शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ‘रन–वे’ पूर्वतिरबाट जोड्न बुद्ध एयरको आग्रह

बुधबार, २६ माघ २०७८, ११ : ३४
बुधबार, २६ माघ २०७८

राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको रनवेलाई पूर्वतिरबाट जोड्न बुद्ध एयरले आग्रह गरेको छ । एकै तर्फबाट उडान र जहाजको ‘ट्याक्सी–वे’ हुँदा एयर ट्राफिक स्वभाविक बढ्ने बताउँदै एयरले सो गल्ती नगर्न सरकारलाई आग्रह गरेको हो ।

राष्ट्रिय गौरवका आयोजना पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको हाल ७० प्रतिशत निमार्ण कार्य सम्पन्न भइसकेको छ । बाँकी कार्यहरु पनि धमाधम भइरहेका छन् । उक्त विमानस्थल सञ्चालनमा आएपछि बुद्ध एयरले पोखरामा ५ वटा जहाज राखी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान भर्ने योजनामा कार्य गरिरहेको छ ।

योजनाअनुसार बुद्ध एयरले पोखराबाट भारतको विभिन्न गन्तव्यहरुमध्ये शुरुवातमा नयाँ दिल्ली, देहारदुनमा सिधा अन्तर्राष्ट्रिय उडान भर्नेछ ।  त्यसैगरि पोखराबाट धौलागिरीदेखि सगरमाथासम्मको हिमश्रृंखला दृश्यावलोकन उडान तथा काठमाडौं र अन्य शहरहरूसँग आवश्यकता अनुसारको दैनिक सिधा उडानहरु भर्ने बुद्धको योजना रहेको छ ।

पोखरा अन्तर्राष्ट्रिय एयरपोर्टको पूर्वाधारमा ‘ट्याक्सी–वे’ लाई ‘रनवे’ को एकातर्फबाट मात्र जोडिएको हुँदा हाल सञ्चालनमा रहेको विमानस्थलभन्दा थोरै उडानहरु हुने निश्चितप्रायः देखिएको छ । हाल निर्माणधिन पोखरा अन्तर्राष्ट्रिय एयरपोर्टको पूर्व/पश्चिम ‘रन–वे’ को पश्चिम ‘रन–वे’लाई मात्र अन्त्यसम्म ‘टयाक्सी–वे’ ले जोडिएको छ । पश्चिमको ठूलो डाँडाका कारण विमान अवतरण पूर्वबाट मात्र सम्भव छ । तर पूर्वको रनवेलाई ‘टयाक्सी–वे’ ले जोडिएको छैन । यसैकारण विमानहरु उडान भर्नुपर्दा पश्चिमबाट मात्र सम्भव छ । यसले गर्दा ‘हवाई ट्राफिक’ बढ्न गई स्वतः कम उडानहरु हुने बुद्ध एयरको भनाइ छ ।

बुद्ध एयरले एक प्रेस विज्ञप्ति जारी गर्दै आधा रनवेसम्म मात्र भएको ‘टयाक्सी–वे’ लाई पूर्वको ‘रनवे’ को अन्त्यसम्म तुरुन्तै जोड्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ । विज्ञप्तिमा बुद्ध एयरका मार्केटिङ निर्देशक रुपेश जोशीले भने– ‘अहिले ‘रनवे’ र ‘टयाक्सी–वे’ को निर्माण सिमेन्ट कंक्रिटले भइरहेको छ, अब बाँकी ‘टयाक्सी–वे’ निर्माण गर्दा प्रक्रिया लम्बिने र निर्माण खर्च पनि महङ्गिने हुँदा विशेषज्ञको सल्लाह लिई ‘अलकत्राको पिच’ मात्र गरे पुग्ने बताए ।

पोखरा सर्वप्रिय पर्यटकीय गन्तव्य हो । पोखराको निर्माणाधिन अन्तर्राष्ट्रिय विमानस्थलले मुलुक तथा विशेषगरी गण्डकी प्रदेशमा ठूलो अवसर तथा रोजगारी सिर्जना गर्नेछ । यो विमानस्थल सञ्चालनमा आएपछि पचासौं लाख पर्यटकले गण्डकी प्रदेशको भ्रमण गर्नेछन् र विदेशी मुद्रा आर्जनको दायरा पनि फराकिलो हुने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप