मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

काँग्रेसको जिल्ला अधिवेशन : बाँकेमा सभापतिका लागि ३ जना मैदानमा

सभापति छान्न देउवालाई सकस
आइतबार, १५ फागुन २०७८, १० : ०८
आइतबार, १५ फागुन २०७८

लुम्बिनी प्रदेशको बाँके जिल्लामा नेपाली काँग्रेसको नेतृत्व छान्न रस्साकस्सी सुरु भएको छ । १५ गते हुने जिल्लाको १४ औँ अधिवेशनमा सभापतिका लागि आधा दर्जन आकाङ्क्षीको नाम चर्चामा रहे पनि अन्तिममा ३  जना निर्वाचनको मैदानमा उत्रने भएका छन् ।

बाँके जिल्ला नेतृत्वका लागि संस्थापन समूहबाटै दुई जना उम्मेदवार देखिएका छन् भने इतर समूहबाट एक जनाले उम्मेदवारी दिएका छन् । त्यसो त, बाँकेको सभापतिका लागि चार जनाले उम्मेदवारी दिएका थिए । इतर समूहबाट नारायणप्रसाद गौडेल तथा संस्थापन समूहबाट सुरेन्द्रबहादुर हमाल, बादशाह कुर्मी र सुनिल नरसिंह राणाले सभापतिका लागि उम्मेदवारी दर्ता गराए पनि अन्तिम समयमा राणाले फिर्ता लिएका हुन् ।

सभापतिमा शेखर कोइराला समूहबाट नारायणप्रसाद गौडेलले उम्मेदवारी दर्ता गरेका छन् । उनको प्रस्तावक र समर्थकमा काँग्रेस बाँकेका सभापति किरण कोइराला र क्षेत्र नं. १ का क्षेत्रीय सभापति पोषण केसी छन् ।उता  संस्थापन समूहबाट लुम्बिनी प्रदेशका वनमन्त्री सुरेन्द्र हमाल, पूर्व सांसद बादशाह कुर्मी छन् । हमालको प्रस्तावक र समर्थकमा नरेन्द्र थापा र रोशनकुमार श्रेष्ठ छन् भने कुर्मीको प्रस्तावक र समर्थकमा मो. नक्की खाँ छन् ।

जिल्ला उपसभापतिमा गोपालप्रसाद अधिकारी, राजकुमार मौर्य, सुदीपनरसिंह राणा र कृष्णा कार्कीले उम्मेदवारी दर्ता गरेका छन् । सचिवमा सुधांशु कोइराला, टंकप्रसाद कार्की (आशिष), रवीन्द्र हमाल र सञ्जुकुमारी चौधरीले उम्मेदवारी दिएका छन् । यस्तै सहसचिवमा रेणुसिंह ठाकुर, विश्वराज लम्साल, पूर्णकुमार सिंह ठकुरी (पुरन) र विनोद थारूले उम्मेदवारी दर्ता गरेका छन् ।

१९ गते मतदान हुने निर्वाचन मण्डलले जनाएको छ । जिल्ला समन्वय समिति बाँकेमै यही फागुन १९ गते बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म मतदान हुनेछ । लुम्बिनीका अन्य जिल्लामा अधिवेशन सम्पन्न भइसकेको छ ।

बाँके जिल्ला काँग्रेसका पूर्व सभापति सुशील कोइरालाको पारिवारिक पकड छ । सुशीलकी भाइबुहारी किरण कोइराला वर्तमान जिल्ला सभापति नै हुन् । सभापति कोइराला झिनो मतले केन्द्रीय सदस्य पदमा पराजित भएकी थिइन् ।

कोइराला परिवारलाई काउन्टर दिनको लागि देउवा समूहले पनि वर्षौंदेखि आफ्नो रणनीति बनाएको कार्यकर्ताहरू बताउँछन् । जसका कारण बाँकेमा दुवै समूहबाट केन्द्रमा पकड राख्ने नेताहरू छन् । संस्थापन इतर समूहका नारायण गौडेलले सभापतिमा उम्मेदवारी दिने घोषणा धेरै पहिले गरेका थिए । उनी पूर्व क्षेत्रीय सभापति तथा यसअघिको जिल्ला सभापतिको दौडमा समेत सहभागी भएका नेता हुन् । उनले सभापतिको लागि लामो समयदेखि कसरत गरेका थिए ।

यता संस्थापन पक्षबाट सुरुमा ५ जना आकाङ्क्षी देखिएका थिए । लुम्बिनी प्रदेशका वन तथा भूसंरक्षण मन्त्री सुरेन्द्र बहादुर हमाल, संविधानसभा सदस्य बादशाह कुर्मी, वर्तमान जिल्ला उपसभापति सुनिल नरसिंह राणा, पूर्व क्षेत्रीय सभापति राजु बर्मा र नेविसंघका पूर्व जिल्ला सभापति एवं नेपाली काँग्रेस क्षेत्रीय प्रतिनिधि निरञ्जन सिंजापतिले सभापतिमा आकांक्षा राखेका थिए ।

अन्तिम समयमा तीन जना ‘ब्याक’ भए पनि संस्थापन पक्षबाटै दुई जना चुनावी मैदानमा उत्रिने भएका छन् । प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवालाई बाँकेमा आफ्नो समूह मिलाउन सकस देखिएको जानकारहरूको बुझाई छ ।

पहिलो चरणमै नतिजा आउन कठिन

बाँके जिल्ला अधिवेशन पटक पटक सर्दै आएको छ । संस्थापन पक्षबाट अहिले दुई जना उम्मेदवार देखिए पनि अन्तिम समयमा हस्तक्षेप गरी एक जनालाई मात्र मैदानमा उतार्ने सम्भावना रहेको देउवा पक्षका कार्यकर्ताहरू बताउँछन् ।

सभापति पदमा विजयी हुन ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्ने वैधानिक व्यवस्था रहेका कारण तीनै जना उम्मेदवार बनेको अवस्थामा पहिलो चरणमै कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसक्ने कार्यकर्ताको आँकलन छ । संस्थापन समूहबाट उम्मेदवारी दिएका नेता हमाल तुलनात्मक रूपमा बलियो मानिए पनि आफ्नै समूहबाट सहयोग नपाएकाले पहिलो चरणमा नतिजा निस्कन नसक्ने उनीहरू बताउँछन् । पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेको अवस्थामा सर्वाधिक मत ल्याउने दुई उम्मेदवारबीच दोस्रो चरणमा चुनाव गराइन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप