शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

काँग्रेस अधिवेशन : मकवानपुरमा नेतृत्वका लागि सहमति खोज्ने कि दोस्रो चरणको निर्वाचन ?

सभापति पदमा संस्थापन पक्षकै दुई उम्मेदवार भिड्दै
मङ्गलबार, १७ फागुन २०७८, ११ : ४४
मङ्गलबार, १७ फागुन २०७८

नेपाली काँग्रेसको मकवानपुर जिल्ला अधिवेशन थप रोचक बनेको छ । जिल्ला नेतृत्व चयनका लागि सोमबार सम्पन्न मतदानमा सभापति पदमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत प्राप्त गर्न नसक्दा दोस्रो चरणमा मतदान गर्नुपर्ने भएको छ । जिल्ला नेतृत्वका लागि संस्थापन पक्षका दुई उम्मेदवारबीच दोस्रो चरणको निर्वाचन हुने भएपछि चुनावी सरगर्मी पनि बढेको छ । संस्थापन इतर पक्षका उम्मेदवार जयराम लामिछानेले सोमबार भएको मतदानमा ५३१ मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गरे । उनी सभापति पदको रेसबाट बाहिरिएका छन् ।

काँग्रेस मकवानपुरको आगामी नेतृत्वको लागि संस्थापन पक्षकै दुई उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको हो । सोमबारको मतदानमा कुल १७७५ मत खसेकोमा सभापति पदमा संस्थापन पक्षका उम्मेदवार बुद्ध लामाले सबैभन्दा बढी ५९५ मत प्राप्त गरेका थिए । यद्यपि त्यो जितका लागि पर्याप्त भएन । काँग्रेसको विधान अनुसार सभापति पदमा निर्वाचित हुन कुल खसेको मतको कम्तीमा ५१ प्रतिशत मत प्राप्त हुनुपर्छ । तर, लामाले प्राप्त गरेको मत ५१ प्रतिशत नपुग्दा सभापतिमा पुनः मतदान हुने भएको हो ।

संस्थापन पक्षका अर्का उम्मेदवार आनन्दराम पराजुलीले सोमबारको निर्वाचनमा ५४५ मत प्राप्त गर्दै दोस्रो भए ।

नेपाली काँग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँ पार्टीमा मात्र नभइ मकवानपुरका जनताले रुचाएका नेता हुन् । मकवानपुरको दुवै निर्वाचन क्षेत्रमा आफ्नो बलियो पकड बनाएका बानियाँको पार्टी संगठनभित्र पनि दरिलो प्रभाव कायम गरेका छन् । पार्टीको जिल्ला नेतृत्वमा बानियाँको भूमिका निर्णायक हुने अपेक्षा गरिएको छ ।

मकवानपुरको सभापतिमा बानियाँको समर्थन लामालाई थियो भने पराजुली कार्यकर्ताको साथ र विश्वासको भरमा सभापति बन्ने दौडमा थिए । त्यसो त पराजुलीलाई मकवानपुरकी नेतृ एवम् नेपाली काँग्रेसकी सह–महामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’को समर्थन थियो ।

नेतृत्व चयनका लागि भएको निर्वाचनमा लामाले सोचेजस्तो सफलता हात पार्न सकेनन् । परिणामस्वरुद्ध ५० प्रतिशत मत कटाउन नसक्दा दोस्रो चरणमा निर्वाचन गर्नुपर्ने अवस्था आएको हो ।

सहमति कि दोस्रो चरणको निर्वाचन ?

काँग्रेस मकवानपुर सभापतिको लागि अब पराजुली र लामाबीच चुनावी प्रतिस्पर्धा वा सहमति खोज्ने भन्ने दुई वटा विकल्प देखिएको छ । हालसम्म सहमति वा चुनावी प्रतिस्पर्धा, के हुन्छ भन्ने यकिन भइसकेको छैन ।

स्रोतका अनुसार पहिलो चरणको निर्वाचनअघि केन्द्रीय सह–महामन्त्री डीना र बागमती प्रदेश सभापति बानियाँलगायत शीर्ष नेताहरुसमेतको उपस्थितिमा बसेको बैठकमा लामा र पराजुली पहिलो चरणको निर्वाचनको परिणाम अनुसार दोस्रो चरणमा एकअर्कालाई सहयोग गर्न सहमत भएका थिए ।

सोही बैठकमा पहिलो चरण निर्वाचनको मतपरिणाम अनुसार जसको मत बढी आउँछ उसैलाई सभापति स्वीकार गरेर अघि बढ्ने पनि सम्झौता भएको स्रोतको दाबी छ ।

सो सम्झौता अनुसार लामाले सबैभन्दा बढी भोट ल्याएका कारण पराजुलीले लामालाई सभापति स्वीकार्नु पर्ने हुन्छ । तर, पराजुलीले चुनावी प्रतिस्पर्धा गर्ने वा लामालाई सभापति स्वीकार्ने भन्ने विषयमा आधिकारिक धारणा सार्वजनिक गरिसकेका छैनन् ।

काँग्रेस नेताहरु सम्झौता अनुसार बढी भोट ल्याएको कारण सहमतिबाटै बुद्ध लामालाई सभापति बनाउने र दोस्रो चरणको निर्वाचन नगर्ने लबिङमा छन् ।

‘काँग्रेस लोकतन्त्रलाई आधार मानेर अघि बढ्ने पार्टी हो । यहाँ नेतृत्वको लागि स्वच्छ प्रतिस्पर्धा हुन्छ । दुबैले आफुलाई उम्मेदवारको रुपमा प्रस्तुत गरे । परिणाम पनि सार्वजनिक भइसकेको छ । बढी मत जसले ल्याए पनि एकअर्कालाई सभापति स्वीकार्ने सम्झौता अनुसार अब आनन्दरामले बुद्धलाई छाड्नुपर्ने हुन्छ । यो उनीहरुको प्रतिवद्धता हो,’ काँग्रेस संस्थापन पक्षका जिल्लास्तरका एक नेताले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप