शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

आठ दिने महाधिवेशन ‘डायरी’ : ११ गते सुरु भएर यसरी सकियो माओवादी महाधिवेशन

आइतबार, १८ पुस २०७८, २० : १७
आइतबार, १८ पुस २०७८

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को आठौँ राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । पुस ११ गते सुरु भएको महाधिवेशन २३६ केन्द्रीय कमिटी चयन गर्दै आठ दिनपछि सकिएको हो । महाधिवेशनले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदन र विधान संशोधन प्रस्ताव पारित गर्नुका साथै २३६ सदस्यीय केन्द्रीय कमिटी सदस्य समेत चयन गरेर समापन भएको हो ।

कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुस ११ गते महाधिवेशन उद्घाटन गरेका थिए । उद्घाटन समारोहमा प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, नेकपा (एमाले)का महासचिव शंकर पोखरेल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय प्रजातन्त्र पार्टीकी महामन्त्री कुन्ती शाही, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल, नेकपा (क्रान्तिकारी माओवादी)का नेता सीपी गजुरेल, नेकपा (माले)का महासचिव सीपी मैनालीले महाधिवेशन सफलताको शुभकामना व्यक्त गरेका थिए ।

१२ पुसमा बन्द सत्र सुरु भएको महाधिवेशनमा बन्द सत्रको पहिलो दिन पार्टी अध्यक्ष प्रचण्डले ‘२१ औँ शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको वैचारिक तथा राजनीतिक दस्तावेज प्रस्तुत गरेका थिए ।

त्यस्तै पार्टी स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङले पार्टीको विधान मस्यौदा प्रस्तुत गरेका थिए । वैचारिक तथा राजनीतिक दस्तावेज र विधान मस्यौदामाथि छलफलका लागि महाधिवेशन प्रतिनिधिहरूलाई २५ वटा समूहमा विभाजित गरेर छलफल गरिएको थियो ।

पुस १३ गते वैचारिक तथा राजनीतिक दस्तावेज र विधान मस्यौदामा २५ वटै समूहमा वृहत् छलफल भयो । समूहगत छलफल १४ पुस अपराह्न १२ बजेसम्म जारी रह्यो ।

पुस १४ गते समूहगत छलफलको प्रस्तुति सुरु भएको थियो जसमा ११ वटा समूह प्रमुखले उक्त दिन आ–आफ्नो समूहको निष्कर्ष प्रस्तुत गरेका थिए । बाँकी समूह प्रमुखले पुस १५ मा समूहगत निष्कर्ष प्रस्तुत गरेका थिए । त्यसैगरी पुस १६ मा पार्टीको केन्द्रीय अनुशासन, निर्वाचन र लेखा आयोगका प्रमुखहरूले आयोगको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

१६ पुसमै अध्यक्ष प्रचण्डले महाधिवेशनमा प्रस्तुत ‘२१ औँ शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको वैचारिक तथा राजनीतिक दस्तावेजमाथि समूहगत छलफलबाट आएका सुझाव र जिज्ञासामाथि जवाफ दिएका थिए । उनले स्थायी कमिटी सदस्य राम कार्कीले राखेको पूरक प्रस्तावलाई स्वीकार गरेर दस्तावेजमा समावेश गर्ने र केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले राखेको भिन्न मतलाई भिन्न मतकै रूपमा स्वीकार गरेको जानकारी गराएका थिए ।

समूहगत छलफलमा आएका महत्त्वपूर्ण सुझावहरूलाई दस्तावेजमा समावेश गर्ने अध्यक्ष प्रचण्डको प्रतिबद्धतापछि ‘२१ औँ शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको वैचारिक तथा राजनीतिक दस्तावेजलाई महाधिवेशनको बन्द सत्र हलले सर्वसम्मतले पारित गरेको थियो ।

त्यसैगरी विधान मस्यौदामाथि समूहगत छलफलबाट आएको सुझाव र उठेका जिज्ञासामाथि पुस १७ गते नेता देव गुरुङले जवाफ दिएका थिए । गुरुङले प्रस्ताव गरेको विधानअनुसार पार्टीको केन्द्रीय कमिटी २९९ सदस्यीय हुने, ५० प्रतिशत खुल्ला र ५० प्रतिशत पूर्ण समानुपातिक गरी मिश्रित निर्वाचन प्रणालीबाट महाधिवेशनले केन्द्रीय कमिटी चयन गर्ने, केन्द्रीय कमिटीले पोलिट्व्यूरो, स्थायी कमिटी र पदाधिकारी चयन गर्ने, पोलिट्व्यूरो, स्थायी कमिटी र पदाधिकारी समावेशी सिद्धान्तका आधारमा चयन गर्ने सहितको विधानलाई महाधिवेशन हलले सर्वसम्मतले पारित गरेको थियो । त्यसैगरी पुस १७ गते मतदाता नामावली प्रकाशन गरेर निर्वाचन आयोगले केन्द्रीय कमिटी सदस्यका निर्वाचन प्रक्रिया सुरु गरेपनि पटक पटक निर्वाचन कार्यतालिका संशोधन गरिएको थियो । त्यसैक्रममा महाधिवेशन आयोजक कमिटीलाई महाधिवेशनले केन्द्रीय कमिटीको सहमतिको सूची ल्याउने जिम्मेवारी प्रदान गरेको थियो ।

पुस १८ गते महाधिवेशनको बन्द सत्रमा अध्यक्ष मण्डलले पार्टीको केन्द्रीय अनुशासन, निर्वाचन र लेखा आयोगका पदाधिकारी र सदस्यहरूको नाम प्रस्तुत गरेको थियो । तीनवटै आयोगका यसअघिका पदाधिकारी र सदस्यहरूको नामलाई महाधिवेशनले अनुमोदन गरेको थियो । पार्टीको केन्द्रीय अनुशासन आयोगको प्रमुखमा टंक राई, निर्वाचन आयोग प्रमुखमा विष्णुपुकार श्रेष्ठ र लेखा आयोगको प्रमुखमा पेशल खतिवडालाई निरन्तरता दिएको छ ।

पार्टीको केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले आठौँ राष्ट्रिय महाधिवेशनको आय व्यय प्रस्तुत गरेका थिए । बन्द सत्रमा स्थायी कमिटी सदस्य गिरिराजमणी पोखरेलले समसामयिक प्रस्ताव प्रस्तुत गरेका थिए भने समसामयिक प्रस्तावलाई महाधिवेशनले सर्वसम्मत पारित गरेको थियो ।  त्यसपछि पार्टी अध्यक्ष प्रचण्डले महाधिवेशन आयोजक समितिको तर्फबाट २९९ सदस्यीय केन्द्रीय सदस्यमा ६३ जना रिक्त राखेर २३६ जनाको नाम बन्द सत्र समक्ष प्रस्तुत गरेका थिए । अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको केन्द्रीय सदस्यहरूको नाम महाधिवेशनले सर्वसम्मतले पारित गरेपछि आठ दिने महाधिवेशन समापन गरिएको थियो ।

निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठले निर्वाचन आयोगका तर्फबाट हलबाट पारित नामावलीहरू नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए ।

नवनिर्वाचित केन्द्रीय समितिको तर्फबाट पार्टीका निवर्तमान अध्यक्ष तथा नवनिर्वाचित केन्द्रीय सदस्य प्रचण्डले महाधिवेशनलाई संक्षिप्त सम्बोधन गर्दै विधान बमोजिम पार्टीको केन्द्रीय कमिटीको पहिलो बैठक ज्येष्ठ सदस्यको अध्यक्षतामा बस्ने र बैठकले पार्टीको अध्यक्ष र पदाधिकारीहरू चयन गर्ने जानकारी गराएका थिए ।

त्यसपछि अध्यक्ष मण्डलका अध्यक्ष कृष्णबहादुर महराले महाधिवेशनको बन्द सत्र सम्पन्न भएको घोषणा गरेसँगै ११ पुस २०७८ मा सुरु पार्टीको आठौँ राष्ट्रिय महाधिवेशन विधिवत् रूपमा सम्पन्न भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप