शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णालीमा कोरोनाको तेस्रो लहर रोकथामको पूर्वतयारी : ७ करोडभन्दा बढी रकम व्यवस्थापन

एक महिनाको अवधिमा २४५ जनामा कोराना संक्रमण
मङ्गलबार, ०४ माघ २०७८, १० : २६
मङ्गलबार, ०४ माघ २०७८

कोरोनाभाइरस (कोभिड–१९) को तेस्रो लहर रोकथाम र नियन्त्रणका लागि कर्णाली प्रदेश सरकारले पूर्व तयारी तीव्र पारेको छ । प्रदेश सरकारले कोरोना संक्रमणको तेस्रो लहर सामना गर्ने पूर्व तयारीस्वरुप ७ करोड ४४ लाख बराबरको बजेट व्यवस्थापन गरेको छ ।

कोरोनाभाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’को असर न्यूनीकरणका लागि पीसीएमसीको बैठकबाट स्वास्थ्य संस्थाहरूको सवलीकरण, अक्सिजन प्लान्टहरूको सञ्चालन तथा स्वास्थ्यकर्मी परिचालनको प्रवन्ध मिलाईएको प्रदेश सरकारले जनाएको छ ।

कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले एम्बुलेन्स खरिद गर्न प्रदेश अस्पताल सुर्खेत, स्वास्थ्य सेवा कार्यालय दैलेख, स्वास्थ्य सेवा कार्यालय जाजरकोट र स्वास्थ्य सेवा कार्यालय सल्यानमा प्रतिअस्पताल २० लाखका दरले ८० लाख रुपैयाँ पठाइसकिएको जानकारी दिए ।

शव वाहन खरिद गर्न दैलेख, कालिकोट, सल्यान र रुकुमपश्चिमका स्वास्थ्य सेवा कार्यालयलाई प्रतिअस्पताल १२ लाखका दरले ४८ लाख पठाईसकिएको पनि उनले जानकारी दिए । प्रदेश अस्पताल सुर्खेतको मेसिनरी औजार (अनलाइन युपिएस सिस्टम) खरिदका लागि ३८ लाख, प्रदेश जनस्वास्थ्य प्रयोगशाला सुर्खेतका लागि आवश्यक मेसिनरी औजार खरिदको लागि २ करोड बजेट छुट्याईएको छ भने सुर्खेतको पञ्चपुरी नगरपालिकाको कोभिड–१९ व्यवस्थापकीय खर्चका लागि १० लाख गरी जम्मा २ करोड ४८ लाख बजेट सम्बन्धित कार्यालयलाई पठाइसकिएको पनि मुख्यमन्त्री शाहीले बताए ।

‘स्वास्थ्य संस्था तथा सुरक्षा निकायलाई पूर्ण सतर्कता र तयारी अवस्थामा राखिएको छ,’ उनले भने, ‘प्रदेशवासीहरूमा स्वास्थ्य सतर्कता र सुरक्षित व्यवहारका लागि हामीले अपिल पनि गरेकै छौं ।’ जिल्लास्थित विभिन्न स्थानीय तहमा कर्णाली प्रदेशबाट स्थापना भई संचालनमा रहेका ६६ सामुदायिक स्वास्थ्य इकाईहरुका लागि प्रतिइकाई ५ लाखका दरले ३ करोड ३० लाख सम्बन्धित स्थानीय तहलाई बजेट उपलब्ध गराइ सामुदायिक स्वास्थ्य इकाईहरूको सेवा निरन्तर गरिएको उनको भनाइ छ ।

कर्णाली प्रदेशले कोरोनाको पहिलो र दोस्रो लहरमा अक्सिजनको ठूलो अभाव भोग्नुपरेको थियो । अहिले  कर्णाली प्रदेश अस्पतालमा १, वीरेन्द्रनगर नगरपालिकासँगको साझेदारी एवम् चौधरी फाउण्डेशनको सहयोगमा वीरेन्द्रनगर नगरअस्पतालमा १, गुर्भाकोट नगरपालिकास्थित मेहलकुना अस्पतालमा यूएनडीपीको साझेदारीमा १, जिल्ला अस्पताल दैलेखमा १, कालिकोटमा १ रुकुम पश्चिममा १ गरेर आठ वटा जिल्लामा अक्सिजन प्लान्ट स्थापना भएका छन् ।

कोरोना संक्रमणको दोस्रो लहरमा अक्सिजन अभावमै धेरै संक्रमितले ज्यानसमेत गुमाएका थिए । मुख्यमन्त्री शाहीले भने, ‘कोरोनाको सम्भावित तेस्रो लहर रोक्नका लागि सरकार हरसम्भव प्रयासमा लागिरहेको छ । यसका लागि कर्णाली भित्रिने मुख्य तीन वटा नाकामध्ये सुर्खेतको कुइनेमा अष्ट्रेलियन नेप्लिज मेडिकल एण्ड डेन्टल एसोसिएसन र अष्ट्रेलिया नेपाल फ्रेण्डसीप सोसाइटीको सहयोग तथा वीड्स फाउण्डेशनको समन्वयमा भदौ १ गतेदेखि कोरोना परीक्षण तथा जामुमा १५ बेडको सञ्चालनमा ल्याएको छ ।’

यस्तै कर्णालीको मुख्य प्रवेशद्वार रहेको बबईमा भारत, तेस्रो मुलुक र अन्य प्रदेशबाट आउने नागरिकलाई भेरीगंगा नगरपालिका–१२ स्थित सरुवा रोग अस्पताल निर्माण हुने स्थलमा होल्डिङ सेन्टर निर्माणको काम सुरु भइसकेको उनले बताए । कर्णाली प्रदेश अस्पताललाई संक्रमितको चाप घटाउनका लागि भेरीगंगा, गुर्भाकोट र पञ्चपुरी तथा सल्यानको कपुरकोटमा विगतमा स्थानीय तहले सञ्चालनमा ल्याएका क्वारेन्टिन र आइसोलेसन सेन्टरलाई पुनः सञ्चालनमा ल्याउने तयारी थालिएको बताइएको छ ।

मुख्यमन्त्री शाहीले प्रदेश सरकार नागरिकको घर–आँगनको सरकार भएकोले जनताको सुरक्षा सरकारको पहिलो प्राथमिकता भएको बताए ।

प्रदेशमा खोप कभरेज र संक्रमतिको अवस्था

कर्णाली प्रदेशमा कुल जनसंख्याको ४५.४ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् भने ३३.६ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् । यस्तै लक्षित समूहतर्फ १२ देखि १७ वर्षसम्मको पहिलो मात्रा ७८.६ प्रतिशत, १८ वर्षमाथि पहिलो मात्रा ५५.७ प्रतिशत नागरिकलाई लगाइएको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ । यस्तै १८ वर्ष माथिका ५१.३ प्रतिशतलाई पूर्ण मात्रा खोप लगाएको स्वास्थ्य निर्देशक डा. रविन खड्काले जानकारी दिए ।

उनका अनुसार पछिल्लो एक महिनाको अवधिमा कर्णालीमा २४५ जनामा कोरोना संक्रमण देखिएको छ । २२० जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गर्दा ६६ जना र एक हजार ३७२ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १७९ जनामा कोरोना पोजेटिभ देखिएको हो । अहिले कर्णालीमा २२८ जना होम आइसोलेसनमा छन् भने दुई जना संस्थागत आइसोलेसनमा छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप