शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

मधेसमा उपेन्द्र भर्सेस सिके : कसरी सुरु भयो द्वन्द्व ?

विश्लेषक भन्छन् - सिके उपेन्द्रकै बाटोमा
शनिबार, ०८ माघ २०७८, १५ : ५५
शनिबार, ०८ माघ २०७८

मधेसमा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल र सिके राउत नेतृत्वको जनमत पार्टीबीच द्वन्द्व सतहमा देखिएको छ । प्रदेश २ मा सबैभन्दा बलियो रहेको जसपाले पछिल्लो समय जनमत पार्टीलाई थ्रेटको रुपमा देखेको छ भने मधेसमा खुट्टा जमाउने प्रयासमा रहेको जनमत पार्टीको पनि जसपालाई कमजोर नगरेसम्म मधेसमा बलियो हुन सक्दैन भन्ने बुझाइ रहेको छ । 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफू प्रधानमन्त्री भएको बेला २०७५ फागुन २४ गते सिके राउतसँग वार्ता गरेर मूलधारमा ल्याएका थिए । त्यतिबेला जसपाका अध्यक्ष उपेन्द्र यादव ओली नेतृत्वको सरकारमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री थिए । ओलीले सिके राउतलाई यसरी महत्त्व दिएर मूलधारमा ल्याएको कुरा उपेन्द्रलाई मन परेको थिएन । ‌त्यतिबेला तत्कालीन प्रधानमन्त्री ओली र उपेन्द्र यादवबीच पनि राम्रो सम्बन्ध थिएन ।

उपेन्द्रलाई कमजोर गर्नकै लागि एमालेका अध्यक्ष ओलीले सिके राउतलाई मूलधारमा ल्याएको कतिपयको बुझाइ रहेको जेपी गुप्ता बताउँछन् । उनी भन्छन्, 'यो कति सही या गलत हो थाह छैन, तर ओलीले सिके राउतसँग वार्ता गरेर महत्त्वका साथ जसरी मूलधारमा ल्याए, कतिपयको बुझाइ थियो कि त्यो कदम उपेन्द्र यादवविरुद्ध नै थियो । त्यतिबेला उपेन्द्र यादवलाई पनि त्यस्तै लागेको थियो सायद ।’

२०७५ भदौ ७ गते उपेन्द्र यादव बर्दिया जाँदा सिके राउतका कार्यकर्ताले कालो झण्डा देखाएका थिए । त्यतिबेला पक्राउ परेका राममनोहर यादवको थुनामै निधन भएको थियो । सो घटनाले दुई जनाको सम्बन्ध चिसिएको थियो । त्यो बेलादेखि नै दुई जनाको बीचमा कहिले पनि राम्रो सम्बन्ध भएन । जनमत पार्टीले जहिले पनि उपेन्द्र यादव नेतृत्वको पार्टीलाई निशाना बनाइ रह्यो । जनमत पार्टीका अध्यक्ष सिके राउतले जहाँ आफ्नो मन्तव्य दिन्छन्, त्यहाँ जसपा र सो पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई ‘टार्गेट’ गरेर बोलेकै हुन्छन् । जसपाका अध्यक्ष उपेन्द्र यादवसहित सो दलका अन्य नेताप्रति उनको कडा टिप्पणी हुने गर्छन् । 

सप्तरीमा डिएसपी रामकुमार यादव छन् । उनी जसपाका कार्यकारिणी सदस्य राजकिशोर यादवका भाइ हुन् । सिके राउतले जसपाका नेता राजकिशोर यादवको नामै लिएर जसपाले सप्तरीमा डिएसपी रामकुमार यादवबाट दमन गर्न लगाएको आरोप लगाउने गरेका छन् । केन्द्र र मधेस प्रदेशमा जसपाकै कृषि मन्त्री रहेको तर किसानको माग पुरा नभएको भन्दै सिके राउतले जसपाको आलोचना गर्ने गरेका छन् ।

उपेन्द्र यादवको साथमा रहेर लामो समय काम गरेका जेपी गुप्ता भन्छन्, ‘स्थानीय, प्रदेश र केन्द्रमा जसपाको सरकार छ, र कुनै पनि प्रतिपक्षले टार्गेट बनाउने भनेको सत्ता पक्षलाई नै हो, जसपा सरकारमा भएको कारण जनमत पार्टीले उसको आलोचना धेरै गर्छ र त्यो स्वाभाविक पनि हो ।’

जसपा मधेस आन्दोलनबाट जन्मेको पार्टी हो । आन्दोलनबाट नै जसपा शक्तिशाली पार्टी बनेको छ । त्यही भएर मधेसमा जसपालाई कमजोर नगरेसम्म आफूहरुले स्पेस पाउने सम्भावना हुँदैन भनेर जनमत पार्टी सारा शक्ति जसपाको विरोधमा लगाएको विश्लेषकहरु बताउँछन् । 'तराई मधेसमा उपेन्द्र यादवले जुन स्पेस लिएका छन्, त्यो स्पेस सिके राउतले लिन चाहेका छन्,' मधेस मामिलाका जानकार एवं पूर्व राजदूत विजयकान्त कर्ण भन्छन्, ‘सिके राउतको अहिलेको आन्दोलन मधेसमा स्पेस लिनका लागि नै हो । जबसम्म जसपा कमजोर हुँदैन तबसम्म सिके राउतले स्पेस पाउनु हुन्न ।’

तेस्रो मधेस आन्दोलनको विरोधमा रहेका सिके राउतलाई मधेसको मुद्दासँग कुनै मतलब रहेको कर्णको टिप्पणी छ । 'उनी स्वायत्त मधेस प्रदेशको विरोध गर्दै स्वतन्त्र मधेसको कुरा गरिरहेका थिए । अहिले मूलधारमा आएपछि पनि संघीयता, समानुपाति समावेशी, लोकतन्त्रको कुरा उनको प्राथमिकतामा छैन,' विश्लेषक कर्ण भन्छन्, 'किसानको मुद्दा उठाउनु हुँदैन भनेको होइन तर त्यसका साथै मधेसका जायज मुद्दा के हो, पहिचान, अधिकार र संघीयताको कुरा पनि उठाउनुपर्छ जुन सिके राउतको प्राथमिकतामा छैन ।’ 

'तराई मधेसमा काँग्रेसका मन्त्रीहरू पनि जान्छन्, नेकपा एकीकृत समाजवादी पार्टीका मन्त्रीहरू पनि जान्छन् तर सिके राउतले उनीहरूको विरोध गर्दैनन्,' कर्ण थप्छन्, 'तर जसपाका वा कुनै मधेसी मन्त्री तराई मधेसमा जाँदा त्यसको विरोध गर्छन्, कार्यक्रममा जानका लागि रोक्छन्, कालो झण्डा देखाउँछन्, यो गलत हो ।' लोकतन्त्रमा सबै स्वतन्त्रता रहेको कसैले कसैलाई निषेध गरेर कोही अगाडि बढ्न नसक्ने र अगाडि बढ्नका लागि आफै यात्रा तय गर्नुपर्ने कर्णको सुझाव छ । 

माघ ५ गते जसपाका नेतृ एवं भौतिक पूर्वाधार मन्त्री रेणु यादव कार्यक्रमका लागि जाँदा जनमत पार्टीका नेता तथा कार्यकर्ताहरूले रोक्ने प्रयास गरे, कालो झण्डा देखाए । मन्त्रीलाई कार्यक्रममा जानबाट रोक्ने प्रयास गरे । मन्त्री यादव अर्को बाटो हुँदै कार्यक्रममा सहभागी भइन् । त्यसरी नै जसपाका नेता एवं कृषि मन्त्री महिन्द्र राय यादव बाँके जाँदा त्यहाँ जनमत पार्टीका नेता तथा कार्यकर्ताहरूले प्रदर्शन गरेका थिए । त्यहाँ पनि उनले बीचमै कार्यक्रम छाडेर हिँड्नु परेको थियो । 

२०६९ साल मा उपेन्द्र यादवले स्वायत्त मधेस एक प्रदेश माग राख्दै आन्दोलन गर्दा सिके राउतले त्यसको विरोध गर्थे । स्वायत्त मधेस होइन, स्वतन्त्र मधेसको उनको नारा थियो । राउतले कोठली बाहर मोहर (कोठा बाहिर मतदान) को अभियान समेत चलाएका थिए । स्वास्थ्य मन्त्री रहेको बेला उपेन्द्र यादव २०७५ भदौ ७ गते बर्दिया गएका थिए । त्यहाँ पनि सिके राउतका कार्यकर्ताले उपेन्द्र यादवलाई कालो झण्डा देखाएका थिए । कालो झण्डा देखाउने क्रममा प्रहरीले राम मनोहर यादवलाई पक्राउ गरेको थियो । थुनामा रहेको बेला उनी बिरामी परेका थिए । त्यसको उपचारका लागि काठमाडौँ लग्ने क्रममा उनको निधन बाटोमा भएको थियो । राउतले यादवले नै राम मनोहर यादवलाई मार्न लगाएको आरोप लगाएर आन्दोलन सुरु गरेका थिए । 

यता जसपाले पनि जनमत पार्टीले गर्दै आएको आन्दोलनको विरोध सो पार्टीका नेता तथा कार्यकर्ताहरूले गर्दै आएको छ । जनमतको आन्दोलन बारे जनमत पार्टीका नेता तथा कार्यकर्ताहरूले फेसबुकदेखि लिएर औपचारिक कार्यक्रममा समेत कडा टिप्पणी गर्ने गरेका छन् । जनमत पार्टी गरेको आन्दोलनको विरुद्धमा जसपाले सप्तरीमा भाटासहितको र्‍याली नै निकालेको थियो । मधेसमा जनमत पार्टी बलियो भयो भने जसपालाई घाटा हुन्छ भन्ने सो पार्टीका नेताहरूको बुझाई छ ।

यता महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बारे भने जनमत पार्टी मौन देखिन्छ । जसरी सिके राउतले लोसपाका बारेमा टिप्पणी गर्दैन, त्यसरी लोसपाले पनि सिके राउतको पार्टीको बारेमा टिप्पणी गरेको छैन । बरु सो पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले सिके राउतले गरेको आन्दोलनलाई समर्थन जनाएका छन् । उनले विज्ञप्ति जारी गरेर नै आन्दोलनप्रति समर्थन जनाएका थिए । सो पार्टीका अन्य नेताहरू पनि सिके राउतको आन्दोलन प्रति सकारात्मक देखिन्छन् ।  

प्रदेशमा जसपा नेतृत्वकै सरकार रहेको छ । यता केन्द्रमा पनि जसपा सरकारमा सहभागी छ । तर एक महिना भन्दा बढी समयदेखि भइरहेको आन्दोलनलाई सम्बोधन गरेको छैन । अहिलेसम्म सरकारले आन्दोलनलाई सम्बोधन नगर्नुमा सिके राउतले जसपालाई नै दोषी देख्छन् । 

दुवैको बाटो एउटै

उपेन्द्र यादवले पनि मधेसमा आन्दोलन सुरुवात गर्दा नेपाल सद्भावना पार्टीको यसै गरी आलोचना गर्थे । एक राजनीतिक विश्लेषक भन्छन्, 'अहिले जुन बाटो सिके राउतले अपनाउनु भएको छ, त्यो बाटो सुरुमा उपेन्द्र यादवले पनि अपनाउनु भएको थियो । उहाँले पनि सुरुमा पार्टी बनाउँदा युवाहरूलाई भित्र्याउने काम गर्नुभयो, ठुला ठुला नेताहरूलाई वास्ता गर्नुभएको थिएन । उहाँले पनि सिके राउतले जस्तै भाटा लिएर राजमार्ग जाम गर्नुभएको थियो ।’ एउटा सामाजिक संस्थाबाट मधेसमा आन्दोलन सुरु गरेका उपेन्द्र यादवले सिके राउत जस्तै क्रान्तिकारी भाषण गर्थे, युवाहरूमा जोस भर्थे र सडकमा ओराल्थे । अहिले सिके राउतले पनि उपेन्द्र यादवकै बाटा पछ्याउँदै गइरहेको ती विश्लेषकको भनाई छ । उपेन्द्र यादवले सद्भावना पार्टीलाई रिप्लेस गरेर आफ्नो स्पेस बनाए, अहिले जनमत पार्टीले जसपालाई रिप्लेस गरेर आफ्नो स्पेस बनाउन खोजेको उनको विश्लेषण छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप