शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

कथा : तुफान

शनिबार, २४ पुस २०७८, ०९ : १२
शनिबार, २४ पुस २०७८

तुफान वामपन्थी विचार भएको परिवारमा जन्मिएको थियो । सानैदेखि कम्युनिष्टहरू सँगको संगत रह्यो । त्यसैले तुफानलाई कम्युनिष्ट पार्टीका घोषणापत्र र मार्क्स एङ्गेल्स, लेनिन, माओका जीवनीहरू पढ्ने अवसर मिल्यो । समाजमा भएको अन्याय, अत्याचार, दमन, शोषण देख्दा तुफान आक्रोशित हुन्थ्यो । मनभरि समाजवाद र साम्यवादको कल्पना गथ्र्यो ।

महिला हिंसा ब्यापक बढेको थियो । कहिले कहिले दाइजोको निहुँमा, कहिले छोरी मात्रै जन्माएको निहुँमा महिलामाथि कुटपिट भएको समाचार आइरहन्थ्यो । पति तथा घरका अन्य सदस्यहरूले यसरी यातना दिएको देख्दा तुफान रिसले दारा किट्थ्यो । तुफानका बुवा सक्रिय राजनीतिमा रहेकाले समाज परिवर्तनको भाषण फलाकिरहन्थे । आफ्नो बुवा महिला हिंसा विभेदको अन्त्य गर्ने लगायतको अभियानमा लागेको कुराबाट तुफान निकै उत्साहित थियो । ऊ सगर्वसाथ भन्थ्यो, ‘बुवाले रोजेको बाटो हिँड्नेछु । सामन्ती प्रथाको जरो उखेल्नु छु ।’

गलत कार्यको खण्डन गर्ने, अन्याय अत्याचार पटक्कै नसहने स्वभाव हुँदा एकदिन विरोधीको जालमा तुफानको बुवा फसे । सामन्तीले झुटो अभियोगमा बुवालाई  जेलमा पुर्याए  ।  हाँसी खुशी परिवारमा विपतको बादल मडारियो । जति कोशिश गरेता पनि तुफानका बुवालाई निर्दोष सावित गरेर जेलमुक्त गर्न उनकी आमाले सकिनन्, कारण जेलर र सामन्ती मिलेका थिए । यता घरमा गरिबीको गहिरो खाडल थियो । कमाउने मानिस कोही थिएन । बिचरा आमा सहयोग माग्न गाउँमा जान्थिन् तर सहयोगको साटो अपमानित र लज्जित हुनुपर्थ्यो । जवान आमामाथि फटाहाहरूले कुदृष्टि लगाउँथे । आमाको दुःखको आँसु पुछ्न आफूले केही गर्न नसक्नुको लाचारीपन सहँदै तुफान जवान भयो  । पितृसत्ताले  महिलामाथि गरेको शोषण देख्दा ऊ बुवालाई सम्झिन्थ्यो ।

यसै क्रममा उसको छिमेकी गाउँमा एक महिलाको बिहे गरेको दुइ महिनामै श्रीमान्को मृत्यु भयो । ती विधवा महिलालाई समाजले निकै दमन गरेको थियो । रातदिन लोग्ने खाइस्, अलक्छिनाइ भनेर गाउँमा बस्न खान भएन । लोग्नेमान्छे उनको यौवनमाथि आँखा गाड्थे । बाटोमा हिँड्दा विधवा देखियो भने साइत पर्दैन भनेर अरु महिलाले बाटो तर्केर हिँड्थे । एक महिलाले अर्की महिलाको पीडा नबुझ्नु कति अज्ञानता होला भनेर तुफानकी आमा निराश हुन्थिन् । उनमा आफ्नो श्रीमान्ले दिएको शिक्षा थियो, चेतना थियो । यो समाजको रुढीवादी चलनचल्ती विरुद्ध हुंकार थियो ।

एकदिन तुफानलाई आमाले भनिन्, ‘हेर छोरा, समाज परिवर्तन गर्न सजिलो छैन । सुरुवात आफैंबाट गर्नुपर्छ । त्यसैले ती विधवालाई तैंले बिहे गर । पुरुष भने श्रीमती बितेको १३ दिन नहुँदै अर्को बिहे गर्छन् । विधवा हुनुमा ती नारीको के दोष ?’

आमाको कुरा सुनेर  तुफान  निकै खुशी भयो । यति धेरै चेतनाको विकास आमामा कसरी भयो ? सायद आफूले भोगेको पीडा अर्की महिलालाई नपरोस् भनेर होला आमालाई स्यालुट ठोक्न मन लाग्यो ।

परम्परागत समाजमा एक विधवालाई अर्को बिहे गर्नु सामान्य कुरा थिएन । ती पीडित महिलालाई त आमा–छोरा मिलेर सम्झाए, ‘हेर नानी, तिम्रो श्रीमान् बितेको झन्डै डेढ बर्ष भयो । तिमी बल्ल २३ बर्षकी भयो । यो समाजमा एक्लै बाँच्न सजिलो छैन । पलपल खतरा छ । घरमा ससुरा, देवर, जेठाजु साथै घरबाहिर अन्य यौनपिपासुले गिद्देदृष्टि लगाउँछन् तिम्रो यौवनमाथि । पुरुषले जसो गरे पनि छुट दिने यो समाजले महिलालाई कसैसँग हाँसे बोलेको आरोपमा अनेकौँ लान्छना लगाउँछन् नारी र पुरुषको यो विभेदको अन्त्य गर्न पनि तिमीले पुनर्विवाह गर्नुपर्छ ।’

आमा–छोराको सम्झाइ बुझाइले विधवा राजी भइन् । अब बिहे गर्ने टुंगो पनि भयो । तर परिवार, समाजले स्वीकार्न अप्ठ्यारो मान्यो । तुफानले कम्युनिष्ट विचार बोकेका युवा कमरेडहरूलाई गाउँमा बोलायो । बेहुला बेहुलीले अबिर र माला लगाएर बाँकी जीवन संगसंगै बिताउने प्रतिबद्धता जाहेर गरे । जो जति उपस्थित थिए, ती साक्षी मानिए । प्रगतिशील विवाह सम्पन्न भयो । अन्य खर्चिलो भोज कार्यक्रम थिएन, मात्र भाषणको भरमा चिया, बिस्कुटमा विवाह सम्पन्न भयो  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कल्पना पौडेल ‘जिज्ञासु’
कल्पना पौडेल ‘जिज्ञासु’
लेखकबाट थप