शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

बालसुधार गृहमा रहेका आधा बालकमाथि जबरजस्ती करणी मुद्दा !

कैद सजाय भोगिरहेका ९५ प्रतिशत अपराधी पुरुष, अधिकांश करणी र लागू औषध मुद्दाका दोषी
बुधबार, १४ पुस २०७८, १४ : २९
बुधबार, १४ पुस २०७८

देशभरका कारागारहरूमा रहेका थुनुवा र कैदीबन्दीमध्ये करिब ४४ प्रतिशत कैदीबन्दीहरु ३० वर्ष मुनिका रहेको कारागार व्यवस्थापन विभागले जनाएको छ । हाल कारागारमा रहेका २५ हजार ९९ थुनुवा र कैदीबन्दीमध्ये ११ हजार ४६ जना थुनुवा र कैदीबन्दी ३० वर्षभन्दा मुनिका रहेका विभागका निर्देशक श्रवणकुमार पोखरेलले बताए । 

त्यसैगरी देशभरका कारागारमा रहेका कैदीबन्दीमध्ये ३१ देखि ४० वर्ष उमेर समूहका ७ हजार ६ सय ५ जना कैदीबन्दी रहेका छन् । यो कुल कैदीबन्दीको ३० प्रतिशत हुन आउँछ । त्यसैगरी ४१ देखि ६० वर्षको अर्को उमेर समूहमा करिब २१ प्रतिशत थुनुवा र कैदीबन्दी रहेका छन् । ५ हजार २७४ जना थुनुवा र कैदीबन्दी ४१ देखि ६० वर्ष उमेर समूहका रहेका छन् । ६० वर्ष माथिका थुनुवा र कैदीबन्दीको सङ्ख्या १ हजार १७४ जना रहेका छन् जुन कुल कैदीबन्दीको करिब ५ प्रतिशत हो । 

१०३० बालबालिका सुधारगृहमा, अधिकांश करणी मुद्दामा दोषी र अभियुक्त

विभिन्न अपराधमा दोषी ठहर भई सजाय भोगिरहेका वा मुद्दा पुर्पक्षको क्रममा रही बाल सुधार गृहमा रहेका बालबालिकाको सङ्ख्या १ हजारभन्दा बढी रहेको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका अनुसार हाल देशभरका बाल सुधारगृहहरुमा अहिले १ हजार ३० जना बालबालिका रहेका छन् । 

देशभर रहेका ८ वटा बाल सुधारगृह मध्ये सबैभन्दा धेरै भक्तपुर बाल सुधार गृहमा २७१ जना बालबालिकालाई राखिएको छ । भक्तपुरमा २३८ जना बालक र ३३ जना बालिकालाई राखिएको मन्त्रालयले बताएको छ । 

त्यस्तै मोरङ बाल सुधार गृहमा १९७ जना, बाँके बाल सुधार गृहमा १६७ जना, रुपन्देहीमा १०८ जना, पर्सामा १०१ जना, कास्कीमा ९३ जना, मकवानपुरमा ५६ जना र डोटीमा ३७ जना बालकले बाल सुधार गृहमा बन्दी जीवन बिताइरहेका छन् । 

बाल सुधार गृहमा रहेका अधिकांश बालकहरू जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएका र अभियोग लागेकाहरू रहेका छन् । एक बाल सुधार गृहका अनुसार बाल सुधार गृहमा ल्याइएका बालकमध्ये ५० प्रतिशतभन्दा बढी बालकहरू जबरजस्ती करणी मुद्दामा सजाय काटिरहेका वा मुद्दाको पुर्पक्ष कुरिरहेका बालकहरू रहेका छन् । त्यसैगरी बाल सुधार गृहमा रहेका करिब २० प्रतिशत बालबालिकाहरू लागू औषधको कारोबार, ओसारपसार आदिमा संलग्न भएको अभियोग लागेका र ठहर भएकाहरू छन् । केही बालबालिकाहरू कर्तव्य ज्यान लगायतका अन्य मुद्दामा बाल सुधार गृहमा ल्याइएकाहरू छन् । 

३० भन्दा कम र ६० भन्दा माथिका धेरै कैदीबन्दी बलात्कारसँग सम्बन्धित

कारागार व्यवस्थापन विभागका निर्देशक श्रवणकुमार पोखरेलका अनुसार कारागारहरूमा रहेका कैदीबन्दी र थुनुवामध्ये करिब ३२ प्रतिशतका हाराहारीका थुनुवा र कैदीबन्दीहरु बलात्कारका घटनासँग सम्बन्धित आरोपी र कैदीहरू रहेका छन् । उनीहरूमध्ये अधिकांशको उमेर ३० वर्षभन्दा कम र ६० वर्षभन्दा माथिका रहेको पोखरेलले बताए । उनले भने, ‘कारागारहरूमा रहेका कैदीबन्दी र थुनुवाको विश्लेषण गर्ने हो भने जेलमा रहेका ३० वर्षभन्दा कम उमेर र ६० वर्षभन्दा माथिका धेरैजसो कैदीबन्दीहरु कुनै न कुनै प्रकारको बलात्कारसँग सम्बन्धित घटनाका दोषी र आरोपी रहेका छन् । अपराधका प्रकृति छुट्याउने हो भने अधिकांश जबरजस्ती करणीका घटनामा संलग्न भएको आरोपमा थुनामा पठाइएका र दोषी ठहर भएकाहरू छन् ।’

पोखरेलले अगाडि भने, ‘६० वर्षभन्दा माथिका कैदीबन्दीहरुको विश्लेषण गर्दा पनि उनीहरूमध्ये अधिकांश जबरजस्ती करणी मुद्दामा अभियुक्त र कैदीहरू रहेका छन् । कतिपय तथ्याङ्क आफैमा अचम्मको लाग्ने प्रकृतिका छन्, तर पनि कारागारहरूको तथ्याङ्क विश्लेषण गर्ने हो भने सत्य त्यही नै हो ।’

३०–६० उमेरका धेरैजसो कैदीबन्दी कर्तव्य ज्यान र लागू औषध मुद्दाका

विभागका निर्देशक पोखरेलका अनुसार ३० देखि ६० वर्ष उमेर समूहका थुनुवा र कैदीबन्दीमध्ये धेरैजसो कर्तव्य ज्यान र लागू औषध मुद्दाका अभियुक्त र कैदीहरू रहेका छन् । कर्तव्य ज्यान मुद्दाका दोषीहरू लामो समय कैदमै बस्नुपर्ने भएकाले पनि यो उमेर समूहका कैदीबन्दीमध्ये धेरैजसो कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएकाहरू छन् । त्यसैगरी लागू औषधको कारोबारमा संलग्न भएका अभियुक्त र दोषीहरू पनि अधिकांश यही उमेर समूहका थुनुवा र कैदीबन्दी रहेको पोखरेलले बताए । 

२८ सय कैदीलाई जन्मकैदका सजाय

हाल देशभरका कारागारहरूमा रहेका २५ हजार ९९ थुनुवा र कैदीबन्दीमध्ये १४ हजार ८०३ जना अदालतबाट दोषी ठहर भई जेल जीवन बिताइरहेका कैदीबन्दी रहेका छन् । अदालतबाट दोषी ठहर भइसकेका १४ हजार ८०३ जनामध्ये २ हजार ८ सय ९ जना कैदीबन्दी जन्म कैदको फैसला सुनाइएका कैदीहरू रहेका छन् । विभागका अनुसार उक्त सङ्ख्याको कैदीबन्दीमध्ये अघिल्लो कानुनबाट जन्मकैद सुनाइएका (२० वर्षको सजाय) र नयाँ कानुनबाट जन्मकैद सुनाइएका (२५ वर्ष कैद) दुवै कैदीहरू रहेका छन् । 

त्यस्तै ३ वर्षभन्दा बढी समयको कैद सजाय सुनाइएका ८ हजार ६७० जना कैदीहरू देशभरका कारागारहरूमा कैदी जीवन बिताइरहेका छन् । कुल कैदीमध्ये ३ हजार ३२२ जनाले दुई तिहाइ कैद भुक्तान गरिसकेका छन् । 

१० हजार कैदी एसएलसीभन्दा कम पढेका, १६ जना डिग्री पढेका

कारागार व्यवस्थापन विभागका अनुसार कुल १४ हजार ८०३ जना कैदीमध्ये १० हजार ८ सय २ जना कैदी एसएलसीसम्म पनि नपढेका व्यक्ति रहेका छन् । विभागले शैक्षिक योग्यता अनुसार बनाएको तथ्याङ्कमा १६ जना डिग्री पास गरेका कैदी रहेको देखिएको छ । त्यसैगरी ५ सय ७९ कैदीले अपराधको समयमा स्नातक पास गरेका थिए भने १ हजार २ सय ५३ जनाले अपराधको समयमा प्लस टु पास गरेका थिए । त्यसैगरी २ हजार १५३ जना कैदीबन्दीले अपराधको समयमा एसएलसी वा एसइई उर्तीण गरेको पाइएको छ । 

विभागका निर्देशक पोखरेलका अनुसार कैद जीवन बिताइरहेका १४ हजार ८ सय ३ जना कैदीमध्ये अधिकांश त सामान्य लेखपढ गर्न सक्ने मात्रै छन् । उनले भने, ‘कारागार व्यवस्थापन विभागसँग रहेको तथ्याङ्क हेर्दा धेरैजस्तो व्यक्ति एसएलसीसम्म पनि नपढेको पाइएको छ । कुल कैदीको ७३ प्रतिशत जति त अन्डर एसएलसीकै रहेछन् । अझ त्यसमध्ये पनि आधाभन्दा बढी त सामान्य लेखपढ मात्रै गर्न जान्ने वा ५÷६ कक्षा पढेर छाडेकाहरू छन् । कतिपय कैदीहरू लेखपढ गर्नै नजान्ने पनि छन् । यो तथ्याङ्क हेर्दा एकाधबाहेक अधिकांश जघन्य प्रकृतिको अपराधका लेखपढ गर्नै नजान्ने वा सामान्य लेखपढ मात्रै गरेका व्यक्तिहरूको संलग्नता रहेको देखिन्छ । यसको अर्थ शिक्षाले पनि अपराधमा संलग्नतामा फरक पारेको देखियो ।’

श्रवणकुमार पोखरेल

कैद सजाय भोग्ने ९५ प्रतिशत पुरुष

कारागार व्यवस्थापन विभागका अनुसार हाल कैद जीवन बिताइरहेका कैदीमध्ये करिब ९५ प्रतिशत पुरुष कैदी रहेका छन् । विभागका निर्देशक पोखरेलका अनुसार प्रतिशतमा सामान्य परिवर्तन आउने गरेको भए पनि कुल कैदीमध्ये करिब ९५ प्रतिशत कैदी पुरुष नै रहेको छ । पोखरेलले भने, ‘लिङ्गको आधारमा अपराधमा संलग्नताको खोजी गरियो भने करिब ९५ प्रतिशत कैदी पुरुष रहेका छन् । हामीसँग करिब ३ महिना अगाडि निकालिएको एउटा तथ्याङ्क छ । उक्त तथ्याङ्कमा कुल १३ हजार ६६७ जना कैदी रहेकामा त्यहाँ पुरुष कैदीको सङ्ख्या हेर्ने हो भने १२ हजार ९१९ जना कैदी पुरुष छन् भने महिला कैदीको सङ्ख्या जम्मा ७ सय ४८ जना रहेको छ । यसले के देखाउँछ भने अपराधमा महिला भन्दा पुरुषको संलग्नता अत्यधिक धेरै देखिएको छ । अदालतबाट दोषी ठहर हुँदा ९४ दशमलव ५२ प्रतिशत कैदी पुरुष रहेको देखिएको छ ।’

नेपाली कारागारमा करिब तेह्र सय विदेशी कैदीबन्दी

कारागार व्यवस्थापन विभागका अनुसार नेपालका कारागारहरूमा करिब १ हजार ३ सय जना विदेशी कैदीबन्दी रहेका छन् । विभागका निर्देशक पोखरेलका अनुसार नेपालका कारागारहरूमा रहेको कुल २५ हजार ९९ जना थुनुवा र कैदीमध्ये १ हजार २ सय ७५ जना विदेशी नागरिकहरू रहेका छन् । जसमध्ये सबैभन्दा धेरै भारतीय नागरिकहरू रहेका छन् । विभागका अनुसार नेपालका कारागारहरूमा १ हजार १०७ जना भारतीय नागरिकले जेल जीवन बिताइरहेका छन् । त्यसैगरी २७ जना भुटानी नागरिकले पनि कैदी र थुनुवाका रूपमा जेल जीवन बिताइरहेका छन् । भुटानी नागरिकका रूपमा राखिएका उनीहरू अधिकांश भुटानी शरणार्थी रहेको विभागले जनाएको छ । त्यसैगरी कारागारहरूमा २५ जना चिनिया नागरिक, २१ जना पाकिस्तानी नागरिक रहेका छन् । त्यसैगरी ९ जना बंगलादेशी नागरिक, ८ जना नाइजेरियन, ८ जना बोलिभियन नागरिकले पनि जेल जीवन बिताइरहेका छन् । त्यस्तै ५ जना फ्रान्सेली नागरिक र ३ जना अमेरिकी नागरिकले जेल जीवन बिताइरहेका छन् । त्यसैगरी ६२ जना अन्य देशका नागरिकहरूले नेपालमा कैदी वा थुनुवाको रूपमा जेल जीवन बिताइरहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप