बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

सुनसान पोखरा : सस्तो अफर हुँदा पनि छैनन् पर्यटक

होटल संघका अध्यक्ष भन्छन् ‘एक हजारमै डिलक्स रुम पाइन्छ’
शनिबार, २९ माघ २०७८, ०७ : ०९
शनिबार, २९ माघ २०७८

आन्तरिक तथा बाह्य पर्यटकका लागि पहिलो र प्रमुख गन्तव्य हो, पोखरा । प्राकृतिक सुन्दरता, साहसिक खेल र सफा सहरका कारण पर्यटकको प्रमुख गन्तव्य रहेको पोखरा यतिबेला सुनसान छ ।

साँझ परेपछि जाग्न सुरु गर्ने पोखरा यतिबेला रात पर्दा नपर्दै सुनसान हुन्छ । आन्तरिक तथा बाह्य पर्यटकले खचाखच हुने पोखरामा यतिबेला पर्यटक देख्नै मुस्किल छ । बाटोमा न त धेरै सवारीसाधन गुड्छन् न त पर्यटकहरू देखिन्छन् ।

पोखरा पुग्ने पर्यटकको प्रमुख आकर्षण रहने प्याराग्लाइडिङ, ढुङ्गा सयर आदि सुनसान जस्तै छन् । होटल र रेष्टुरेण्टहरुमा एक दुई जनाबाहेक अन्य ग्राहक भेट्न मुस्किल छ । फेवाताल वरिपरिको लेकसाइड भएर गुड्ने सवारीसाधन खाली खाली नै गुड्छन् । पर्यटकका लागि भन्दै खोलिएका पसलहरू समसाँझै बन्द हुन्छन् । अधिकांश समय व्यस्त रहने लेकसाइडका सडकमा पर्यटक देख्नै मुस्किलजस्तै छ ।

कुनै समय दैनिक करिब १ सय प्लेट थकाली खाना बेच्ने चौतारी भान्छा घर लेकसाइडका कर्मचारी ध्रुव भण्डारी पोखरामा पर्यटक देख्नै मुस्किल भएको बताउँछन् । आफ्नो भान्छा घरमा ग्राहक कुरिरहेका भण्डारी भान्छा घर खोल्नुभन्दा बन्द गर्नु नै अहिलेको लागि हितकर भएको बताउँछन् । बन्द गर्दा ग्राहकहरूमा नराम्रो सन्देश जाने भएकाले बाध्य भएर भान्छा घर खोले पनि यसले रेष्टुरेण्टको भाडा तिर्न पनि नपुग्ने बताउँछन् ।

भण्डारी भन्छन्, ‘पहिले हामीले औसतमा १ सय प्लेट थकाली खाना बेच्थ्यौँ । अहिले औसतमा ८ प्लेट खाना बेचिरहेका छौँ । यस्तो भएको ठ्याक्कै एक महिना भयो । अहिले रेष्टुरेण्टमा खाना खान आउने ग्राहकको त कुरै छाडौँ, सडकमा पनि पर्यटक देखिँदैनन् । किन यस्तो भएको हो, अचम्म लागिरहेको छ । विदेशी पर्यटक नआए पनि नेपाली पर्यटक त आउने गर्थे । अहिले त नेपाली पर्यटक पनि पोखरा आएका छैनन्, किन हो त्यसको कारण बुझ्न सकिरहेको छैन ।’

भण्डारीका अनुसार यतिबेला पोखरामा पर्यटक आगमन शून्य जस्तै छ । काम परेर आउने एकाध व्यक्तिबाहेक घुम्न भनेर पोखरा आउने ग्राहक भेट्नै मुस्किल हुने गरेको भण्डारीले बताए । उनी भन्छन्, ‘कहाँबाट किन आउनुभएको भनेर कसैलाई सोधियो भने कामले गर्दा आएकाहरू छन् । घुम्नकै लागि भनेर पोखरा आउने ग्राहक भेट्नै मुस्किल छ ।’

पोखरामा रहेका अधिकांश रेष्टुरेण्टहरुको हालत यस्तै छ । रेष्टुरेण्टमा खानका लागि कुनै व्यक्ति वा समूह गयो भने उनीहरू मात्रै हुन्छन् रेष्टुरेण्टहरुमा । अधिकांश रेष्टुरेण्टका टेबुल खाली हुन्छन् । वेटरहरू ग्राहक कुरेर त बसेका छन्, तर सधैँ व्यस्त रहने सडक नै सुनसान रहेपछि ग्राहक आउने कुरै भएन ।

डुङ्गा चलाउने नै अर्को डुङ्गामाथि !

पहिले दैनिक ५ सय जनाजतिले फेवातालमा डुङ्गा सयर गर्ने गर्दथे । तर अहिले फेवातालमा डुङ्गा चलाउनेहरू आफै एक अर्कोको डुङ्गामा बसिरहेका हुन्छन् । फेवातालमा डुङ्गा सयर गर्नेहरूलाई टिकट बेच्ने काम गर्दै आएका सन्देश गिरी अहिले पहिलेको तुलनामा २० प्रतिशत पनि पर्यटक नआएको बताउँछन् । टिकट काउण्टरभित्र मोबाइलमै केही खेलेर बसिरहेका सन्देश अहिले दैनिक १ सय जना पर्यटक पुग्न नि मुस्किल भएको बताउँछन् ।

सन्देश भन्छन्, ‘पहिले दैनिक ८० देखि ९० वटा डुङ्गा चल्थ्यो । अहिले दैनिक १५ वटाको हाराहारीमा मात्रै पालो आउँछ । १५ वटा भनेको त्यही ९० देखि १ सय जना हो, जबकि पहिले दैनिक करिब ५ सय जनाले डुङ्गा चढ्थे ।’

पोखरामा किन पर्यटक आएनन् भन्ने प्रश्नमा सन्देश कारण नै थाहा नभएको बताउँछन् । सन्देश भन्छन्, ‘अब कोरोनाको कारणले भनौं भने सबैले भ्याक्सिन लगाइसके । अहिले त ओमिक्रोन पनि हटिसक्यो भने नि हुन्छ । कोरोनाको डरले हो भन्ने पनि लाग्दैन । तर पनि मानिसहरू घुम्नका लागि आएकै छैनन् । कोरोनाकै कारण मानिसहरूसँग खर्च गर्ने पैसा नभएर पो हो कि ?’

प्याराग्लाइडिङको शुल्क आधा सस्तियो, तर चढ्ने आएनन्

विगत १० वर्षदेखि पोखरामा प्याराग्लाइडिङको उडान भरिरहेकी प्याराग्लाइडिङ पाइलट क्रिशु पौडेल अहिले प्याराग्लाइडिङ चढ्ने मान्छे आउनै छाडेको बताउँछिन् । पोखरामा पर्यटकको आगमन नै घटेको भन्दै यसको कारक कोरोनाको नयाँ भेरियण्ट ओमिक्रोन कारक हुन सक्ने बताउँछिन् ।

पौडेलले भनिन्, ‘पहिले हामीले प्रतिव्यक्ति ६ हजार ५ सय शुल्क लिएर आधा घण्टासम्मको उडान भर्ने गरेका थियौँ । अहिले पर्यटकको सङ्ख्यामा कमी आएसँगै हामीले मात्रै ३ हजार ५ सयमा उडान भरिरहेका छौँ । यो शुल्क भनेको ग्राहकलाई होटलदेखि नै पिकअप र ड्रप, फोटो तथा भिडियो र इन्सुरेन्ससहितको पैसा हो । यो पैसाले गरेको लगानीसम्म उठ्न सक्दैन । तर पनि ग्राहक नभएपछि सस्तोमै सेवा दिने भनेर शुल्क घटाइएको थियो । तर शुल्क घटाए पनि अहिले प्याराग्लाइडिङ गर्न आउने पर्यटक नै छैनन् ।’

क्रिशुले थपिन्, ‘मैले काम गर्ने कम्पनी भनेको ब्लू होराइजन प्याराग्लाइडिङ हो । उक्त कम्पनीले पहिले दैनिक औसतमा १५ वटाजति फ्लाइट गथ्र्यो । तर अहिले एक सातामा ५ वटाजति उडान गरिरहेको छ । कुनै समय ६ हजार ५ सय भएको शुल्क अहिले आधाले घटेको छ । तर शुल्क घटेपनि पर्यटक बढेका छैनन् । यही पेसामा अब कसरी बाँच्ने भनेजस्तो भएको छ । ग्लाइडरदेखि, हेल्मेट, गोप्रो आदि सबै पाइलटले नै किन्नुपर्छ । एकपटक यी सबै सामान किन्ने हो भने पाँच लाख रुपैयाँ पर्छ । तर यसबाट हुने आम्दानी अति नगन्य हुन थालेको छ । अब त पेसामै बस्न सकिँदैन कि जस्तो लाग्न थालेको छ । हामीले पाउने भनेको ६० प्रतिशत रकम मात्रै हो । अनि यत्रो रकम खर्च गरेर व्यवसायमा कसरी टिक्न सकिएला र ।’

एक हजारमै डिलक्स रुम !

कुनै समय कोठा पाउन मुस्किल हुँदा एउटै सामान्य कोठामा ३ हजार रुपैयाँसम्म शुल्क लिने पोखराका होटलहरुमा अहिले औसतमा एक हजार रुपैयाँमै कोठा पाउन थालिएको छ । होटलहरुले ग्राहक नै नहुनुभन्दा बरु सस्तोमै ग्राहकलाई राखेर आफ्नो खर्च जुटाउने भन्दै आधाभन्दा सस्तो मूल्यमा कोठा बेचिरहेको पश्चिमाञ्चल हाेटल व्यवसायी संघ, पाेखराका अध्यक्ष लक्ष्मण सुवेदीले बताए । सुवेदीका अनुसार नन स्टार होटलहरुले पहिले ३ हजार रुपैयाँमा बेच्ने कपल डिलक्स रुम अहिले एक हजार रुपैयाँमै बेचिरहेका छन् ।

सुवेदीले भने, ‘पोखराको होटलको मूल्य त अहिले ६० प्रतिशतभन्दा बढीले सस्तो छ । तपाईंले अहिले कपल डिलक्स रुम एक हजार रुपैयाँमै पाउनुहुन्छ भनेपछि कति सस्तो भएको होला आफै अनुमान गर्नुहोस् । आजको मितिमा तपाईंले स्ट्याण्डर्ड रुम मात्रै पाँचसय रुपैयाँमा पाउन सक्नुहुन्छ । स्टार होटलहरुले १२ हजारसम्म लिने रुमको शुल्क घटेर अहिले ३ हजार ५ सय रुपैयाँमा आएको छ । यो भन्दा सस्तो कहिले भएको थियो र । पोखरामा होटलको शुल्क त ६० प्रतिशतभन्दा बढीले घटेको छ ।’

संघका अध्यक्ष सुवेदीका अनुसार पर्यटक आगमनमा कमी आएसँगै अहिले होटलहरुले अति सस्तो अफर दिन थालेका छन् । स्टार होटलहरुले भ्यालेण्टाइन अफर भन्दै ७० प्रतिशतसम्मको छुट दिएका छन् । सर्भिस चार्ज र भ्याटसमेत जोडेर औसतमा ९ हजार पर्ने ब्रेकफास्टसहितको डिलक्स रुमको शुल्क यतिबेला ४ हजार ५ सयदेखि ५ हजार ५ सय रुपैयाँमा आइपुगेको छ ।

होटलमा १० प्रतिशत अकुपेन्सी !

पोखरामा रहेका अधिकांश होटलको हालत पनि उस्तै छ । कुनै समय होटलमा कोठा पाउन मुस्किल हुने पोखरामा यतिबेला आधा सस्तोमा होटलका कोठा पाइरहेका छन् । होटलको कोठाको मूल्य आधा सस्तो भएपनि पर्यटक नभएका कारण अकुपेन्सी भने १० प्रतिशतको हाराहारीमा मात्रै रहेको लेकसाइडस्थित होटल ल्याण्डमार्कका सञ्चालक ओम पाण्डेले बताए ।

पोखरास्थित होटल ल्याण्डमार्कमा ९० वटा डिलक्स, सुपर डिलक्स र सुइट रुमहरू रहेका छन् । तर जनवरी १० पछि औसतमा ८ वटा कोठा मात्रै बुक हुने गरेको होटलका सञ्चालक ओम पाण्डेले बताए । सरकारले सेमिनार, सभा र सम्मेलन गर्न रोक लगाएसँगै आफ्नो होटलको ग्राहक घटेको पाण्डेले बताए ।

पहिले आफ्नो होटलमा औसतमा ८० प्रतिशत अकुपेन्सी रहने गरेको भएपनि अहिले त्यो घटेर १० प्रतिशतमा रहेको पाण्डेले गुनासो गरे । उनले भने, ‘हामीले नेपाली नागरिकलाई नै १५ हजार रुपैयाँसम्म बेचेको सुइट रुमको शुल्क अहिले ७ हजारको हाराहारीमा दिइरहेका छौँ । १० हजारमा बेच्ने गरेको डिलक्स रुमको शुल्क सर्भिस चार्ज र भ्याट सहित जोडेर ५ हजार ५ सय रुपैयाँमा दिइरहेका छौँ । त्यति शुल्क पनि बुफे ब्रेकफास्ट सहितको शुल्क हो । यो भनेको हाम्रोजस्तो स्टार होटलका लागि खर्च धान्ने मात्रै हो । तर पनि होटलमा कम्तीमा ५० प्रतिशत अकुपेन्सी नहुँदा खर्च धान्न सकिँदैन । सस्तो मूल्यमा दिँदा पनि होटलका रुम खाली हुँदा मासिक लाखौँको घाटा हुन्छ । अहिले हामीले भ्यालेण्टाइन डे अफर भनेर अति सस्तोमा कोठा दिइरहेका छौँ । आशा गरौँ, फेब्रुअरी १४ ताका केही सुधार होला कि ।’

हवाई भाडा बढ्नु पनि पर्यटक आगमनमा कमीको कारण

कुनै समय पोखराका लागि उडान भर्ने विमान कम्पनीहरूले औसतमा २ हजार रुपैयाँमा उडान गर्ने गरेका थिए । तर अहिले त्यो भाडा बढेर औसतमा २ हजार ८ सय रुपैयाँ पुगेको छ । अझ एयरलाइन्स कम्पनीहरूले अफर दिँदा पोखराको उडान मात्रै १ हजार ५ सय रुपैयाँमा पनि गर्ने गरेका थिए । कुनै समय यति एअरलाइन्सले औसत भाडा नै १ हजार ८ सय रुपैयाँ बनाएको थियो । तर अहिले सबै विमान कम्पनीहरूले सस्तो भाडा नै २ हजार ६ सयभन्दा बढी बनाएका छन् ।

होटल व्यवसायी संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी पोखरामा पर्यटकको कमी हुनुको एक प्रमुख कारक हवाई भाडामा वृद्धि पनि रहेको बताउँछन् । सुवेदी भन्छन्, ‘अहिले ओमिक्रोनको डर भन्दा पनि हवाई भाडामा भएको वृद्धि पनि एउटा कारण हो । हुन त विमान कम्पनीहरूले पनि आफ्नो कस्ट क्याल्कुलेसन गरेर भाडा बढाएका होलान् । तर करिब एक हजार रुपैयाँले भाडा बढ्दा पनि पर्यटकहरू डाइभर्ट हुने सम्भावना रहन्छ । त्यो पनि एक कारक हुन सक्छ ।

सुवेदी जस्तै पोखराका होटल व्यवसायी ओम पाण्डे पनि हवाई भाडा वृद्धिले पनि पर्यटक आगमनमा असर गर्ने बताउँछन् । पाण्डे भन्छन्, ‘प्रति उडान एक हजार रुपैयाँले भाडा बढ्दा दुई जना व्यक्ति आउँदा र जाँदा ४ हजारको फरक पर्छ । ४ हजार रुपैयाँको फरक पर्दा त्यो रकम अन्य स्थानमा खर्च गर्न पाउँदा ठूलो रकम हुन्छ । हवाई भाडा वृद्धिले पनि केही असर गरेकोचाहिँ पक्कै हो ।’

रात्रिकालीन व्यवसाय बन्द हुँदा युवापुस्ता आउनै चाहेनन्

पोखरामा पर्यटक आगमनमा सुस्तता छाउनुको प्रमुख कारण भने रात्रिकालीन व्यवसायमा लागेको रोक नै हो । युवापुस्ताले ज्यादै रुचाउने क्लबहरू करिब एक महिनादेखि बन्द नै छन् । क्लबहरू बन्द भएपछि रात्रिकालीन जीवनमा रमाउने युवापुस्ता पोखरामा आएका छैनन् । धेरै मानिसहरू एकपटक पोखरा आइसकेको हुनाले नयाँ स्वाद वा आकर्षण नभई त्यसै पोखरा आउन चाहँदैनन् । तर मनोरञ्जनको वातावरण नभएको कारण पनि युवापुस्ता पोखरामा नआएको धेरै व्यवसायीको गुनासो छ । पोखरामा पर्यटक आगमनमा शून्यता छाउनुको कारण रात्रिकालीन व्यवसायमा लागेको प्रतिबन्ध नै रहेको धेरै व्यवसायीको गुनासो छ । अब फागुन १ गतेपछि रात्रिकालीन व्यवसाय खुला भएसँगै पर्यटक आगमनमा पनि वृद्धि हुने व्यवसायीको आशा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप