आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

एमसीसीको साइड इफेक्ट : के भन्छन् माओवादीका केन्द्रीय सदस्यहरु ? (भिडियो)

शुक्रबार, २० फागुन २०७८, १८ : ०७
शुक्रबार, २० फागुन २०७८

प्रतिनिधिसभाबाट एमसीसी पारित भएसँगै नेकपा माओवादी केन्द्रमा मतभेद देखिएको छ । ‘व्याख्यात्मक घोषणा’सहित एमसीसी पास गरिएको भएपनि पार्टी भित्रका नारायणकाजी श्रेष्ठ, गिरिराजमणि पोखरेल लगायतका नेताहरु एमसीसीको विरोधमा देखिएका छन् । यतिमात्र नभएर शीर्ष नेताहरूको अभिव्यक्तिकै कारण माओवादी केन्द्र पुनः फुटको बाटोमा पुगेको चर्चासमेत चल्न थालेको छ । 

यस सन्दर्भमा पार्टीका केन्द्रीय समिति पदाधिकारी तथा माओवादी केन्द्रका नेताहरूको धारणा चाँहि के छ त ? अब, माओवादी केन्द्र कसरी अघि बढ्छ, पार्टी भित्रको विवाद कुन ढंगबाट निरुपण हुन्छ भनेर धेरैमा जिज्ञासा छ । यस सन्दर्भमा केन्द्रीय सदस्य सुदन किराँती भन्छन्, ‘एमसीसीका विषयमा पार्टीले जे निर्णय गर्यो यो वस्तुवादी छ, सहि छ ।’ 

नेता किराँतीले माओवादी केन्द्रभित्र, तथाकथित आदर्श हावी रहेको पनि बताएका छन् । एमसीसीले निम्त्याएको पार्टी भित्रको समस्याको विषय गम्भीर रुपले समीक्षा गर्ने र छलफल÷बहसका माध्यमबाटै समाधान गरिने बताएका छन् । रातोपाटीसँग कुरा गर्दै नेता किराँतीले पार्टी अध्यक्षले भनेको उद्धृत गर्दै भने, ‘अध्यक्षले भनिसक्नुभएको छ कि, ‘राजनीति भनेको भोलेन्टियर हो, कसैले बाध्यताले घोक्रेठ्याक लगाएर गराउने विषय होइन ।’ सम्भवतः हामी यो विषयलाई बुझाएर एउटा बाटोमा जानेछौँ त्यसैले कसैलाई जबर्जस्ती गराएर राजनीति गराउने कुरा हुँदैन ।’ 

नेता किराँतीले माओवादीभित्र पछिल्लो समय बढ्दै गएको विवादलाई पदीय बार्गेनिङको एउटा अंशका रुपमा लिन सकिन समेत बताए । उनले भने, ‘हाम्रो पार्टीमा झटारो हान्ने अनि आँप झार्ने खाने चलन छ’, उनले थपे, ‘धेरै राजनीतिक नियुक्ति लिनुछ, राजदूत नियुक्त गर्नुछ, अब केन्द्रीय समिति सदस्य थप्नुहोला ! त्यसैले माओवादी पार्टी नबन्नुको कारण पनि यस्ता प्रकृतिका प्रवृत्ति पनि हुन् ।’ उनले अन्त्यमा भने, ‘हामी बैठकमा यस्तै विषयलाई गम्भीरताका साथ छलफल गछौं, हामीले यस्ता प्रवृत्तिको अन्त्य गरेनौं भने २०६४ मा फर्कन्छौं भनेको विषय सपनामा खीर खाएर अघाउनु जस्तै मात्र हुनेछ ।’ 

यस्तै अर्का स्थायी समिति सदस्य देवेन्द्र पराजुलीले एउटा जिवन्त पार्टीमा यस्ता मतभेद हुनुलाई स्वभाविक प्रक्रिया भएको र पार्टी भित्रका मूल्य, मान्यता र पद्धतिका आधारमा त्यस्ता विषयलाई समाधान गर्ने बताएका छन् । उनले पार्टी फुटको चर्चाको विषयलाई अस्वीकार गरेका छन् । यद्यपि, व्याख्यात्मक टिप्पणी सहितको एमसीसी अनुमोदनको सन्दर्भले पार्टीभित्र असन्तुष्टि पैदा गरेका भने स्वीकार गरे । नेता पराजुलीले एमसीसीको विषय केन्द्रीय समितिको बैठकले निणर्य गरेरमात्र कार्यान्वयनमा जानुपर्ने विषय भएपनि त्यसो नगरेर माओवादी केन्द्रले गल्ती गरेको बताएका छन् । यस्तै पार्टी अध्यक्ष प्रचण्डले नेता नारायणकाजीमाथि पत्रकार सम्मेलनमा दिएको अभिव्यक्तिले पार्टीभित्र विवाद बढेको बताए । 

यद्यपि अब, केन्द्रीय समितिले एउटा निर्णय गरेर पार्टीको निर्णय मानेर माओवादी केन्द्र विना टुटफुट अघि बढ्ने नेता पराजुलीको भनाइ छ । अस्तै अर्का केन्द्रीय सदस्य लक्षिराम आचार्यले नेकपा माओवादी केन्द्र राष्ट्रियताका विषयमा अलि गम्भिर भएरै छलफल गर्ने र पार्टी भित्रको विवाद समाधानतर्फ जाने बताउँछन् । नेता आचार्यले विवाद बढ्दैमा पार्टीमा एउटाले गइदियोस् र अर्कोले म गइहाल्छु भनेजस्ता हल्ला छन्, वास्तवमा त्यस्तो नहुने बताए ।

यस्तै केन्द्रीय सदस्य कल्पना धमालाले एमसीसीको विषयले पार्र्टीभित्र बढ्दै गएको विवादले विशेष छलफल र बहसको आवश्यकता ठानेको र छलफलकै माध्यमबाट समस्या समाधान गरिने बताएकी छन् । नेतृ धमलाले भनिन्, ‘पार्टीमा छलफलको विषय गम्भिर ढंगबाट आएको छ, छलफलकै माध्यमबाट यो विवादको अवतरण हुनेमा विश्वस्त छु ।’ 

नेतृ धमलाले बाहिर चर्चा भएजस्तो पार्टी फुटको बहस नभएको पनि बताएकी छन् । उनले भनिन्, ‘पार्टीमा आफ्नो विचार राख्दैमा छलफलको विषय उठ्दैमा पार्टी फुटमा गइहाल्छ भन्ने हुँदैन । एजेन्डा उठ्दैमा पार्टी फुटमा जाने भन्ने विषय हुँदै हुँदैन’, उनले थपिन्, ‘हामीले धेरैपटक यस्ता विषयबाट चेत खाइसकेको छौं, यसअघि पनि एउटा एउटा एजेन्डाले एउटा एउटा सन्दर्भले पार्टी फुट्दै गएको अवस्था हो । त्योबाटै सबैले शिक्षा लिएका छन् । त्यसैले अहिलेको बहसले हाम्रो पार्टी कुनै पनि हालतमा फुट्दैन ।’ 

विवाद समाधानका विषयमा ‘एमसीसीका कारण माओवादी अब, टुक्रिन्छ, फुट्छ भन्ने जस्ता हल्ला छन् त्यस्तो केहि हुँदैन’, अर्का केन्द्रय सदस्य लोकेन्द्र लम्साल बताउँछन् । पार्टी भित्रको विवाद समुद्र झैं शान्त हिसाबमा समाधान हुने नेता लम्सालको भनाइ छ । एमसीसी अनुमोदनको भोलिपल्ट पार्टी अध्यक्ष प्रचण्डको अभिव्यक्तिले नेता नारायकाजी असन्तुष्ट बनेको प्रसंगमा बोल्दै नेता लम्साले भने, ‘राजनीतिमा पनि मानवीय स्वभावले अर्थ राख्छ । त्यसअर्थमा पार्टी अध्यक्षको उक्त अभिव्यक्तिलाई एउटा मानवीय स्वभावका रुपमा लिएर अघि बढ्दा नै उचित हुन्छ ।’ 

उनले बजारमा जुन हिसाबले नेता नारायणकाजीले अन्य शक्तिहरूसँग भेटघाट बढाएको हल्ला छ, त्यो ठीक विपरित अन्य शक्तिले चाँहि झर्ला र खाउँला भन्ने आशले भेटघाट बढाएको आरोप पनि लगाए । यसैगरि अर्का केन्द्रीय सदस्य हिमाल शर्माले एमसीसी अनुमोदनपछिको मदभेदलाई पार्टी भित्र समिक्षात्मक एजेण्डा बनाएर छलफल र बहसकै आधारमा समाधान गरिने बताए । उनले व्याख्यात्मक टिप्पणीसहितको एमसीसी अनुमोदनको विषय र उब्जिएको बहसकै कारणले पार्टी विभाजनको अवस्थ नआउने पनि बताए ।

नेता शर्माले एमसीसी अनुमोदनका सन्दर्भमा माओवादी बाहिरिएको भएपनि एमाले र काँग्रेस मिलेर अनुमोदन गर्ने नै अवस्था रहेको र पदाधिकारी विहिन अवस्थामा माओवादी केन्द्र रहेको र, आठौं माहाधिवेशनले पनि परिमार्जनसहित पास गर्ने मेन्डेड तय भएको बताए । उनले माओवादी केन्द्रले राष्ट्रियताका सम्बन्धमा आएका विषयलाई निरुपण गर्न १२ बुँदे व्याख्यात्मक टिप्पणीसहित संसद्मा अनुमोदन गराएको र कानुनकै मान्यता प्राप्त गराएकाले यस विषयलाई पनि प्रगतिशील कार्यका रुपमा लिन पनि असन्तुष्ट नेतृत्व पङ्क्तिलाई नेता शर्माको आग्रह छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मनोज न्यौपाने
मनोज न्यौपाने
लेखकबाट थप