बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

काँग्रेस रूपान्तरणका १२ सूत्र

शनिबार, १० पुस २०७८, २० : ००
शनिबार, १० पुस २०७८

पुस्तान्तरण र रूपान्तरणको तीव्र बहसका बीच सम्पन्न नेपाली काँग्रेसको चौधौँ महाधिवेशनले सभापति शेरबहादुर देउवालाई सर्वशक्तिमान बनाइदिएको छ । महाधिवेशनको मत परिणामअनुसार तीन चौथाइभन्दा बढी जनमत देउवाको पक्षमा देखिएको छ । पदाधिकारी र केन्द्रीय समितिमा देउवा बलशाली बनेका छन् । १ सय ३४ निर्वाचितमध्ये पदाधिकारीमा (कोषाध्यक्ष र प्रवक्तासमेत जोड्दा) १० जना देउवा पक्षका छन् । केन्द्रीय सदस्यमध्ये देउवापक्षका ९९ छन् । केन्द्रीय समितिमा ३३ जना मनोनीत गर्न पाउने सभापतिको अधिकार बाँकी नै छ । विधानअनुसार गठन हुने कार्यसम्पादन समिति र संसदीय समितिमा पनि देउवालाई अब कसैले चुनौती दिन सक्ने देखिँदैन । यसको अर्थ काँग्रेसमा अब देउवाले जे चाहन्छन्, त्यही गर्न सक्छन् भन्ने हो ।

चौधौँ महाधिवेशनको परिणामसँगै काँग्रेसभित्र पार्टी सहमति, सहकार्य र एकताको विचार र भावनाअनुरूप चलाउने कि विधानको अक्षर हेरेर भन्ने यक्षप्रश्न खडा भएको छ । सभापति देउवा काँग्रेसमा सम्पूर्ण एकता चाहन्छन् । सबैलाई समेटेर सबैको भावना प्रतिनिधित्व हुनेगरी निर्णय गर्ने देउवाको स्वभाव नै हो । तर, पार्टी विधानअनुसार चल्नुपर्ने आवाज सबैभन्दा धेरै देउवातिरै चोर औँला ठड्याएर लगाउने गरिएको छ । अब देउवालाई चोर औँला ठड्याउँदा आफूतिरै फर्किएका चारवटा औँलाको मर्म नबुझेझैँ गर्नेहरूले के भन्छन् भन्ने सवाल पनि महत्वपूर्ण हुन आउँछ । सभापति देउवाका लागि सबैभन्दा सहज विधानअनुरूप पार्टी चलाउनु हुनेछ । तर, ‘कानुनको साँघुरो किल्लाभित्र न्यायको हत्या नहोस्’ भन्ने वीपी कोइरालाको मार्गदर्शनबाट प्रेरित सभापति देउवाले सहज बाटोभन्दा पार्टीभित्र सम्पूर्ण एकता कायम हुने बाटो नै तय गर्नु उपयुक्त देखिन्छ । देउवाका लागि अब गुट–उपगुटबाट बच्ने र इतिहास रच्नेभन्दा अर्को कुनै स्वार्थ छैन । अब देउवाको नेतृत्वमा अघि बढ्ने रूपान्तरणसहितको काँग्रेसको मार्गचित्र निम्नअनुसार हुनु उपयुक्त देखिन्छ ।

१. पार्टीभित्र सम्पूर्ण एकता

नेपाली काँग्रेसको विधानअनुसार सभापति देउवा दोस्रो कार्यकालका लागि अर्थात् अन्तिम पटकका लागि सभापति निर्वाचित भएका हुन् । देउवाका लागि पार्टीभित्र ‘तेरो–मेरो’ भन्ने कोही पनि छैनन् । देउवा काँग्रेसमा नेताहरूका पनि नेता हुन् । त्यसैले पार्टीभित्र सम्पूर्ण एकता कायम हुनेगरी सबैलाई योग्यता र क्षमताअनुसारको जिम्मेवारी दिन कुनै कन्जुस्याइँ गर्नुहुँदैन । विभागहरूको गठन तुरुन्तै गरिनुपर्दछ । ‘राइट म्यान राइट प्लेस’ कामको मूल्याङ्कन र त्यहीअनुसार दण्ड र पुरस्कारको संस्कृति काँग्रेसमा तत्काल सुरु हुनु जरुरी छ । अब सभापति देउवा विधानलाई टेक्ने र सबैको भावना समेट्ने गरी सन्तुलनकारी भूमिकामा अघि बढ्नुपर्छ ।

देउवा काँग्रेसमा नेताहरूका पनि नेता हुन् । त्यसैले पार्टीभित्र सम्पूर्ण एकता कायम हुनेगरी सबैलाई योग्यता र क्षमताअनुसारको जिम्मेवारी दिन कुनै कन्जुस्याइँ गर्नुहुँदैन । विभागहरूको गठन तुरुन्तै गरिनुपर्दछ । ‘राइट म्यान राइट प्लेस’ कामको मूल्याङ्कन र त्यहीअनुसार दण्ड र पुरस्कारको संस्कृति काँग्रेसमा तत्काल सुरु हुनु जरुरी छ ।

२. चलायमान भातृसंस्था 

नेपाली काँग्रेसका भातृसंस्थाहरू चलायमान हुन सकेका छैनन् । वर्षौंदेखि लथालिंग अवस्थामा पुगेका भातृसंस्थामध्ये तरुण दल र नेविसंघका बहालवाला अध्यक्षहरू काँग्रेस केन्द्रीय समितिमा निर्वाचित भइसकेका छन् । हाल यी महत्वपूर्ण संस्थाको नेतृत्व खाली भएको अवस्था छ । त्यसैले नेविसंघ, तरुणदल, महिलासंघ, दलित संघलगायत सबै भ्रातृ तथा शुभेच्छुक संस्थाहरूमा नयाँ नेतृत्व चयन गरेर पार्टीलाई गतिशील बनाउन ढिलाइ गर्नुहुँदैन ।

३. चुनावकेन्द्रित रणनीति

नेपाली काँग्रेसले अब स्थानीय तहदेखि प्रदेश र संघीय संसदको चुनावकेन्द्रित रणनीति तत्काल तय गरिहाल्नुपर्दछ । गठबन्धन सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री नेपाली काँग्रेसको सभापति पुनः निर्वाचित भएको सन्दर्भमा गठबन्धनका अन्य दलहरूसँगको सहकार्य र प्रतिस्पर्धाको राजनीतिबीचको स्पष्ट लक्ष्मणरेखा तय हुनुपर्दछ । काँग्रेस एक्लै निर्वाचनमा प्रतिस्पर्धामा उत्रनुपर्दछ । निर्वाचनमा गठबन्धनलाई बढावा दिनु काँग्रेस कार्यकर्ताको मर्म र भावनाविपरित हुनेछ । तथापि, दुःखमा साथ दिने तथा सहकार्यको हात फैलाउने शीर्ष नेताहरूलाई सघाउने रणनीतिक योजना काँग्रेससँग हुनु जरुरी छ ।

४. सुशासन, महँगी नियन्त्रण र राहत

नेपाली काँग्रेसको महाधिवेशन उद्घाटन सत्रमा प्रधानमन्त्री तथा सभापति देउवाले ओलीराजको अन्त्य र वर्तमान सरकारको गठनपछि जनमानसमा त्राहिमामको अवस्था नरहेको बताएका थिए । देउवा नेतृत्वको सरकार बनेपछि स्वेच्छाचारी शासनको अन्त्य भएको, शक्ति सन्तुलन कायम भएको, शान्ति सुरक्षा र भयमुक्त वातावरण तयार भएकै छ । तर, सुशासन र महँगी नियन्त्रणमा पर्याप्त काम हुन सकेको छैन । महामारीको समेत मार खेपेका विपन्न वर्गले राहतको अनुभव अझै गर्न सकेका छैनन् । त्यसैले राहतको प्याकेज सार्वजनिक गर्न सुशासन र महँगी नियन्त्रणको प्रभावकारी काम अघि बढाउन काँग्रेस नेतृत्वको वर्तमान सरकारले पहलकदमी लिनु जरुरी छ । सरकार जनताको साथमा छ भन्ने सन्देश व्यवहारतः प्रमाणित गर्न सक्नुपर्दछ ।

५. दस वर्षे योजना

नेपाली काँग्रेसले अबको दस वर्षभित्र नेपाललाई कहाँ पुर्याउन चाहन्छ ? आर्थिक रूपान्तरण र सामाजिक न्यायको पक्षमा काँग्रेसको योजना के हो ? समृद्ध देश बलियो काँग्रेस बनाउने सभापति देउवाको कार्ययोजनालाई कसरी साकार बनाउने हो ? यी प्रश्नहरूको जवाफ अब काँग्रेससँग जनताले खोजिरहेको छ । नवनिर्वाचित युवा महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले काँग्रेसको दस वर्षे योजनाको खाका तत्काल तयार गरी पार्टीमा पेस गर्नुपर्दछ । त्यसलाई काँग्रेसको केन्द्रीय समिति हुँदै नीति तथा विधान अधिवेशनमा पेस गर्ने र पारित गरी लागू गर्नेतर्फ अग्रसर हुनुपर्दछ ।

काँग्रेस नेताहरूको बोली व्यवहार र आचरणमा नम्रता, भद्रता भन्दा मैमत्त र बढप्पन प्रकट हुने गरेको देखिन्छ । लोकतन्त्रमा कोही राजा र कोही रैती हुँदैनन्, सबैलाई सम्मान गर्ने समानताको व्यवहारमा काँग्रेस नेताहरू खरो उत्रन सक्नुपर्दछ ।

६. शिक्षा र स्वास्थ्यमा आमूल सुधार

सामुदायिक शिक्षा र सरकारी स्वास्थ्य संस्थाहरूको बेहाल अवस्थाप्रति सबै भुक्तभोगी छन् । यसको सुधारका लागि तत्काल पहल थाल्न ढिला भइसकेको छ । ‘अस्पताल गए सम्पत्ति स्वाहा, नगए ज्यान’ भन्ने मनोविज्ञान चिर्न काँग्रेस सफल हुनुपर्दछ । सामुदायिक विद्यालयमा छोराछोरी पढाउन उत्साह उत्पन्न गर्ने गरी सामुदायिक शिक्षामा सुधारको पहल काँग्रेसले लिनु जरुरी छ ।

७. नेपालको धन : जलस्रोत कृषि र पर्यटन

ऊर्जा, कृषि र पर्यटनको माध्यमबाट रोजगारी सिर्जना उत्पादन वृद्धि र औद्योगीकरणको माहोल तयार गरेर बिदेसिएका लाखौँ युवाहरूलाई स्वदेशमै फर्कौं र बसौँ–बसौँ लाग्ने वातावरण तयार गर्ने दायित्व काँग्रेसले भुल्नु हुँदैन ।

८. प्रविधिमैत्री संरचना र भएका कामको प्रचार

काँग्रेसको केन्द्रीय कार्यालय व्यवस्थापनमा आमूल सुधारको जरुरी छ । देशभरका कार्यकर्ताको गुनासो र समस्या तत्काल सुन्न र व्यवस्थापन गर्न सक्ने संयन्त्र तयार हुनुपर्दछ । झन्डै १० लाख क्रियाशील सदस्य भएको पार्टीको कुनै एक सदस्यलाई आपत पर्दा एक व्यक्तिको एक रुपैयाँ भन्ने अवधारणाअनुसार तत्काल १० लाख रुपैयाँ सहयोग उपलब्ध हुन सक्ने वातावरण तयार गरिनुपर्दछ । केन्द्रको निर्णय पत्र, परिपत्र तत्काल तल्लो तहसम्म पुग्ने गरी प्रविधिको प्रयोगलाई चुस्तदुरुस्त बनाउन सक्नुपर्दछ । काँग्रेस नेतृत्वमा विगतमा थुप्रै आर्थिक, सामाजिक सुधारका प्रयासहरू भएका छन् । वर्तमान सभापति देउवाकै नेतृत्वमा पनि सुधारका दर्जनौँ काम भएका छन् । तर, त्यसको प्रचार गर्दा हामी ओझेलमा पर्छौं, देउवा नायक बन्छन् भन्ने मान्यताका आधारमा पनि पूर्वाग्रहवश त्यसको प्रचार भएको छैन, जसको घाटा सिंगो काँग्रेसले बेहोर्नुपरिरहेको छ । अब काँग्रेसले यसतर्फ पनि ध्यान पुर्याउन सक्नुपर्दछ ।

९. नम्र बोली, समानताको व्यवहार

नेपाली काँग्रेसको महाधिवेशन उद्घाटन समारोहमा महामन्त्री तथा नवनिर्वाचित उपसभापति पूर्णबहादुर खड्काले हाम्रा बोली व्यवहार र आचरणले तपाईंहरूलाई अपमान महसुस भएको भए क्षमा दिनुहोला भनेर समग्र काँग्रेसजनसँग माफी माग्नुभएको थियो । साँच्चै काँग्रेस नेताहरूको बोली व्यवहार र आचरणमा नम्रता, भद्रता भन्दा मैमत्त र बढप्पन प्रकट हुने गरेको देखिन्छ । लोकतन्त्रमा कोही राजा र कोही रैती हुँदैनन्, सबैलाई सम्मान गर्ने समानताको व्यवहारमा काँग्रेस नेताहरू खरो उत्रन सक्नुपर्दछ ।

१०. जनताको साथमा काँग्रेस 

‘युवा हाम्रा साथी भरोसा काँग्रेसमाथि’ भन्ने दृष्टिकोणअनुसार सामाजिक आर्थिक परिवर्तनका लागि युवाहरूलाई सहभागी गराउनुपर्दछ । जनताको सुख–दुःखमा साथ दिने, जनताकै बीचमा रमाउने, चर्का भाषण र नारामा होइन, व्यवहारमा काँग्रेस भेटिने वातावरण तयार गर्नुपर्दछ । ठूल्ठूला दर्शन होइन, स–साना सहयोग र सुधार आमजनमानसले खोजिरहेका छन् । दुःखमा सामान्य मद्दत र राहत एवं सुखमा साथ दिने साथी र सहयोगी नेता आमजनताले खोजिरहेका छन् । यसतर्फ काँग्रेसको ध्यान जानु जरुरी छ । रूपान्तरणका यस्ता प्रयासहरू थालनी गरे मात्र काँग्रेसले जनताको मत र भरोसा प्राप्त गर्न सक्नेछ । पुरानै पारा र ढर्रा कायम रहिरहने हो भने काँग्रेसको विनाशलाई कसैले रोक्न सक्ने छैन ।

११.सन्तुलित विदेश नीति

आजको दुनियाँ विश्वव्यापीकरणको दुनियाँ हो । अन्तर्राष्ट्रिय सम्बन्ध र छिमेकसँगको पारस्परिक सहयोगविना कुनै पनि मुलुक अघि बढ्न सक्दैन । अझ नेपालजस्तो भारत र चीनजस्ता विशाल छिमेकी मित्रराष्ट्रको बीचमा रहेको नेपालले आफ्नो राष्ट्रिय स्वाभिमान र स्वार्थलाई अक्षुण्ण राख्दै अन्तर्राष्ट्रिय सम्बन्ध स्थापित गर्न सक्नुपर्छ । नेपालको सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी भएको नाताले काँग्रेसले यी सबै पक्षलाई ध्यानमा राखेर दुवै छिमेकी र अन्य मित्रराष्ट्रहरूसँगको असल र दिगो सम्बन्धमा आधारित परराष्ट्र नीति तय गरी अघि बढ्नुपर्दछ ।

१२. विदेशमा रहेका नेपालीलाई मताधिकारको ग्यारेन्टी

नेपाली काँग्रेसले विदेशमा श्रम गर्न बाध्य सबै नेपालीलाई मतदानको अधिकार सुनिश्चित गर्नेतर्फ ध्यान दिनु जरुरी छ । बाध्यताले आमचुनावमा सहभागी हुन नपाउने अवस्थाको अन्त्य गर्दै श्रम गन्तव्य मुलुकबाटै मतदान गर्न पाउने नागरिक अधिकार रक्षाका लागि काँगे्रसले पहलकदमी लिनुपर्दछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विजयराज अधिकारी
विजयराज अधिकारी
लेखकबाट थप