शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

निर्भिक अभयाको भयभित समय र डिप्रेसनसँगको विद्रोह

बिहीबार, २० माघ २०७८, १७ : १७
बिहीबार, २० माघ २०७८

लैजाउ मलाई, कतै कहीँ टाढा टाढा, थाकी सकेँ, कुर्दा कुर्दै,  अल्झिएका ती सपना प्यारा...

कोभिड महामारीसँगै थुनिएकी एक सर्जकका गुनासाका पंक्ति हुन् यी । कयौं सपना र योजनामा महामारी भारी बन्दा कोरिएका शब्दहरू हुन् । ‘घर भित्रै बस्दा बस्दा सपनाहरू थाकि सके, अहँ समयले कतै कहीँ जान दिएन,’ गायिका अभया सुब्बा भन्छिन्, ‘अब त कतै टाढा लैजाउ मलाई, अल्झिएका सपना पूरा गर्न देउ भनेर लेखेँ । ’

कोरोनाकै कारण २०७६ चैत ११ पछि साँच्चै थुप्रैका सपना टुटे, योजनाहरू भत्किए । अझ कला क्षेत्र त शून्यतामै अल्झियो । यही पीडाले सताएछ ‘रक स्टार क्विन’ अभयालाई ।

‘थुप्रै देश जाने योजना थियो, थुप्रै गीत सङ्गीतमाथि रहेर काम गर्ने सपना थिए तर, यसै यसै गुम्सिनु प¥यो,’ उनी सुनाउँछिन्, ‘हजारौंको भीडमा रमाउने मान्छे, घरभित्रै हराउनु पर्दा खै कसरी मान मान्दो रहेछ र !’

यिनै गुनासा, रहर अनि सङ्गीतको प्यास मेटाउन उनले नयाँ गीत बजारमा ल्याइन् ‘लैजाउ मलाई...’ । उनको यो गीतलाई धेरैले मन पराए । दर्शक स्रोताले युट्युबमा थुप्रै सकारात्मक प्रतिक्रिया दिइरहेका छन् । उनी स्वयंमले पनि प्रत्यक्ष रुपमा उत्तिकै राम्रा प्रतिक्रिया पाइरहेकी छिन् । उक्त गीतले उनको दुई अढाई वर्षदेखिको साङ्गीतिक प्यास मेटाइदिएको छ । नयाँ सृजनाका लागि उर्जा मिलेको छ ।

अर्कातर्फ गीतमा लिम्बु भाषाको समेत प्रयोग गरेर अभया सुब्बा आफ्नो समुदायको ध्यान खिच्न सफल देखिएकी छिन् । सुनाउँछिन्, ‘समयक्रम अनुसार हाम्रो आफ्नै भाषा पनि लोप हुनसक्छ, त्यसैले आफ्नै गीतमा समावेश गरेर ‘आर्काइभ’ गरेकी हुँ ।’

समय एकनासले चल्दैन । १९ वर्षका साङ्गीतिक करियरमा अभयाले थुप्रै किसिमका उतार चढाव ब्यहोरिन् । तर, लकडाउनको समय उनका लागि उति सहज भएन । उनी डिप्रेसनमा परिन् । सुनाउँछिन्, ‘लकडाउनमा मेरो सृजनशिलता नै हरायो । म डिप्रेस्ड भएँ । कहीँ जान पाइएन, सपनाहरु सबै बाँधिएर बसे । मस्तिष्क नै बोधो भयो ।’

‘म किबोर्ड चलाउँछु तर, हातका औँला चल्दैनन्, गीत गुनगुनाउँछु, सुर लाग्दैन, स्वर पुग्दैन’, मलिन भावमा सुनाउँछिन्,‘त्यो समय निकै डरलाग्दो थियो, अत्यासलाग्दो थियो ।’ त्यही अत्यासलाग्दो समयलाई पार गर्दै, त्यसैको विम्ब स्वरुप उनी ‘लैजाउ मलाई...’ लिएर बजारमा आएकी हुन् ।

‘मैले गीत नै बनाउन पाइनँ भने म डिप्रेसनमा जान्छु ।’ उनी डिप्रेसनको विषयलाई केहि सरल बनाउन खोज्छिन्, ‘हुन त म समय समयमा यस्तो समस्याबाट गुज्रिरहन्छु, अझ यो लकडाउनमा त धेरैमा यो समस्या भयो भन्ने सुनेकी छु । तपाईं हामी सबैमा त्यो भयो पनि होला, हैन र !’

सायद अलि धेरै सोच्न थालेकी छिन् अभया, ‘गीत तयार गर्ने तर, सोचे जस्तो कसैले नसुनिदिने, नचल्ने । कसैले यसै गाली गरिरहने, नराम्रो प्रतिक्रिया लेखिदिने जस्ता विषयले मन कता कता पिरोलिन्छ ।’ यद्यपि अझैसम्म साङ्गीतिक दुनियाँमा अभया भएर बाँच्न चाहन्छिन् उनी ।

एक निडर महिलाको परिचय छ उनको । साङ्गीतिक क्षेत्र मात्र नभएर हरेक क्षेत्रमा महिलाको उपस्थिति बलियो हुनुपर्छ भन्ने अभया नेपाली समाज र यसको रटानबाट भने केहि भयभित छिन् । ‘मनोरञ्जनकर्मी जहिले पनि युवा नै हुनुपर्छ भन्ने हाम्रो समाजको गलत रटान छ, यसले पनि मलाई सोचमग्न बनाउँछ,’ उनी आफैंलाई प्रश्न गर्छिन्, मनोरञ्जनकर्मी युवा नै हुनु पर्ने हो त ?’ उनी आफै जवाफ पनि दिन्छिन्, ‘म यो रटानमाथि विद्रोह गरिरहेकी छुु । लडिरहेकी छु ।’

यो त उनको कोरोनाकाल र लकडाउनको समयसँगको विद्रोह मात्र हो । उनले समय समयमा थुप्रै विद्रोह गरेकी छिन् । दार्जिलिङमा पढेर हुर्किएर नेपाली साङ्गीतिक दुनियाँमा रमाइरहेकी, रक स्टार अभयाका अरु थुप्रै आयाममाथि रहेर रातोपाटीका लागि कार्यक्रम ‘टक विथ द टप’ मा गिरिएको भिडियो संवाद :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मनोज न्यौपाने
मनोज न्यौपाने
लेखकबाट थप