१० बजे, १० समाचार : भारत र पाकिस्तान युद्धविराम गर्न सहमत, दुर्गा प्रसाईंले गरे करोडौँ ऋण दुरुपयोग
काठमाडौँ । आज मिति २०८२ साल वैशाख महिनाको २७ गते शनिबार । आज दिनभर भएका मुख्य मुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा १० बजे १० समाचार लिएर उपस्थित भएका छौँ–
१.भारत र पाकिस्तान युद्धविराम गर्न सहमत
भारत र पाकिस्तान युद्धविराम गर्न सहमत भएका छन्। यो दाबी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका हुन्।
ट्रम्पले भने, ‘अमेरिकाको मध्यस्थतामा हिजो राति लामो छलफल पछि, मलाई यो जानकारी गराउन पाउँदा खुसी लागेको छ कि भारत र पाकिस्तानले तुरुन्तै र पूर्ण रूपमा आक्रमणहरू रोक्न सहमत भएका छन्। म दुवै देशलाई सामान्य ज्ञान र समझदारीपूर्ण निर्णय लिएकोमा बधाई दिन्छु।’
२. संविधान मिचेर सरकार ढालेको प्रचण्डको आरोप
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान मिचेर आफ्नो सरकार ढालेको बताएका छन् । उनले पछिल्लो पटक सरकारको नेतृत्व गर्दा सामाजिक न्याय, सुशासन, र आर्थिक सुधारका अभियानहरू सञ्चालन गर्दै गर्दा बिचौलिया र दलालहरूले सरकार ढालेको उल्लेख गरेका हुन् ।
३. दुर्गा प्रसाईंले गरे ऋण दुरुपयोग
मेडिकल व्यवसायी दुर्गा प्रसाईंले एउटा प्रयोजनका लागि बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर अन्य प्रयोजनमा दुरुपयोग गर्ने गरेको भेटिएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले यसबारे अहिलेसम्म गरेको अनुसन्धानबाट प्रसाईंले ३ वटा कम्पनीको नाममा लिएको साढे २७ करोड रुपैयाँ जटिल कारोबारमार्फत ‘राउण्ड ट्रिपिङ्ग’ गराएको निष्कर्ष निकालेको हो ।
४. सांसद कान्छारामको लापर्बाही
केही दिन अघिमात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जा राज्यमन्त्रीबाट बर्खास्त गरेका नेपाली कांग्रेसका सांसद पूर्णबहादुर तामाङ उर्फ कान्छारामको निर्माण कम्पनी ‘कान्छाराम कन्स्ट्रक्सन’ले जिम्मा लिएका वीरेन्द्रनगरका १५ वटा सडकको काम अझै पूरा हुन सकेको छैन । दोस्रो पटक थपिएको म्याद सकिएको पाँच महिना बितिसक्दा पनि उक्त कम्पनीले सडक निर्माणको काममा तदारुकता नदेखाएको हो ।
५. राजाहरुले देश कंगाल बनाएको प्रधानमन्त्रीको आरोप
प्रधानमन्त्री केपी शर्मा ओलीले राजाहरुले देशलाई कंगाल बनाएको आरोप लगाएका छन् । शनिबार काठमाडौँमा दोस्रो राष्ट्रिय वन संवर्द्धन गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।
६. नयाँ बजेटमा कार्यक्रम हेरफेर गर्ने सरकारीको तयारी
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटलाई कार्यान्वयनयोग्य तथा नतिजामुखी बनाउन बजेटमा राखिने योजना तथा कार्यक्रम व्यापक हेरफेर गरिने बताएका छन् ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आज यहाँ आयोजना गरेको ‘विनियोजन कुशलता र वास्तविक बजेट’ विषयक पूर्वबजेट छलफलमा अर्थमन्त्री पौडेलले स्रोतको चुनौतीपूर्ण अवस्थालाई हेरेर योजनाको प्राथमिकीकरण गरिने बताए ।
७. लिग–२ क्रिकेटका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा
आईसीसी पुरुष विश्वकप लिग–२ क्रिकेटका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो ।
टोलीमा दीपेन्द्र सिंह ऐरीलाई उपकप्तान बनाइएको छ ।
८. बागमतीमा आगामी आर्थिक वर्षको बजेटमा भार
बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष बहुवर्षे र स्रोत सुनिश्चितता मार्फत् १३ अर्बभन्दा बढी आर्थिक दायित्व सिर्जना गरेको छ । प्रदेश सरकारले विभिन्न योजनालाई बहुवर्षे र स्रोत सुनिश्चितता दिएर १३ अर्ब २० करोड ६२ लाख रुपैयाँ आर्थिक दायित्व सिर्जना गरेको हो ।
९. भारत–पाकिस्तान तनावले नेपालमा आर्थिक संकटको जोखिम
पूर्व गभर्नर तथा वरिष्ठ अर्थशास्त्री डा। चिरञ्जीवी नेपालले भारत र पाकिस्तानबिच बढ्दो तनावले नेपालमा गम्भीर आर्थिक संकट ल्याउने खतरा रहेको बताएका छन्।
पूर्व सांसद मञ्चद्वारा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपाल भारतमाथि अत्यधिक निर्भर रहेको बताउँदै यदि भारत–पाकिस्तानबिचको द्वन्द्व लम्बियो भने यसको प्रत्यक्ष असर नेपाली अर्थतन्त्रमा पर्न सक्ने चेतावनी दिए।
१०.स्वच्छ हावाको लागि टुँडिखेलमा मानव साङ्लो
स्वच्छ हावाको लागि ध्यानाकर्षण गर्न आज टुँडिखेलमा मानव साङ्लो बनाइएको छ । स्वच्छ हावा मानव अधिकार भएको भन्दै सहभागीहरूले साइकलमैत्री सहर बनाउन सरकारको ध्यानाकर्षण गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
-
तीन मौसमी वायुको असर : आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण