मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

‘तराईका नागरिक खोप लगाउन उदासीन देखिए’

भत्तामा कर्मचारीको हालीमुहाली, स्वास्थ्यकर्मीको दरबन्दी खाली
शुक्रबार, १४ माघ २०७८, ०७ : २२
शुक्रबार, १४ माघ २०७८

प्रदेश १ मा कोरोना संक्रमण उच्च गतिमा फैलिएको छ । अस्पताल भर्ना हुने क्रम बढेको छ । बिहीबारसम्म अस्पताल भर्ना हुनेको संख्या ८१ पुगेको छ । सक्रिय संक्रमितको संख्या ७ हजार ३६४ पुगेको छ । ७ हजार २८३ जना होम आइसोलेसनमा छन् । संक्रमितको दर बढेसँगै यसको रोकथाम तथा नियन्त्रणमा भने सरकारको तयारी फितलो देखिएको छ । तथापि प्रदेश सरकारका  सामाजिक विकास मन्त्री जयराम यादव तयारी फितलो नरहेको दाबी गर्छन् ।

स्वास्थ्यकर्मीहरुले पाउनुपर्ने प्रोत्साहन भत्ता भने समयमा नपाएको मन्त्री यादवको स्वीकारोक्ति छ । संघीय सरकारका स्वास्थ्यमन्त्री विरोध खतिवडालाई उधृत गर्दै यादवले स्वास्थ्यकर्मीहरुको प्रोत्साहन भत्ता कर्मचारीले दुरुपयोग गरेको समेत सुनाए ।

स्वास्थ्यमन्त्री खतिवडा बिराटनगर आएको सुनाउँदै सामाजिक विकास मन्त्री यादवले रातोपाटीसँग भने, ‘बाँकी रहेको प्रोत्साहन भत्ता चाँडै निकासा गर्ने भन्दै प्रदेशका स्वास्थ्यकर्मीको तथ्याङक समेत टिपेर लानुभएको छ ।’ प्रदेश १ का जनतालाई खोप पर्याप्त रहेको दाबी गर्दै यादवले काठमाडौंबाट थप खोप आउनासाथ बालबालिकालाई खोप लगाइने बताए । तर, उनले तराईमा जनतामा खोपप्रति उदासीनता देखिएको दाबी गरे ।

मन्त्री यादवले भने, ‘प्रदेश सरकारले सार्वजनिक स्थलमा ‘खोप डेस्क’ स्थापना गरेको छ । तर, हिमाली र पहाडी जिल्लाभन्दा जनघनत्व बढी भएका तराईका नागरिकहरु खोप लगाउन उदासीन देखिएका छन् । उनीहरुलाई समेत खोपको दायरामा ल्याउन प्रदेश सरकारले विभिन्न पार्टीका भातृ संगठनका युवाहरु परिचालन गर्ने तयारी गरिरहेको छ ।’

मन्त्री यादवले प्रदेश १ मा स्वास्थ्यकर्मीहरुको भने अभाव रहेको बताए । उनले रातोपाटीसँग भने, ‘कोरोना संक्रमितको संख्या दैनिक बढ्दै गइरहेका बेला प्रदेशका अस्पतालहरूमा चिकित्सक तथा स्वास्थ्यकर्मीको दरबन्दी ५५ प्रतिशतसम्म रिक्त छ । मोरङ बाहेकका १३ वटा जिल्ला अस्पतालमा ५७९ चिकित्सक तथा स्वास्थ्यकर्मीको दरबन्दी रहेकोमा ३१९ जनामात्रै कार्यरत छन् ।’

प्रस्तुत छ, सामाजिक विकास मन्त्री यादवसँग कोरोना महामारीमा  प्रदेश सरकारले गरिरहेको तयारीबारे रातोपाटीकर्मी ध्रुव भट्टराईले गरेको कुराकानी–

प्रदेश १ मा खोप कार्यक्रम प्रभावकारीरुपमा अघि बढेको देखिँदैन, प्रदेश सरकारले सर्वसाधारणलाई खोप लगाउन किन नसकेको ?

यो कुरा बिल्कुलै गतल हो । सरकारले नियमित खोप कार्यक्रम सञ्चालन गरिरहेको छ । त्यसमा पनि पछिलो समय त प्रदेश सरकारले सार्वजनिकस्थलमा ‘खोप डेस्क’ स्थापना गरेको छ । तर हिमाली र पहाडी जिल्लाभन्दा बढी जनघनत्व भएका तराईका नागरिकहरु खोप लगाउन उदासीन देखिएका छन् । उनीहरुलाई समेत खोपको दायरामा ल्याउन प्रदेश सरकारले विभिन्न पार्टीका भातृ संगठनका युवाहरु परिचालन गर्ने तयारी गरिरहेको छ ।

प्रदेशभरि १८ वर्षमाथिका खोप लगाउने लक्षित जनसंख्या ३२ लाख ७५ हजार ८६६ छन् । यीमध्ये ६० प्रतिशतले पूर्ण मात्रा खोप लिएका छन् । पहिलो डोज खोप लिनेको लक्षित संख्या ७४.९ प्रतिशत छ ।

प्रदेशभरि १२ देखि १७ वर्ष उमेर समूहका खोप लगाउने लक्षित जनसंख्या ४ लाख ६९४ जना छन् । यीमध्ये ४०.२ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् । हालसम्ममा कोभिसिल्ड ७ लाख ४३ हजार ८९० आएकोमध्ये ५ लाख ८५ हजार १९० वितरण गरिएको छ । १ लाख ८५ हजार ७ सय खोप मौजदात छ ।

प्रदेशमा भेरोसेल २८ लाख ५६ हजार ३४६ डोज आएको थियो भने अस्ट्राजेनिका ५ लाख ८० हजार ८ सय र मोर्डना २ लाख ३४ हजार आएको थियो । यो सबै वितरण भइसकेको छ । दोस्रो मात्राका लागि ४४ लाख १५ हजार ३६ डोज खोप आएकोमा ४२ लाख ५५ ३३६ डोज वितरण भइसकेको छ । जोनसन एन्ड जोनसन ५ लाख ८८ हजारमध्ये ४ लाख ६५ हजार ९५० वितरण भएको छ भने १ लाख २२ हजार ५० बाँकी  छ ।

यस प्रदेशको कुल जनसंख्या ४९ लाख ९५ हजार १६२ मध्ये २२ प्रतिशत अर्थात ११ लाख ८ हजार ६८५ जनसंख्या मोरङमा छ । फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मीलाई लक्षित गरी बुस्टर डोज लगाउन थालिएको छ । संघीय सरकारबाट  खोप आउनेबित्तिकै १२ देखि १७ वर्ष उमेर समूहका साथै दुबै डोज पूरा गरेका नागरिकलाई बुस्टर डोज लगाउन शुरु गरिनेछ ।

प्रदेशका अस्पतालहरुमा जनशक्तिको अवस्था कस्तो छ ?

भएकै जनशक्तिबाट हामीले उपचार व्यवस्थापन मिलाइरहेका छौं । तर हामीसँग पर्याप्त स्वास्थ्यकर्मी भने अहिले पनि छैनन् । भोलिका दिनमा हामीले उचित स्वास्थ्य उपचार दिन नसक्ने अवस्था आएको खण्डमा करारमा स्वास्थ्यकर्मी लिने योजना बनाएका छौं ।

कोरोना संक्रमितको संख्या दैनिक बढ्दै गइरहेका बेला चिकित्सक र स्वास्थ्यकर्मीको भने समस्या छ । प्रदेशका अस्पतालहरूमा चिकित्सक तथा स्वास्थ्यकर्मीको दरबन्दी ५५ प्रतिशतसम्म रिक्त छ । प्रदेशमा मोरङ बाहेकका १३ वटा जिल्ला अस्पतालमा ५७९ चिकित्सक तथा स्वास्थ्यकर्मीको दरबन्दी रहेकोमा ३१९ जनामात्रै कार्यरत छन् । ती अस्पतालमा २६० चिकित्सक तथा स्वास्थ्यकर्मीको दरबन्दी रिक्त छ । प्रदेशका सबै जिल्लास्थित स्वास्थ्य कार्यालयमा १७३ दरबन्दीमध्ये ५४ दरबन्दी रिक्त छ ।

प्रदेश सरकारले सञ्चालन गरेको विराटनगरस्थित साल्ट ट्रेडिङको भवनमा ९६ शय्याको  कोशी कोभिड १९ उपचार केन्द्रमा समेत आवश्यक चिकित्सक तथा स्वास्थ्यकर्मीको व्यवस्था हुन सकेको छैन । सो उपचार केन्द्रमा नियमित सेवा प्रवाहका लागि १४ चिकित्सक, २३ नर्सिङ स्टाफ, हेल्थ असिस्टेन्ट ४, ल्याब टेक्नोलोजिस्ट, ल्याब टेक्निसियन २, रेडियोग्राफर गरी कुल ४५ जना आवश्यक रहेको छ ।

त्यसैले स्वास्थ्यकर्मी धेरै मात्रमा पदपूर्ति गर्नुपर्ने अवस्थामा छौं । त्यसका लागि अब चाँडै करारमा स्वास्थ्यकर्मी राखेर भए पनि स्वास्थ्य सेवा प्रवाह गर्ने तयारी प्रदेश सरकारले थालेको छ । जनशक्ति अभावमा उपचार सेवा प्रभावित हुन दिने पक्षमा प्रदेश सरकार छैन । सोहीअनुसारको आवश्यक व्यवस्थापनमा प्रदेश सरकार लाग्छ ।

सरकारले फ्रन्टलाइनर स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्ता दिएन भन्ने गुनासो सुनिन्छ नि ?

केही दिनअघि मात्र खोप अभियानको सन्दर्भमा स्वास्थ्यमन्त्री विरोध खतिवडाज्यू प्रदेश १ को बिराटनगर आउनुभएको थियो । मुख्यमन्त्रीको अध्यक्षतामा भएको सर्वदलीय छलफलमा मैले प्रष्टसँग प्रोत्साहन भत्ताका बारेमा कुरा राखेको छु । प्रोत्साहन भत्ता दिने सवालमा विगतका दिनमा के देखियो भने अलिकति माथिका साथीहरुका अनुसार जो कर्मचारीहरुले अफिसमा मात्र रहेर काम गरे, उनीहरुले नै फ्रन्टलाइनर भन्दा बढी सेवा सुविधा लिने र सरकारमाथि दायित्व थुपार्ने काम गरे ।

त्यसैले प्रोत्साहन भत्ता लक्षित जनशक्तिलाई मात्र दिने योजनाअनुसार काम भइरहेको स्वास्थ्यमन्त्री खतिवडाले बताउनुभएको छ । बाँकी रहेको प्रोत्साहन भत्ता चाँडै सरकारले निकासा गर्ने भन्दै प्रदेशका स्वास्थ्यकर्मीको तथ्याङक समेत टिपेर लानुभएको छ ।

प्रदेशको हकमा हिजोका दिनमा कोभिड १९ व्यवस्थापनका क्रममा अघिल्लो सरकारले धेरै रकमको दायित्व भुक्तानी गर्न बाँकी रहेको हामीले सरकारको नेतृत्व लिएपछि जानकारी भएको छ । त्यसैले सरकारको दायित्वमा आएको रकम भुक्तानी गर्नुपर्ने छ । यी सबै कुरा माथिल्लो ठाँउमा पनि जानकारी गराएका छौं र हामी प्रदेश सरकारले पनि रोकिएको भुक्तानी दिने प्रकृयालाई अघि बढाएका छौं । म मन्त्री भएपछि अहिले मैले हिमाली क्षेत्रमा कार्यरक्त विषेशज्ञ चिकित्सकलाई दैनिक ३ सय भत्ता दिने प्रस्ताव अघि बढाएको छु ।

त्यसै गरी पहाडी क्षेत्रमा कार्यरत विशेषज्ञ चिकित्सकको हकमा २५० र तराई मधेसमा कार्यरत चिकित्सकको हकमा २ सय रुपैयाँ भत्ता दिने योजनासहित अर्थ मन्त्रालय र आन्तरिक मामिला तथा कानून मन्त्रालयमा प्रस्ताव पठाएको छु । यो स्वीकृति हुने चरणमा छ ।

सीमा क्षेत्रमा होल्डिङ सेन्टर बनाउने कुरो कहाँ पुग्यो ?

प्रदेश १ मा निर्माणाधीन अवस्थामा रहेको २ हजार बेड क्षमताको होल्डिङ सेन्टर पनि सञ्चालनमा आउने प्रकृयामा  छ । विराटनगरको रानीमा रहेको १ हजार क्षमताको होल्डिङ सेन्टर हामीले सञ्चालनको तयारी थालेका छौं ।

प्रदेश सरकारले हाललाई सो होल्डिङ सेन्टरमा १ सय जना संक्रमित राख्ने गरी तयारी पूरा गरेको छ । अबको एक हप्तामा फेरि थप १ सयजना संक्रमित राख्ने गरी होल्डिङ सेन्टर सञ्चालनमा आउने छ । यसो हुँदा बन्द अवस्थामा रहेका आइसोलेसन सेन्टर र होल्डिङ सेन्टरसमेत सञ्चालनमा आएपछि संक्रमितको व्यवस्थापनमा देखिएको समस्या पनि हल भएर जानेछ । अर्कोतर्फ, तिब्र गतिमा कोरोना भाइरसको संक्रमित बढे पनि संक्रमितमा सामान्य लक्षण देखिने र उनीहरु करिब एक हप्तामा स्वस्थ हुने अहिलेको अवस्थाले पनि हामीलाई अहिले नै आत्तिइहाल्नुपर्ने अवस्था भने छैन ।

संक्रमण रोकथाम र नियन्त्रणमा प्रदेश सरकारको खास तयारीचाहिँ के छ ?

संघ, प्रदेश र स्थानीय सरकारबीचको समन्वयमा तीनै सरकारहरु अहिले जिम्मेवाररुपमा प्रस्तुत भइरहेका छन् । खास बजेट संघबाट व्यवस्थापन हुने गरेको छ । १४ वटै जिल्ला अस्पतालमा उपचारका लागि तयारी मिलाइएको छ । आवश्यक होल्डिङ सेन्टर सञ्चालनसँगै त्यसको व्यवस्थापन गर्ने लगायतका कार्यमा सरकार पूर्वतयारीको अवस्थामा छ । त्यसैगरी खोप अभियानलाई पनि साथसाथै अगाडि बढाइएको छ ।

लक्षित समुहका नागरिकलाई पूर्ण खोप प्रदान गर्न प्रदेश सरकारले सार्वजनिकस्थलमा ‘खोप डेस्क’ स्थापना गरेको छ । प्रदेश १ सरकारले सञ्चालन गरेको कोशी अस्पतालमा अक्सिजनको अभाव नहुने गरी प्रबन्ध मिलाएको छ । समग्रमा भन्नु पर्दा कोभिड १९ संक्रमण, रोकथाम, नियन्त्रण र उपचारका सम्बन्धमा सरकार सचेत बनेको छ र सोही अनुसारको गम्भिर ढंगबाट व्यवस्थापनको पक्षमा प्रदेश सरकार जुटेको छ ।

गम्भीर ढंगबाट जुटेको छ त भन्नुभयो, तर कामचाहिँ केके भइरहेको छ त ?

प्रदेश सरकारले कोभिड–१९ संक्रमितको संख्या बढ्न थालेसँगै अस्पतालहरू तयारी अवस्थामा राख्न पहल गरेको छ । संक्रमित बढेसँगै उपचारका लागि विरामी अस्पतालमा भर्ना हुने क्रम पनि बढेको छ । उनीहरुको यथोचित उपचारको प्रबन्ध मिलाउन सरकार आवश्यक तयारीमा जुटेको छ ।

अहिले प्रदेश सरकारले जिल्ला अस्पताल सहितका अस्पतालमा १ हजार १३६ वटा बेड  कोरोना संक्रमितको उपचारका लागि तयारी अवस्थामा राखिएको छ । ती अस्पतालमा ११७ वटा भेन्टिलेटरसहित १६९ आईसीयू, ३५७ एचडीयू, सामान्य बेड ३५९ र आइसोलेसन २५१ बेड तयारी अवस्थामा छन् । विगतको जस्तो अक्सिजन अभावको समस्या हुने छैन । त्यसको आवश्य व्यवस्थापन भइसकेको छ ।

धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, मेची प्रादेशिक अस्पताल, कोशी कोभिड १९ उपचार केन्द्र, कोशी अस्पतालका अतिरिक्त निजी अस्पतालहरू नोबेल मेडिकल कलेज, विराट मेडिकल कलेज, बीएण्डसी अस्पताल बिर्तामोड, न्यूरो अस्पताल विराटनगर लगायतका ठूला अस्पतालमा अक्सिजन प्लान्ट जडान भइसकेको छ । यी बाहेक पहाडी क्षेत्रका ६ वटा जिल्ला अस्पतालमा पनि अक्सिजन प्लान्ट जडान गरिएको छ ।

संक्रमण दर बढ्दै गएपछि विराटनगरको कोशी कोभिड अस्पतालको बेड संख्या वृद्धि गरिएको छ । चालु अवस्थामा रहेको ९६ बेडको अस्पतालमा थप ७६ बेड तयारी अवस्थामा राखिएको छ ।

धेरैजसो संक्रमित घरमै बस्न बाध्य छन् । यसले थप संक्रमण फैलने जोखिम निम्त्याएको छैन ?

हो, तपाईले भनेको कुरा पनि सत्य हो । प्रदेशमा रहेका सक्रिय संक्रमितमध्ये ७ हजार २८३ जना अहिले होम आइसोलेशनमा छन् । तर, पहिलो र दोसो लहरजस्तो अवस्था अहिले छैन । उनीहरुमा जटिल स्वास्थ्य समस्या देखिएको छैन ।

विस्तारै संक्रमणको दर बढ्दै गएपछि विगतमा सञ्चालन गरिएका आइसोलेसनहरु पुनः सञ्चालनका लागि स्थानीय तहसँग छलफल भइरहेको छ । चाँडै अब ती आइसोलेसनहरु पुनः सञ्चालनको प्रकृयामा आउनेछन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ध्रुव भट्टराई
ध्रुव भट्टराई
लेखकबाट थप