ad
x
समाचार

दबाबमा सुरक्षित गर्भपतन, ‘स्वेच्छिक’ भन्न बाध्य छन् महिला

०७७/०७८ मा ७९ हजार ९५३ जनाले लिए सुरक्षित गर्भपतन सेवा

person explore access_timeचैत १, २०७८ chat_bubble_outline0

काठमाडौं । काठमाडौं मैतीदेवीकी सुनिता पौडेलले पहिलो सन्तान (छोरी) जन्माएको तीन वर्षपछि बिना योजना गर्भधारण गरिन् । महिनावारी रोकिएको ७ हप्तापछि उनले गर्भ रहेको थाहा पाइन् ।


‘दुई सन्तान, ईश्वरका वरदान’ उक्ति सम्झिएर निकै उत्साहित थिइन् तर उनको उत्साह धेरैसमय टिक्न भने सकेन । जब गर्भमा रहेको भ्रूण १५ हप्ता पुग्न थाल्यो, तब उनका श्रीमान्ले लिङ्ग पहिचान गरेरमात्रै जन्माउने भन्न थाले । गर्भमा विकास भइरहेको भ्रूण छोरा वा छोरी जे भए पनि जन्माउने भन्दै सुनिताले श्रीमान्लाई कुनै पनि हालतमा गर्भपतन नगर्ने बताउँदै आएकी थिइन् तर श्रीमानका अगाडि आफ्नो अडानलाई कायम राख्न सकिनन् उनले ।



गर्भमा रहेको भ्रूण दिन प्रतिदिन बढ्दै जाँदा उनका श्रीमान्ले जसरी पनि एउटा छोरा जन्माउनैपर्ने भन्दै पारिवारिक तथा आर्थिक कारण देखाएर दबाब दिन थाले । उनले श्रीमतीलाई गर्भमा रहेको भ्रूणको लिङ्ग पहिचान गर्न बाध्य बनाए ।



लिङ्ग पहिचान गरी छोरा भए राख्ने, पुनः छोरी रहेको खण्डमा गर्भपतन गराउने योजनासहित उनलाई निजी क्लिनिक लगियो । जाँच गर्ने क्रममा गर्भमा रहेको भ्रूण छोरा भएको थाहा पाएपछि ‘गर्भपतन गराउन परेन’ भन्दै आफू रमाउँदै घर फर्किएको सुनिताले सुनाइन् ।



यस्तै, ललितपुरकी १९ वर्षीय किशोरी वर्षा थापा (नाम परिवर्तन) आठ हप्ताको गर्भपतन गराउन प्रसूति गृहमा पुगेकी थिइन् । बच्चा जन्माउने तत्काल योजना नभएकाले सुरक्षित गर्भपतनका लागि आएको उनले सुनाइन् । आफू अध्ययनरत रहेको र आफ्नो खुट्टामा उभिएपछि मात्रै बच्चा जन्माउने सोच बनाएकाले सुरक्षित गर्भपतनका लागि आएको उनको भनाइ थियो ।



वर्षाकोभन्दा फरक बाध्यता लिएर ४२ वर्षीया चन्दा जैसी (नाम परिवर्तन) अस्पताल आएकी थिइन् । उनलाई दुई छोरा भएपछि सन्तानको रहर पुग्यो भन्ने मनमा छ । अर्को सन्तान जन्माउने रहर नभएकाले तीन पटकसम्म सुरक्षित गर्भपतन गराएको उनले सुनाइन् । उनका श्रीमान्ले अझै पनि सन्तान जन्माउनुपर्ने इच्छा जाहेर गरिरहन्छन् र परिवार नियोजनका अस्थायी, स्थायी साधन प्रयोग गर्न मान्दैनन् ।



फरकफरक प्रकारका गर्भनिरोधक साधन प्रयोग गर्ने, छाड्ने गर्दा तीन पटकसम्म गर्भ बसेर गर्भपतन गराएको चन्दाले सुनाइन् । त्यसैले पुनः गर्भनिरोधकका साधन प्रयोगका लागि प्रसूति अस्पतालमा आइपुगेको उनको भनाइ थियो ।

सुनिता, वर्षा र चन्दा प्रतिनिधिपात्र मात्र हुन्, जो फरकफरक बाध्यता देखाउँदै अप्रत्यक्ष रुपमा आएका दबाबका कारण सुरक्षित गर्भपतन गराउन बाध्य भए । स्वेच्छाले सुरक्षित गर्भपतनका लागि कानुनले बाटो खोले पनि कतिपय महिलाले बाध्यताबस् गर्भपतन गराउने गरेको स्वास्थ्यकर्मीको भनाइ छ । यद्यपि गर्भपतन गराउन जाँदा भने आफू जस्तोसूकै बाध्यता र दबाबमा रहे पनि महिलाहरुले ‘स्वेच्छा’ मै गर्भपतन गराउन चाहेको बताउने गर्दछन् । किनकि, कानुनले निश्चित अवधिभित्रको गर्भलाई ‘स्वेच्छा’ मामात्र गर्भपतन गराउन अनुमति दिन्छ ।

चिकित्सकहरुका अनुसार आत्मनिर्णयका आधारमा सुरक्षित गर्भपतन गराउने महिला कममात्र हुन्छन् । बाध्यात्मक परिस्थिति झेल्दै कतिपय महिलाले ‘स्वेच्छा’ भन्दै सुरक्षित गर्भपतन गराउन पुग्ने उनीहरुको भनाइ छ ।

​असुरक्षित गर्भपतन गराउनुभन्दा सुरक्षित गर्भपतन गराउने महिलाको संख्या बढ्नु एक पक्षबाट राम्रो देखिए पनि महिलाहरुले स्वेच्छा भन्दै पर्दा पछाडिका अनगिन्ती समस्यालाई लिएर गर्भपतन गराउने गरेको ‘योशान’की सहसंस्थापक नर्स तथा महिला स्वास्थ्य र विकासमा काम गर्दै आएकी दुर्गा सापकोटाको भनाइ छ ।

उनी भन्छिन्, ‘कुनै पनि अविवाहित/विवाहित महिलाको अनिच्छित गर्भ बसेको छ वा विवाह गर्ने सम्भावना छैन, सन्तान जन्माउने योजना छैन । गर्भमा भ्रूण आएपछि शारीरिक तथा मानसिक रुपमा पीडित भई पेट रहेको भ्रूणलाई बढ्न दिएर भविष्यमा पीडा थेग्न नसक्ने परिस्थिति आउने भएमा १२ हप्तासम्ममा सुरक्षित गर्भपत गराउन उपयुक्त हुन्छ ।’

कानुनी रुपमा १२ हप्तासम्मको गर्भलाई मान्यता प्राप्त स्वास्थ्य संस्थामा गई गर्भपतन गराएमा ‘स्वेच्छा’ले भन्ने बुुझिन्छ । मान्यता प्राप्त स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन गर्न पुग्ने महिलाले ‘स्वेच्छा’ले नभनेसम्म गर्भपतन गराउन नपाइने परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको परिवार नियोजन तथा सुरक्षित गर्भपतन शाखाका प्रमुख नर्स सगुन थापाले बताइन् ।

स्वेच्छाले सुरक्षित गर्भपतन गराउन स्वास्थ्य संस्था पुगे पनि अधिकांश महिलाको भित्री बाध्यात्मक कथा अनेकथरी हुने थापाले बताइन् ।

प्रसूति गृहमा दैनिक १४ देखि १६ जनासम्मले सुरक्षित गर्भपतन गराउँछन् । जसमा २० वर्षभन्दा कम उमेरका दैनिक एक–दुई जना आइपुग्ने गर्छन् । महिनामा करिब ४८० जनाले सुरक्षित गर्भपतनको सेवा लिन्छन् भने तीमध्ये २० वर्षभन्दा कम उमेर समूहका १५ देखि १८ जना रहने सो अस्पतालले जनाएको छ । अस्पतालका अनुसार, वार्षिक रुपमा प्रसूति गृहमा सुरक्षित गर्भपतनको सेवा साढे ५ हजारभन्दा बढीले लिने गर्छन् ।

जनस्वास्थ्यविद् डा. अरुणा उप्रेतीका अनुसार बाध्यतात्मक अवस्थामा सुरक्षित गर्भपतन गराउनुको कारणमध्ये छोराको चाह हुनु पनि एक हो । उनी भन्छिन्, ‘एक ठाउँ गएर सोनोग्राफी गरी छोरा–छोरी के हो भनि पहिचान गर्ने, गर्भको भू्रण छोरी भएको खण्डमा अर्को स्वास्थ्य संस्थामा पुगेर अनेकन समस्या देखाएर गर्भपतन गराउने गर्छन् ।’

निजी स्वास्थ्य संस्थाले केरकार नगरिकनै सुरक्षित गर्भपतन गराइदिने गरेको उनको भनाइ छ । ‘स्वेच्छा’ भन्दै सुरक्षित गर्भपतन गराउन अस्पताल पुगे पनि मुख्य त पारिवारिक तथा सामाजिक परिस्थितिले गर्भपतन गराउन बाध्य हुने उनी सुनाउँछिन् ।

‘नारी शिक्षित अनि रोजगार छन्, आर्थिक रुपमा सम्पन्न छन् । पहिलो सन्तान छोरीलाई जन्माएकी छन् । उनी दोस्रो सन्तात जे भए पनि आत्मसन्तुष्टि मान्ने भए पनि परिवारिक, सामाजिक दबाबका कारण बाध्य भई लिङ्ग पहिचान गर्ने, गर्भमा छोरी भएमा अनेकन् कारण देखाउँदै गर्भपतन गर्न बाध्य पारिएका घटना धेरै देखेकी छु,’ उनले भनिन् ।

गर्भको भ्रूण कम्तीमा १३/१४ हप्ता पुगेपछि मात्रै पहिचान गर्न सकिने चिकित्सकहरु बताउँछन् । नेपालमा कानुनतः गर्भमा रहेको भ्रूणको पहिचान गरेर गर्भपतन गराउन पाइँदैन । तर, सुरक्षित सेवा दिने नाममा लिङ्ग पहिचान गर्ने गरेको मिडवाइफरी सोसाइटी अफ नेपालकी अध्यक्ष डा. लक्ष्मी तामाङको भनाइ छ ।

यस्तै, पछिल्लो समय विदेश गएका श्रीमान् घरमा आइसकेपछि तत्काल परिवार नियोजनका साधन प्रयोग नगर्ने, योजना नबनाउने हुँदा अनिच्छित गर्भ बस्दा पनि गर्भपतन गराउन एकथरी महिला बाध्य भएको महिलाको विकास स्वास्थ्यमा काम गर्दै आएकी नर्स तथा यूकेको हडर्सफिल्ड युनिभर्सिटीमा पब्लिक हेल्थ विषयमा पिएचडी गरिरहेकी मञ्जु कर्माचार्यले बताइन् ।

डा. तामाङका अनुसार सन्तानको रहर पुगी अनिच्छित गर्भ रहँदा गर्भपतन गराउन सकिने र यदि कसैको विवाहभन्दा अगाडि गर्भ बसेको खण्डमा विवाहबन्धनमा बाधिने स्थिति सिर्जना नहुने बाधात्मक स्थितिमा १२ हप्तासम्मको गर्भलाई सुरक्षित गर्भपतन गराउन सकिन्छ ।

यद्यपि १२ हप्तामाथिको गर्भलाई दबाब, प्रभावको नाममा कतिपय निजी स्वास्थ्य संस्थाले गर्भपतन गराउने गरेको उनले सुनाइन् । गर्भमा अनिच्छित गर्भ बस्दा महिलाले मात्र शारीरिक तथा मानसिक, पारिवारिक, सामाजिक, आर्थिक रुपमा पीडा भोग्ने भएकाले बाध्यात्मक स्थितिमा मात्रै सुरक्षित गर्भपतन गराउनुपर्नेमा स्वास्थ्यकर्मीहरु जोड दिन्छन् ।

गर्भपतनको बाध्यता किन बन्यो ?

महिला स्वास्थ्य र विकासमा काम गर्दै आएकी नर्स सापकोटाले ग्रामिण भेगको तुलनामा शहरी क्षेत्रमा अध्ययन गर्ने किशोरीलाई गर्भनिरोधक साधनसम्बन्धी कम जानकारी रहेको बताइन् । स्कुलको पठ्यक्रममै महिनावारी, सुरक्षित/असुरक्षित यौनसम्पर्क, परिवार नियोजनका साधन के हो र कस्तो अवस्थामा प्रयोग गर्ने भन्नेबारे किशोर किशोरीलाई जानकारी दिन अति आवश्यक रहेको उनले बताइन् ।

‘स्कुल तहमा महिनावारी, सुरक्षित यौनसम्पर्क, गर्भनिरोधकका साधन अर्थात् प्रजनन् स्वास्थ्यबारे किशोर किशोरीलाई जानकारी दिँदा उनीहरुले झन् गल्ती गर्छन् भन्ने मानसिकता छ,’ उनी भन्छिन्, ‘स्कुल तहमा प्रजनन् स्वास्थ्यसम्बन्धी जानकारी तथा असुरक्षित गर्भपतन तथा परिवार नियोजनका साधनबारे पूर्ण रुपमा थाहा नपाउँदा अञ्जानमा असुरक्षितता तर्फ धकेलिन्छन् ।’

यस्तै, गर्भनिरोधक तथा परिवार नियोजनका साधानबारे सूचना दियो भने बिग्रिन्छन् वा सिक्छन् भन्ने मानसिकताले विद्यार्थीलाई सही जानकारी दिन शिक्षक वर्ग नै हिचकिचाउने गरेको उनले सुनाइन् ।

नेपालमा आधुनिक परिवार नियोजन तथा गर्भनिरोधकका साधन प्रयोग गर्ने ४३ प्रतिशत रहेको पाइएको छ । अर्थात् १०० जना विवाहित महिलामध्ये ४३ जनाले मात्रै परिवार नियोजनका साधन प्रयोग गरेको पाइएको छ ।

धेरै जना परिवार नियोजन तथा गर्भ निरोधक साधन प्रयोगको पहुँचमा नपुग्नुको मुख्य कारण भ्रामक कुरा रहेको डा. तामाङको भनाइ छ । उनका अनुसार गर्भनिरोधकका साधन प्रयोगसँगै साइड इफेक्टबारे धेरै अन्धविश्वास रहेकाले सुरक्षित तथा असुरक्षित गर्भपतन गराउनको सङ्ख्या बढ्दै गएको छ ।

यद्यपि नेपालमा गर्भपतन गराउन कति स्वेच्छा वा बाधात्मक परिस्थितिमा जान्छन् भन्नेबारे अध्ययन भएको छैन । डा. तामाङ भन्छिन्, ‘महिलाहरुले गर्भनिरोधकका साधन प्रयोग गरेनन् भने अनिच्छित गर्भ रहन्छ । अनिच्छित गर्भ राखे पनि वा फाले पनि दुःख महिलालाई नै हुने हो । श्रीमान्ले परिवार नियोजनको साधन प्रयोग गर्न मान्दैनन् । गर्भनिरोधक साधन प्रयोग गर्दा सामान्य साइड इफेक्ट देखिने बित्तिकै छाड्दा अनिच्छित गर्न बस्छ, पछि गएर सुरक्षित वा असुरक्षित गर्भपतन गराउन बाध्य हुन्छन् ।’

गर्भलाई सधैँ इच्छित बनाउनुपर्छ

सुरक्षित तथा असुरक्षित गर्भपतनलाई गर्भनिरोधकको साधनको रुपमा प्रयोग गरिएको स्वास्थ्यकर्मीहरु बताउँछन् । कर्माचार्यका अनुसार हरेक महिला तथा पुरुषले गर्भमा आउने भू्रणलाई अनिच्छित नभएर सधैँ इच्छित बनाउन ध्यान दिनुपर्छ ।

गर्भपतन गराउने कानुनी प्रावधान छ भन्दैमा गर्भपतनलाई सजिलो बाटोको रुपमा लिन नहुने उनको भनाइ छ । कर्माचार्य जस्तै डा. तामाङ पनि पनि अनिच्छित गर्भ बस्न नदिनका लागि सबैले हरेक गर्भलाई इच्छित बनाउनुपर्नेमा जोड दिइन् ।

परिवारको योजना बनाएमा अनिच्छित गर्भ नबस्ने उनले सुनाइन् । उनका अनुसार, हरेक गर्भवतीले बच्चा जन्माउन सक्छन् भन्ने हुँदैन । केही महिलामा मेडिकली समस्या भएर गर्भपतन गराउनुपर्ने बाध्यता हुन सक्छ । जस्तै, महिलाको पाठेघरमा समस्या भएका कारण गर्भ आफै खेर जान सक्छ । यस्तो अवस्थामा गर्भपतन हुँदा पेटमा भएको भ्रूण वा बच्चा कहिलेकाहीँ आफै पूरै बाहिर नआउन सक्छ भने भ्रूणको केही भाग पाठेघरमा रहँदा रगत बगिरहन्छ । यस्तो अवस्था आमाको ज्यान पनि खतरामा पुग्न सक्ने उनी बताउँछिन् । यो अवस्था भएको गर्भपतनलाई ‘इनकम्प्लिट अवोर्शन’ भनिन्छ ।

केही क्षणका लागि सजिलो बाटो अपनाउँदा सुरक्षित गर्भपतन गराउनेको संख्या बढेको डा. उप्रेती बताउँछिन् । सुरक्षित गर्भपतन गराए पनि भविष्यमा स्वास्थ्यका दृष्टिले समस्या आउन सक्ने उनको भनाइ छ ।

परिवारको योजना बनाउन र परिवार नियोजन तथा गर्भनिरोधकका साधन प्रयोग गर्न पुरुषहरुले सहयोग नगरेकाले पनि गर्भपतन गराउन महिला बाध्य हुने गरेको डा. उप्रेतीको भनाइ छ ।

यस्तै, डा. तामाङ र सिनियर नर्स कर्मचार्यले पनि पुरुषहरुले गर्भनिरोधकका साधन प्रयोग गर्न नमानेको खण्डमा महिलाले नै भविष्यमा गर्भपतन गराउनुपर्ने स्थिति रहने भन्दै यस्तो स्थिति आउन नदिन गर्भनिरोधकका साधन प्रयोग गर्न सुझाव दिन्छन् ।

डा. तामाङका अनुसार, विगतमा मानिसको ज्यान बचाउनका लागि सुरक्षित गर्भपतन आवश्यक थियो । वर्तमान समयमा गर्भपतन परिवार नियोजनको साधन बनेको उनी बताउँछिन् ।

‘पहिलो पटक सुरक्षित गर्भपतन गराउनेले धेरै रगत जाँच गराएका हुँदैनन् । उनले भनिन्, ‘बाध्यात्मक कारण देखाएपछि स्वास्थ्यकर्मीले पनि सुरक्षित गर्भपतन गरिदिन्छन् तर, यदि रगत समूह नेगेटिभ भएको खण्डमा भविष्यमा गर्भमा बच्चा बस्ने सम्भावना न्यून हुन्छ ।’

सुरक्षित गर्भपतन सेवा ‘स्वेच्छिक’ भए पनि पर्दा पछाडि धेरै बाध्यता रहने गरेको र ठूलो सङ्ख्यामा महिलाले बाध्यात्मक परिस्थितिमै गर्भपतन गराउने गरेको स्वास्थ्यकर्मीको अनुमान छ ।

परिवार कल्याण महाशाखाका अनुसार नेपाल मान्यता प्राप्त स्वास्थ्य संस्थामा पुगेर ४१ प्रतिशतले मात्रै गर्भपतनको सेवा लिन्छन् ।

गर्भपतनसम्बन्धी ऐनले के भन्छ ?

सुरक्षित गर्भपतनको अधिकार सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ मा उल्लेख भए अनुसार गर्भवती महिलाको मन्जुरीले १२ हप्तासम्मको गर्भपतन गर्न पाइन्छ ।

यस्तै, गर्भवती महिलाको ज्यानमा खतरा वा शारीरिक वा मानसिक स्वास्थ्य खराब हुन सक्ने भनी इजाजतपत्र प्राप्त चिकित्सकको राय बमोजिम गर्भवती महिलाको मन्जुरीमा २८ हप्तासम्मको गर्भपतन गर्न पाउने अधिकार छ । जवर्जस्ती करणी वा हाडनाता करणीबाट रहन गएको गर्भ, रोग प्रतिरोधक क्षमता उन्मुक्ति गर्ने जीवाणु (एच.आई.भी) वा त्यस्तै प्रकृतिको अन्य निको नहुने रोग लागेका, भ्रूणमा कमीकमजोरी हुँदा गर्भमै नष्ट हुन सक्ने वा जन्मेर पनि बाँच्न नसक्ने गरी वंशाणुगत (जेनेटिक) खराबी वा भ्रूणमा अशक्तता हुने अवस्था रहेको भन्ने उपचारमा संलग्न स्वास्थ्यकर्मीको राय बमोजिम महिलाको मञ्जुरीमा अठ्ठाईस हप्तासम्मको गर्भलाई पतन गर्न सकिने ऐनमा उल्लेख छ ।

सुरक्षित गर्भपतन सेवा कतिले लिए ?

नेपालमा ४१ प्रतिशतले मात्रै सुरक्षित गर्भपतनको सेवा लिने गरेको पाइएको छ । परिवार कल्याण महाशाखाका अनुसार आर्थिक वर्ष ०७७/०७८ मा ७९ हजार ९५३ जनाले सुरक्षित गर्भपतन सेवा लिएका छन् । ०७३/०७४ मा ९६ हजार ४१७ जनाले र ०७४/०७५ मा ९८ हजार ६४० जनाले यस्तो सेवा लिएका थिए । आर्थिक वर्ष ०७५/०७६ मा यो सेवा लिने सङ्ख्या घटेर ९० हजार ६७७ जना रह्यो । यस्तै, ०७६/०७७ मा ८७ हजार ८६९ जनाले मान्यता प्राप्त स्वास्थ्य संस्थाबाट सुरक्षित गर्भपतन सेवा लिएका छन् ।

५९ प्रतिशतले अझै पनि असुरक्षित गर्भपतन गराउँदै आएको परिवार कल्याण महाशाखाको आँकडाले देखाउँछ । यस्तै, विश्वमा प्रत्येक वर्ष करिब २१ करोड महिला गर्भवती हुन्छन् । त्यसमध्ये २० प्रतिशतले गर्भपतन गराउँछन् ।

यसअनुसार वार्षिक ४ करोड ६० लाखले गर्भपतन गराउँछन् । त्यसमध्ये एक करोड ९० लाख असुरक्षित गर्भपतन हुने अनुमान छ । तथ्यांक अनुसार असुरक्षित गर्भपतनका कारण विश्वमा वार्षिक करिब ६८ हजार महिलाको मृत्यु हुने गरेको छ । यसैका कारण करिब ५३ लाख अस्थायी वा स्थायी रुपमा अपाङ्ग हुने गरेका छन् ।  

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।