मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

भक्तपुरमा आगो तापेर सुत्दा निसासिएर शिशुको मृत्यु, आमाबाबु गम्भीर

आइतबार, ०९ माघ २०७८, १४ : ४८
आइतबार, ०९ माघ २०७८

कोठाभित्र आगो तापेर सुत्दा भक्तपुरमा आज एक शिशुको मृत्यु भएको छ भने दुई जना अचेत भएका छन् । सूर्यविनायक नगरपालिका–४ दधिकोट गाम्चास्थित भावना थापाको जस्ताले छाएको घरमा डेरा गरी बस्दै आएका रामेछापको मन्थली नगरपालिका घर भएका ३० वर्षीय अभिषेक रम्तेलका तीन महिनाका छोराको मृत्यु भएको महानगरीय प्रहरी वृत्त थिमिका प्रमुख एवं प्रहरी नायब उपरीक्षक नरहरि रेग्मीले जानकारी दिए । 
    
जाडो बढेपछि शनिबार बेलुका खाना खाएर आगो बलिरहेको कोइला कोठामै राखेर सुतेकामा बिहान अबेरसम्म पनि नउठेपछि स्थानीय र प्रहरीले ढोका फुटाएर अचेत अवस्थामा तीन जनालाई उपचारका लागि मध्यपुर अस्पताल लगेको उनले जानकारी दिए ।
    
शिशुको अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको र अभिषेक तथा उनकी श्रीमती २८ वर्षीया पसुना तामाङको उपचार भइरहेको र उनीहरुको अवस्था गम्भीर रहेको चिकित्सकले बताएको उनले जानकारी दिए ।
    
प्रहरी नायब उपरीक्षक रेग्मीले भने, “गाउँको घर जस्तो होइन, सहरका घरमा ढोका र झ्याल लगाएपछि बाहिरबाट हावा ओहोरदोहोर गर्ने ठाउँ नै हुँदैन, यस्तो अवस्थामा आगो तापेर कोठामा सुत्दा अक्सिजन सकिएर स्वास फेर्न नसकेर ज्यान जान्छ, यस्तो मामिलामा सबैले सचेत भएर कोठाभित्र रातभरि आगो र हिटर बालेर सुत्नु हँुदैन, यो घटना पनि यसैको परिणाम हो ।”
    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप