गर्ने आफ्नो नेतृत्वको सरकार ढालेर प्रतिक्रियावादीहरुको सरकार बनाइएको बताएका छन् । बिहीबार पर्सामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले देश विकास गर्ने आफ्नो नेतृत्वको सरकार ढालेर प्रतिक्रियावादीहरुको सरकार बनाइएको बताएका हुन् ।

​५. सेयरबजार

लगातार तेस्रो दिन पनि सेयर बजार परिसूचक नेप्सेमा सुधार आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज बिहीबार नेप्से सूचक १२.५३ अंकले बढ्दै २५ सय २०.२३ बिन्दुमा उक्लिएको हो ।  गत बुधबार ९२ अंक माथिले नेप्सेमा वृद्धि आएको थियो ।

​६. कोरोना अपडेट

पछिल्लो २४ घण्टामा देशभर थप २९३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । ११ हजार ६२६ जनामा गरिएको परीक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जनाएको छ । सोही अवधिमा २६३ जना निको भएका छन् ।

यस्तै बितेको २४ घण्टामा २ जना संक्रमितको मृत्यु समेत भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार ५८१ पुगेको छ भने कुल संक्रमित पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख २६ हजार र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९६ हजार पुगेका छन् । संक्रमितमध्ये हालसम्म करिब ८ लाख ९ हजार जना निको भएका छन् ।

​७. शोभराजका मुद्दा

बिकिनी किलरको रुपमा कुख्याती कमाएका फ्रान्सेली नागरिक चाल्र्स शोभराजको मुद्दामा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले सो आदेश जारी गरेको हो । उमेर हदका कारण कारागारबाट रिहाइ गराइपाउँ भन्दै शोभराजले दिएको बन्दी प्रत्यक्षीकरणको निवेदनमा बिहीबार सिन्हाले प्रधानमन्त्री मन्त्रिपरिषद्को कार्यालय र कारागारको नाममा आदेश जारी गर्दै उमेर पुगिसकेका शोभराजलाई के कारणले रिहा नगरेको भन्दै कारण माग गरेका छन् ।

​८. लाग्ला त महाभियोग ?

नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाअभियोग लाग्नसक्ने सङ्केत गरेका छन् । बिहीबार सर्वोच्च अदालतमा बार एसोसिएसनको नियमित विरोधको कार्यक्रम सकिएपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश जबराको बहिर्गमनका लागि बारले राखेको प्रस्तावमा राजनीतिक दलका नेताहरूको ध्यानाकर्षण भएको सङ्केत पाएको बताएका हुन् ।

​९.रञ्जु दर्शनाले छाडिन् पार्टी

विवेकशील साझा पार्टीकी नेतृ रञ्जु दर्शनाले पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्यागको घोषणा गरेकी छन् । बिहीबार एक विज्ञप्तिमार्फत दर्शनाले पौष ८ गतेबाट अर्को निर्णय नलिएसम्म स्वतन्त्र नागरिकको भूमिकामा रहने स्पष्ट गरेकी हुन् ।

१०. यो पनि..

प्रदेश २ को प्रदेशसभा बैठकमा प्रदेश नामकरणका लागि प्रस्ताव पेस भएको छ । सत्तारुढ दलभित्रै प्रदेशको नामकरणमा मतभिन्नता देखिएको छ । बिहीबार बसेको प्रदेशसभाको आठौं अधिवेशनको दोश्रो बैठकमा ‘मधेस प्रदेश’, ‘जानकी प्रदेश’, ‘मध्यमधेश प्रदेश’ र ‘मिथिला भोजपुरा’ नाम पेस भएको हो ।

​शिक्षा तथा स्वास्थ्य समितिले मेडिकल कलेजमा सरकारले तोकेभन्दा बढी शुल्क लिएको विषयमा सत्यतथ्य बुझेर समस्या समाधान गर्न सरकारलाई निर्देशन दिएको छ । बिहीबार बसेको समितिको बैठकले शिक्षा सम्बन्धी विधेयक तथा ऐनसमेत छिटो ल्याउन सरकारलाई घचघच्याएको छ ।

​नेकपा एमाले बाँकेका उपसचिव प्रमोद धिताल नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् । आज कोहलपुरमा आयोजित कार्यक्रममा समाजवादीका अध्यक्ष माधवकुमार नेपालले धिताललाई पार्टी प्रवेश गराएका हुन् ।  

​थप समाचार

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप