शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

कार्डबिनै कोरोनाविरुद्धको खोप !

सोमबार, ०३ माघ २०७८, १२ : ३६
सोमबार, ०३ माघ २०७८

धनुषाको सबैला नगरपालिकामा कोरोनाविरुद्धको खोप वितरणमा लापरबाही देखिएको छ । सबैला नगरपालिका वडा नम्बर ५ स्थित मखनाहा स्वास्थ्य चौकीमा खोप कार्ड नै नदिई स्थानीयलाई खोप लगाएको पाइएको हो ।

स्वास्थ्य चौकी इन्चार्ज रम्भा यादवले पछिल्लो चरणमा मात्रै साढे तीन सयभन्दा बढी व्यक्तिलाई सादा पेपरमा खोप लगाइएको भनि लेखेर दिने गरिएको बताइन् । उनले भनिन्, ‘हामीलाई नगरपालिकाले कार्ड नपठाएपछि तत्काल सादा पेपरमा लेखेर दिएका छौँ, पछि कार्ड बनाइदिने भनेका छौँ ।’

तर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सञ्जयकुमार मण्डलले स्वास्थ्य चौकीलाई खोपभन्दा बढी कार्ड पठाइएको बताए । उनले भने, ‘यहाँबाट सय जनाका लागि खोप लान्छन् र पाँच सय कार्ड लान्छन् । तैपनि पुगेन भन्छन्, हामीसँग सीमित कार्ड हुन्छ । अझै कहाँबाट दिनु ?’

कार्डबिना खोप नलगाउन सम्झाई बुझाई गरे पनि उनीहरूले नमानेको स्वास्थ्य प्रमुख मण्डल बताउँछन् । उनी भन्छन्, ‘स्वास्थ्य चौकीका कर्मचारीलाई सम्झाई बुझाई गरेँ, तर उनीहरू बुझ्नेवाला छैनन्, त्यति कार्ड लगेर के गरे ? उनीहरूलाई सोध्नुस् ।’

उनले ३९० जनालाई पहिलो चरणमा लगाउन पठाइएको खोपसँगै ६९० कार्ड आफूहरुले उपलब्ध गराएको जानकारी दिए । तर स्वास्थ्य चौकी इन्चार्ज रम्भा यादवले स्वास्थ्य शाखाले खोपभन्दा कम कार्ड पठाएको दाबी गरिन् ।

उनले भनिन्, ‘भ्याक्सिन ११ सयसम्म आउँछ, कार्ड तीन सयसम्म दिन्छन् । पाँच दिनदेखि भ्याक्सिन आएको छ । त्यसमा दुई सय कार्ड दिइएको छ ।’

उनका अनुसार एक महिनाअघि कार्यालय सहयोगीलाई तीन सय कार्ड दिएर पठाइएको थियो । तर स्वास्थ्य शाखाले ६ सय पठाएँ भनेर दाबी गर्दै आएको उनको भनाइ छ । ‘त्यसपछि अर्कोपल्ट चार सय कार्डमात्र थियो, ८ सय व्यक्तिलाई खोप लगाइयो,’ उनले भनिन्, ‘अफिसमा कार्ड माग्न जाँदा छैन भन्छन्, त्यसैले प्रमाणका लागि पर्चामा लेखेर दिइरहेका छौं ।’

जिल्ला प्रशासन कार्यालय धनुषाले सार्वजनिक स्थानमा जान तथा सार्वजनिक निकायका सेवा प्राप्त गर्न खोप कार्ड अनिवार्य गरेको छ । ‘सार्वजनिक स्थानहरू (कार्यालय, होटेल, रेष्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाईयात्रा, पार्क) लगायतमा प्रवेश गर्दा यही माघ ७ गतेदेखि कोभिड–१९ विरूद्धको खोप लगाइएको कार्ड साथमा राख्ने र यस्ता सबै निकायहरूले खोप कार्ड हेरेर मात्र व्यवस्था गर्ने’ जिल्ला प्रशासन कार्यालय धनुषाले जारी गरिएको आदेशमा उल्लेख छ ।

तर, ग्रामिण भेगका बासिन्दालाई खोप कार्डको महत्त्व थाहा नै छैन । स्थानीयवासीका अनुसार खोप कार्डबिना सरकारी सेवा नपाउने, सार्वजनिक स्थलमा जान नपाउने व्यवस्था गरिएपछि खोपका लागिभन्दा पनि खोपकार्ड हासिल गर्नका लागि यसरी अनियमितता भएको हुन सक्छ ।

नगरपालिकाका प्रमुख विजयशंकर साहले यसबारे स्वास्थ्य चौकीमा आफूले बुझिरहेको बताए । धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले कार्डबिनै खोप दिनु गैरकानुनी रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप