शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश १ को शहरी क्षेत्रमा कोरोना संक्रमण दर उच्च

कुल संक्रमित संख्याको झन्डै आधा विराटनगरमा मात्रै
आइतबार, ०२ माघ २०७८, ११ : ३८
आइतबार, ०२ माघ २०७८

केही दिन यता प्रदेश १ मा कोरोना संक्रमण दर उच्च वृद्धि भएको छ । त्यसमा पनि सघन शहरी क्षेत्र मोरङ, सुनसरी र झापामा दिनहुँ उच्च दरमा संक्रमित बढ्ने क्रम जारी छ । मोरङ जिल्लामा पछिल्लो एक सातामा सक्रिय संक्रमितको संख्या पाँच सय नाघेको छ । प्रदेश १ का मोरङ र सुनसरी जिल्ला रेड जोनमा परेका छन् भने झापामा पनि संक्रिय संक्रमितको संख्या २ सय नाघेको छ ।

प्रदेश सरकार अन्तर्गतको सामाजिक विकास मन्त्रालयको तथ्याङ्क अनुसार गत पुस २५ गते यतामात्र मोरङमा सबैभन्दा बढी ७३० जना संक्रमित थपिएका छन् । त्यसमा पनि प्रदेशको राजधानी विराटनगरमा मात्र यो एक सातामा ५९३ जना सक्रिय संक्रमित थपिएका छन् । यो क्रम दैनिक बढ्दै गएको छ ।

त्यसैगरी सुनसरीमा यो साता ३०६ जना संक्रमित थपिएका छन् भने हाल सुनसरीमा कुल संक्रमित संख्या ५२७ जना पुगेको छ । झापामा यो सातामात्र १७८ जना नयाँ संक्रमित थपिएका छन् भने हाल २९६ सक्रिय संक्रमित छन् । प्रदेशका अन्य जिल्लामा भने १ सय मुनिको संख्यामा सक्रिय संक्रमित छन् ।

विराटनगरमा संक्रमण दर तीव्र

प्रदेश १ मा माघ १ गते एकैदिन ३२० जनामा कोरोना संक्रमित थपिएका छन् । ५८९ जनाको पीसीआर परीक्षणमा ५० प्रतिशतभन्दा बढीमा संक्रमण देखिएको हो । परीक्षण गरिएकामध्ये मोरङका १२९ रहेकोमा तीमध्ये पनि विराटनगरका मात्र ११३ जना छन् । यस दिन सुनसरीमा १११, झापामा १९ संक्रमित पाइए । अन्य जिल्लामा भने पाँचभन्दा कम संख्यामा संक्रमित पाइए ।

त्यसैगरी पुस ३० गते ७४३ जनाको पीसीआर परीक्षण गर्दा ३७९ जना पोजेटिभ देखिएको छ । त्यसमा मोरङका मात्र १८६ जना छन् भने त्यसमध्ये पनि विराटनगर महानगरपालिका १६४ जना छन् ।

यस्तै, सुनसरीमा ६८ र झापामा ४५ संक्रमित फेला परेका छन् । पुस २९ गते कुल ५७४ जनाको पीसीआर परीक्षण गर्दा २९२ जना संक्रमित भएका छन् जसमध्ये मोरङका १३२ र तीमध्ये विराटनगरका ११४ जना छन् । यस्तै, सुनसरी र झापाका क्रमशः ६७ र ३३ जना छन् ।

पुस २८ मा ७३४ जनाको पीसीआर परीक्षण गर्दा २७२ जनामा संक्रमण पुष्टि भएको छ ।  जसमध्ये मोरङका १४५ र तिनमा पनि विराटनगरका ११९ जना छन् । यस्तै, सुनसरीमा ६७ र झापामा ३३ जनामा संक्रमण पुष्टि भएको छ ।

पुस २७ गते ३९० जनाको परीक्षण गर्दा १२५ जनामा पोजेटिभ देखिएको थियो जसमा मोरङमा ४७ संक्रमित पाइए । तीमध्ये विराटनगर महानगरपालिका भित्र संक्रमित हुनेको संख्या ४१ थियो ।

त्यसैगरी सुनसरीमा १६ र झापामा १९ जना संक्रमित रहे । पुस २६ गते ३३४ जनाको परीक्षण गर्दा ११३ जनामा पोजेटिभ देखिएको थियो । सो दिन मोरङमा ५४ संक्रमित फेला पर्दा विराटनगर भित्रका मात्र ५१ जना थिए । यस्तै, झापामा २६ र सुनसरीमा एक जना संक्रमित पाइएको थियो ।

पुस २५ गते २९३ जनाको पिसीआर परीक्षण गर्दा  ५६ जना संक्रमित भएका थिए जसमध्ये मोरङमा ३७ संक्रमित रहँदा विराटनगरका मात्र ३२ जना थिए । यस्तै, झापामा ५ र सुनसरीमा ४ जना संक्रमित फेला परेका थिए ।

मोरङका प्रमुख जिल्ला अधिकारी काशीनाथ दाहालका अनुसार एक साता यता मोरङमा तीव्र रुपमा कोराना संक्रमितको संख्या बढेको छ । आवश्यक सुरक्षा सावधानीका लागि नागरिकलाई सचेत गर्ने कार्यमा स्थानीय प्रशासन लागिपरे पनि संक्रमण दर तीव्र गतिमा बढ्नुले रोकथाम र व्यवस्थापनमा चुनौती थपिदिएको उनको भनाइ छ ।

संक्रमितको दर बढेसँगै अस्पताल भर्ना हुने संक्रमितको दर पनि बढेको प्रदेश १ को सामाजिक विकास मन्त्रालयको तथ्याङ्कले देखाएको छ ।

प्रदेशका मेची प्रादेशिक अस्पताल, धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराटनगरको कोशी कोभिड–१९ उपचार केन्द्रमा बिरामीहरु भर्ना हुने क्रम बढेको हो ।

सामाजिक विकास मन्त्रालयको तथ्याङ्क अनुसार सातदिन अघि यी अस्पतालमा १२ जना संक्रमित उपचारका लागि भर्ना भएका थिए । यो विचमा बिरामीको संख्या बढेर २६ पुगेको छ ।

एक साताअघि अस्पताल भर्ना भएकामध्ये सात जना आइसियुमा उपचारत रहेकोमा हाल यो संख्या बढेर १६ पुगेको छ । एक साता अघि तीन जना भेन्टिलेटरमा रहेकोमा अहिले पाँच जना भेन्टिलेटरमा छन् । यस्तै, दुई जना एचडियुमा उपचाररत रहेकोमा आइतबार बिहानसम्म चार जना पुगेका छन् ।

मन्त्रालयको गत पुस १९ गतेको तथ्याङ्क अनुसार कुल ११७ संक्रमितमध्ये ८ जनामात्र अस्पतालमा उपचाररत थिए । जसमा आइसियुमा दुई, भेन्टिलेटरमा तीन र एचडियुमा तीन जना थिए । प्रदेशमा कुल एक हजार ३९७ सक्रिय संक्रमित छन् । सक्रिय संक्रमित मध्ये १ हजार ३७१ संक्रमित होम आइसोलेशनमा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ध्रुव भट्टराई
ध्रुव भट्टराई
लेखकबाट थप