
मछिन्द्रलाई पराजित गर्दै एपीएफ आहा राराको फाइनलमा

दश खेलाडीमा सिमित मछिन्द्र फुटबल क्लबलाई बुधबार ३–१ अन्तरले पराजित गर्दै विभागीय टोली एपीएफ फुटबल क्लब आहा रारा गोल्ड कपको फाइनलमा प्रवेश गरेको छ । सहिद स्मारक ए डिभिजन लिग लिडर मछिन्द्रलाई पराजित गर्ने क्रममा एपीएफका लागि सनिष श्रेष्ठ, प्रदीप लामा र कप्तान नवीन लामाले एक(एक गोल गरे । मछिन्द्रका ओमोलाजा करिमले सान्त्वना गोल गरे ।
पराजित भएसँगै मछिन्द्र प्रतियोगिताबाट बाहिरिएको छ । अब, उपाधिका लागि एपीएफले मनाङ मर्स्याङ्दी क्लब र त्रिभुवन आर्मी फुटबल क्लबको विजेतासँग खेल्ने छ ।
खेलको २५ औँ मिनेट एपीएफले अग्रता बनाएको थियो । मणि लामाको फ्रि(किकमा सनिषले हेड गोल गरे । खेलको ४० औँ मिनेटमा करिमले बराबरी गोल फर्काए । कप्तान रन्जित धिमालको फ्रि-किकमा करिमले बक्सबाट उत्कृष्ट हेड गर्दै बराबरी गोल गरे ।
खेलको ६८ मिनेटमा एपीएफले पुनः अग्रता बनायो । यसपटक प्रदीप लामाले गोल गरे । कप्तान नवीन लामाले मैदानको दायाँ भागबाट गरेको क्रसमा बक्सभित्रबाट प्रदीपले मछिन्द्रका गोलरक्षक सूर्य अधिकारीलाई बिट गर्दै सहज गोल गरे ।
खेलको इन्जुरी समयको आठौँ मिनेटमा कप्तान नवीन लामाले गोल गर्दा एपीएफले सहज जित पायो । आभास लामिछानेको प्रहार गोलरक्षक सूर्य अधिकारीले रोकेको रिबाउण्डमा नवीनले खाली पोष्टमा गोल गरे । खेलको दोस्रो हाफमा मछिन्द्र १० खेलाडीमा सिमित भएको थियो । रेफ्री कविन्द्र व्यञ्जनकारविरुद्ध आपत्ति जनाउँदै ‘डेड बल’ हिर्काएपछि करिमले दोहोरो पहेँलो कार्ड पाउँदै मैदान छाडेका थिए ।
प्रतियोगितामा दुबै टोली आफ्ना मुख्य खेलाडीबिना मैदान प्रवेश गरेका थिए । मछिन्द्रका गोलरक्षक विशाल श्रेष्ठसहित, देवेन्द्र तामाङ, सुजल श्रेष्ठ, विशाल राई, विमल घर्ती मगर, मनिष डाँगी, सुनील बल राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा रहेका छन् । यता, एपीएफका आशिष लामा बन्द प्रशिक्षणमा रहेका छन् ।
प्रतियोगिताको दोस्रो सेमिफाइनलमा भोलि (बिहीबार) हुनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ