शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

राजनीतिमा वैदेशिक शिक्षाको दबाब र प्रभाव

मङ्गलबार, ०३ फागुन २०७८, १२ : १८
मङ्गलबार, ०३ फागुन २०७८

आजको सूचना प्रविधिले निर्माण गरेको २१औँ शताब्दीको ज्ञानात्मक तथा भूमण्डलीकृत समाजमा प्राचीन शैक्षिक इतिहासलाई विभाजन गरेजस्तो स्वदेशी र विदेशी शिक्षा भनी विभाजन गर्नु समय सान्दर्भिक हुँदैन । यो मान्यताले समकालीन दुनियाँमा धेरै महत्त्व पनि राख्दैन । पेसा, व्यवसाय वा आर्थिक क्षेत्रमा वैदेशिक शिक्षाले देशमा राम्रो प्रभाव पारेको कुरामा कसैको दुई मत छैन । तर राजनीतिक क्षेत्रमा भने वैदेशिक शिक्षाको प्रभाव सकारात्मक रहेको देखिन्न । यसको पछिल्लो प्रतिनिधिमूलक उदाहरण हो– अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई हेर्ने दृष्टिकोणमा फरक मत । 

अहिले नेपालको राजनीतिमा सबैभन्दा बढी चर्चा छ भने त्यो एमसीसी नै हो । सत्ता गठबन्धन भत्किने र राजनीतिमा नयाँ ध्रुवीकरण हुने हल्ला पनि यसैले निर्माण गरेको छ । यो विषयले नेपालकोे घरेलु मामिलालाई मात्र होइन, बाह्य मामिलालाई पनि त्यत्तिकै गिजोल्ने देखिन्छ । देशको राष्ट्रियता र सार्वभौमिक अखण्डतासँग जोडिएको विषयलाई नेताहरूले जसरी सामान्य वैदेशिक सहायताका रूपमा अथ्र्याउँदै जनमत निर्माण गर्दैछन्, देशका लागि त्यो दुर्भाग्यको विषय हो । अब यो विषयमा कसले ? के कस्ता अभिव्यक्ति दिँदै आएका छन्, उनीहरूको शैक्षिक धरातल के हो ? त्यसको खोजी गरौँ । 

नेपाली काँग्रेसका पार्टी सभापति प्रधानमन्त्री शेरबहादुर देउवा (बेलायत), महामन्त्री गगन थापा, नेता मीनेन्द्र रिजाल, नेता रामशरण महत अमेरिकी शिक्षालयबाट दीक्षित नेता हुन्; जसले अग्र मोर्चामा रहेर एमसीसीका पक्षमा वकालत गर्दै आएका छन् । उनीहरूकै स्वर र स्तरमा उठेर समाजवादी पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पनि एमसीसीको समर्थन गरेका छन् । उनी भारतीय शिक्षालयका उत्पादन हुन् । 

शिक्षा आर्जन गर्नु भनेको ज्ञान आर्जन गर्नु हो । व्यक्तिले ज्ञान आर्जन गर्दैमा उसमा बुद्धि या विवेक पनि प्रस्फुटन हुन्छ भन्न सकिन्न । पढेको ज्ञानले बुद्धि या विवेकलाई उजागर गर्न सकेन भने त्यो ज्ञान अधुरो हुन्छ । त्यस्तो ज्ञानले व्यक्तिको चौतर्फी विकास गर्न सक्दैन । आधुनिक शिक्षाले ज्ञान दिन्छ तर विवेक र बुद्धि दिन्छ नै भन्न सकिन्न । विवेक भनेको अन्तस्करणको अभिव्यक्ति हो । विवेक बिनाको ज्ञानको घेरा सङ्कुचित हुन्छ । त्यसले सार्वजनिक जीवनमा कुनै अर्थ राख्दैन । विवेकरहित ज्ञानले सही र गलत छुट्याउँदैन । यो शिक्षाले व्यक्तिलाई यान्त्रिक र वैयक्तीकरण तर्फ डोर्याउँछ । सामूहिक हित वा स्वार्थलाई गौण ठान्छ । व्यक्तिगत स्वार्थलाई प्रधान ठान्छ । यस्तो ज्ञान आर्जनबाट धन दौलत, विकाउ, ख्याति किन्न सकिन्छ, क्षणिक सुख, भोग विलास खरिद गर्न सकिन्छ । यी सबै आधुनिक शिक्षा प्रणालीका खराबी हुन् । 

आधुनिक ज्ञान (अङ्ग्रेजी शिक्षा प्रणाली) लाई आधुनिक शिक्षा पनि भनिन्छ । त्यो शिक्षाबाट दीक्षित नेपालका नेताहरूमा अङ्ग्रेजी शिक्षा (ज्ञान)को प्रत्यक्ष प्रभाव परेको देखिन्छ । उनीहरूमा बढ्दो व्यक्तिगत स्वार्थ, महत्त्वाकाङ्क्षा त्यसैको परिणति हो । राष्ट्र, राष्ट्रियता र देश–प्रेम जस्ता राष्ट्रको जीवनमा महत्त्व राख्ने विषयलाई गौण ठान्ने र विदेश र विदेशीका विषयलाई महत्त्व दिने तथा प्राथमिकतामा राख्ने सोच दास मानसिकताको उपज र अङ्ग्रेजी शिक्षाको प्रभाव हो । 

 अङ्ग्रेजी शिक्षा (कानुन विषय) अध्ययन गर्न बेलायत गएका महात्मा गान्धीलाई एलएलबी विषयको तेस्रो वर्षमा आफ्नो विषयसँग सम्बन्धित कुनै एक विषयमा शोध गर्नुपर्ने हुन्थ्यो । त्यसका लागि उनले दक्षिण अफ्रिकाको रङ्गभेद नीति र यसले पारेको प्रभावको विषयमा अध्ययन गर्ने निधो गरे । सो अध्ययन पूरा गर्ने उद्देश्यले गान्धीले बेलायतबाट दक्षिण अफ्रिकाका लागि रेलको टिकट खरिद गरे । उनलाई रेल यात्राको क्रममा सँगै बसेको गोरे (बेलायती) ले मानसिक र शारीरिक पीडा दियो ।  गान्धीलाई पीडा दिनुको कारण थियो । उनले रेलको यात्रा गर्दा ए क्लासको टिकट खरिद गरी गोरेसँगै यात्रा गर्नु । 

पश्चिमा मुलुकहरू विशेषतः अमेरिका र बेलायतमा रङ्गभेद हट्दै थियो । तर दक्षिण अफ्रिकामा भने जीवितै थियो । त्यहाँ गोरा जातिबाहेक अन्य वर्ण या जातिका व्यक्तिलाई ‘ए’ कलासको टिकट खरिद गरी सार्वजनिक सवारी साधनमा यात्रा गर्नु अपराध ठानिन्थ्यो । यो घटनाले गान्धीलाई असाध्य पीडाबोध गरायो । उनमा अङ्ग्रेजसँगै अङ्ग्रेजी शिक्षाप्रति पनि नकारात्मक धारणा बन्यो । उनले बीचमै पढाइ छाड्ने निधो गरी स्वदेश (भारत) फर्के । स्वदेश फर्केर अङ्ग्रेजविरुद्ध अहिंसावादी आन्दोलनको नेतृत्व गरे । यससँगै उनले स्वदेशी शिक्षामा जोड दिन थाले । अङ्ग्रेजले आफूप्रतिको हिंसा र विभेद गरेको पीडालाई गान्धीले जसरी राष्ट्रप्रेम र राष्ट्रिय स्वाधीनतामा रूपान्तरण गरे । अहिले गान्धीकालीन अवस्था छैन तापनि उनको स्वदेशी शिक्षाप्रतिको प्रेम उत्तिकै उदाहरणीय मानिन्छ । 

अमेरिकी शिक्षा प्रणाली विश्वमै राम्रो मानिन्छ । तेस्रो विश्वका अधिकांश देशका नागरिक र बहुसङ्ख्यक नेताहरूले बेलायत, अमेरिका र युरोपका शिक्षालयहरूबाट विद्यालय तह र उच्च शिक्षासम्मको ज्ञान आर्जन गरेका छन् । नेपालका प्रधानमन्त्री देउवाजस्तै युरोप, एसिया, अफ्रिकाका अधिकांश देशहरूका प्रधानमन्त्री, राष्ट्रपतिदेखि देशको उच्च तहको प्रशासकसमेत विदेशी शिक्षा आर्जन गरी नेतृत्व तहमा पुगेका छन् । 

छिमेकी देश चीनका पूर्वराष्ट्रपति देङ स्याओफिङले आन्तरिक युद्ध या बाह्य हस्तक्षेप (चीन–जापान युद्ध) कारण विस्थापति भएका चिनियाँ युवाहरू जो अमेरिका लगायत पश्चिमा देशहरूमा अध्ययन गरी विदेशमै थिए, ती युवाहरूलाई आफू राष्ट्रपति भएपछि स्वेदश फर्कन आह्वान गरे । आह्वानसँगै उनीहरूले विदेशमा आर्जन गरेको ज्ञान र सीपअनुसारको रोजगारी स्वदेशमा दिने प्रतिबद्धता पनि व्यक्त गरे । देङको यो आह्वान र प्रतिबद्धताले लाखौँ सङ्ख्यामा विदेशिएका चिनियाँ युवाहरू स्वतस्फूर्त रूपले स्वदेश फर्कने वातावरण निर्माण भयो । तिनै चिनियाँ युवाहरू जो अङ्ग्रेजी या आधुनिक शिक्षाबाट दीक्षित थिए, उनैले आधुनिक चीनको स्वाधीनता, स्वाभिमान र विकासलाई संसारमै हेर्नलायक बनाएका छन् । चिनियाँ युवामा अङ्ग्रेजी शिक्षा र पश्चिमा शिक्षालयहरूको नकारात्मक प्रभाव परेको देखिएन । उनीहरूलाई पश्चिमा शिक्षाले देशको स्वाभिमान र स्वाधीनता उच्च राख्न सिकायो । विडम्बना नेपालका नेताहरूलाई अङ्ग्रेजी शिक्षाले उनीहरूको बफादार सिपाही, आज्ञापालक बनायो । यो बाबुराम भट्टराईको हकमा पनि लागू हुन्छ । उनलाई पनि बेलाबखत भारतीय शासकहरूले बाबुराम हाम्रो उत्पादन हो भनी मनोवैज्ञानिक दबाब दिने गर्छन् ।

विदेशी शिक्षाको प्रभाव र दबाबलाई न्यूनीकरण गर्न स्वदेशकालीन शिक्षा (मौलिक शिक्षा)को विकास र प्रवद्र्धन गर्न आवश्यक हुन्छ । नेपालमा प्राचीनकालीन र मध्यकालीन शिक्षालाई मौलिक र स्वदेशीकालको शिक्षा भनी फ्रान्सेली शिक्षाविद् सिल्भान लेभीले विभाजन गरेका छन् । लिच्छविकाललाई नेपालको इतिहासमा स्वर्णयुगको नामले पनि चिनिन्छ । साहित्य, कला, संस्कृति, आर्थिक क्षेत्रमा उल्लेख्य विकास भएको ऐतिहासिक ग्रन्थहरूले पुष्टि गरेका छन् । तत्कालीन समयमा स्वदेशी उत्पादनलाई महत्त्व दिइएको, चीनसँगको व्यापार राम्रो रहेको देखिन्छ । यसको पछाडि नेपालको वैदिक र बौद्ध शिक्षाको  प्रभाव मुख्य रहेकोे भनाइ रहेको छ । तत्कालीन राणा प्रधानमन्त्री जङ्गबहादुर बेलायतबाट फर्केपछि विसं १९१० मा दरबार हाई स्कुल स्थापना गरेसँगै नेपालमा विदेशी शिक्षाको (अङ्ग्रेजी शिक्षा) ले प्रवेश पायो । योसँगै विदेशी शिक्षाको महत्त्व र प्रभाव घट्दै गएको देखिन्छ ।

 विसं २००७ सालको राजनीतिक परिवर्तनपछि २००९ सालमा परिवर्तित व्यवस्थाअनुसारको शिक्षा व्यवस्था लागू गर्ने प्रयोजनका लागि सरदार रुद्रराज पाण्डेको अध्यक्षतामा नेपाल राष्ट्रिय शिक्षा योजना आयोगको गठन भयो । यो आयोगको सल्लाहकारमा अमेरिकी विश्वविद्यालयका प्रोफेसर एचबी उड नियुक्त भएका थिए । यो आयोगले प्रोफेसर उडको सल्लाहअनुसारको नेपालमा शिक्षा व्यवस्था लागू गर्न २०११ सालमा ‘नेपालमा शिक्षा’ नामक प्रतिवेदन नेपाल सरकारलाई बुझायो । यो शिक्षा योजना नेपालको माटो सुहाउँदो (मौलिक) नभएको अमेरिकी शिक्षाको प्रभाव रहेको भनी व्यापक आलोचना भयो । त्यसपछि बनेका शिक्षा आयोगका धेरै प्रतिवेदनहरूमा अङ्ग्रेजी शिक्षाको प्रत्यक्ष प्रभाव परेको देखिन्छ । मौलिक शिक्षा अनुकूलको पाठ्यक्रम र पाठ्यपुस्तक निर्माणमा जोड दिनुपर्ने बहसको सुरुवात भएको छ । दब्बु मानसिकता भएका नेता  निर्माणमा अङ्ग्रेजी शैक्षिक प्रणालीको प्रभाव रहेको आँकलन गर्न थालिएको छ ।

अङ्ग्रेजी शिक्षाको प्रभाव र दबाबसँगै संस्कृत भाषालाई मृत भाषा नामकरण गरियो । संस्कृत शिक्षालाई राजा महाराजा र अध्यात्मसँग जोडेर हेर्न थालियो । पश्चिमाहरू त्यही संस्कृत शिक्षाको विषयमा खोज अनुसन्धान गर्दैछन् । विद्यालय तहको पाठ्यक्रममा नैतिक शिक्षा हटाइयो । राष्ट्र–प्रेम र राष्ट्रियताको प्रवद्र्धन गर्ने कार्यक्रमहरू (राष्ट्रिय पर्वहरू) लाई विद्यालयहरूले महत्त्व दिन छाडे । प्राविधिक शिक्षाका नाममा शिक्षालाई व्यापारीकरण गर्दै लगियो । शिक्षालाई वस्तुको रूपमा सहज रूपमा किन्न सकिने साधन बनाइयो । यी सबै विकृतिहरू पश्चिमी शिक्षाका दुष्प्रभाव हुन् । 

अब नेपालको समग्र शिक्षा व्यवस्थालाई नयाँ ढङ्गले सोच्नुपर्ने भएको छ । मौलिक शिक्षाको विकासले मात्र अङ्ग्रेजी शिक्षाको प्रभावलाई घटाउन सकिन्छ । एमसीसीको विषयमा विदेश अध्ययन गरेर आएका नेता, बुद्धिजीवीहरू विरुद्ध स्वदेशी विश्वविद्यालय (त्रि.वि.) मा अध्ययन गरेका एमालेका नेता डा. भीम रावल र माओवादी केन्द्रका नेता लीलामणि पोख्रेलको वाद, प्रतिवादभित्र देश प्रेमको सुवास भेट्टाउन सकिन्छ । यसमा स्वदेशी वा मौलिक शिक्षाको प्रभाव रहेको रूपमा बुझ्नुपर्छ । 

अङ्ग्रेजी शिक्षा पढ्दैमा विदेशी शिक्षाप्रति घृणा गर्नु पर्दछ भन्ने कदापी होइन । तर विदेशी शिक्षाको दबाब र प्रभावमा व्यक्तिमा पर्नु भएन । अङ्ग्रेजी शिक्षालाई राष्ट्र–प्रेम र राष्ट्रियताको जगेर्ना गर्ने साधन बनाउन सक्ने सक्षम र स्वाभिमानी नागरिक, प्रशासक, नेता बन्न र बनाउन सक्दैन । यसले विदेशीको इसारामा चल्ने दलाल र दब्बु नेता, प्रशासक या नागरिक तयार गरेको छ । नेपालको समग्र शैक्षिक प्रणालीको सुधार र पुनर्संरचानले मात्र विदेशी शिक्षाको दबाब र प्रभावलाई परास्त गर्न सक्ने शैक्षिक जनशक्ति निर्माण गर्न ढिलो भइसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा.शिवराज पण्डित
डा.शिवराज पण्डित
लेखकबाट थप