मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

महँगियो भान्सा : रूस–युक्रेनलाई देखाउँदै, मूल्य बढाउँदै व्यापारी

खानेतेलको मूल्य तीन वर्षमा दोब्बर
बुधबार, ०२ चैत २०७८, ०५ : ५९
बुधबार, ०२ चैत २०७८

नेपाल र युक्रेनबीचको दूरी करिब ४ हजार ९९७ किलोमिटर र रूसबीचको दूरी झण्डै ४ हजार किलोमिटर छ । तर, यी दुई देशबीचको आन्तरिक युद्धलाई कारण देखाउँदै नेपालमा सबैजसो खाद्यान्नको मूल्य छोइनसक्नु बढेको छ ।

नेपालको स्थानीय बजारमा रूस र युक्रेनको सैन्य भिडन्तसँग सम्बन्ध नै नराख्ने वस्तुहरूको सूचीसमेत अनियन्त्रित गतिमा उकालो लागिरहेको छ । यतिबेला नेपालमा रूस–युक्रेन युद्धको असर देखाउँदै खानेतेल, दाल, चामल र चिनीलगायत सबैजसो वस्तुको मूल्य दिनदिनै उकालो लागिरहेको हो ।

नेपाल खुद्रा व्यापार संघले उपलब्ध गराएको तथ्यांकअनुसार २०७६ साल फागुनयता बढ्न थालेको वस्तुको मूल्यवृद्धि अहिले पनि जारी छ । २०७६ सालमा औषतमा १०० रुपैयाँ प्रतिकिलो पर्ने कुनै खाद्यान्नको मूल्य अहिले दोब्बरसम्मले उकालो गतिमा लागेको हो ।

२०७६ साल फागुनमा विश्वबजारमा कोरोना महामारीको प्रभाव परिसकेको थिएन । तर, २०७७ साल फागुनसम्म आइपुग्दा विश्वको आपूर्ति प्रणाली नै ध्वस्त पार्नेगरी कोरोना महामारी विश्वव्यापीरूपमा फैलिसकेको थियो । त्यस बीचको एक वर्षमा बढेको मूल्यको तुलनामा करिब–करिब दोब्बरले पछिल्लो एक वर्षमा मूल्य बढिसकेको छ ।

२०७६ साल माघ महिनामा प्रतिकिलो ७० रुपैयाँ खुद्रा मूल्य रहेको ताइचिन चिउरा अहिले (२०७८ फागुन) मा १३० रुपैयाँ पुगिसकेको छ । यो दोब्बरभन्दा पनि बढी मूल्यवृद्धि हो । यस्तै, ०७६ सालमा प्रतिकिलो ८५ रुपैयाँमा खुद्रा बजारमा कारोबार भएको चिनी अहिले १०० रुपैयाँ पुगिसकेको छ ।

यसबाहेक, पोखरेली चामल, मासको दाल, मुँगीको दाल, रहरको दाल, जिराको पाउडर लगायत धेरैजसो वस्तुको मूल्य निरन्तर बढिरहेको संघले जानकारी दिएको छ । संघका महासचिव अमुलकाजी तुलाधारले पछिल्लो समय खाद्यान्नको समय निरन्तर बढेको बताए ।

उनले उद्योगबाट थोक बिक्रेता हुँदै खुद्रा व्यापारीसम्म मूल्य बढेर वस्तु आउने गरेको समेत बताए । ‘उद्योगमै बढेको मूल्य हामीले नबढाउने भन्ने हुँदैन । उद्योगीहरूले सबैजसो वस्तुको मूल्य बढाएर थोक बिक्रेताहुँदै पठाउँछन्,’ उनले भने, ‘उद्योगमा बढेपछि खुद्रा मूल्य नबढ्ने भन्ने हुँदैन ।’

तीन वर्षमा खाद्यान्नको मूल्यसूची (प्रतिकिलो)

स्रोत – नेपाल खुद्रा व्यापार संघ

खानेतेलको मूल्य तीन वर्षमा दोब्बर

२०७६ साल फागुन महिनादेखि २०७८ साल फागुनसम्म आइपुग्दा खानेतेलको मूल्यमा पनि अनियन्त्रित वृद्धि देखिएको छ । संघले दिएको तथ्यांकअनुसार सबैखाले खानेतेलको मूल्य बढेको बढ्यै छ ।

२०७६ फागुनमा प्रतिलिटर २७० रुपैयाँमा बिक्री भएको भुटेको तोरीको तेल अहिले बढेर ४०० रुपैयाँ पुगेको छ । २०७७ फागुनमा मूल्य प्रतिलिटर ३०० रुपैयाँ पुग्ग्यो । एक वर्ष अवधिमै भुटेको तोरीको तेलको मूल्य १०० रुपैयाँले बढेको छ ।

यस्तै, २०७६ सालमा १७० रुपैयाँ प्रतिलिटरमा कारोबार भएको काँचो तोरीको तेलको मूल्य अहिले ३८५ रुपैयाँ पुगेको छ । यसैगरी, २०७६ सालमा प्रतिलिटर १५० रुपैयाँ रहेको भटमास तेलको मूल्य यतिबेला २७० छ । २०७६ सालमै १६० रुपैयाँ प्रतिलिटर रहेको सुर्यमूखी तेलको मूल्य अहिले २९० रुपैयाँ छ । यस्तै, अन्य सबै प्रकारका तेल तथा घीउको मूल्य बढेको छ ।

तीन वर्षमा खानेतेलको मूल्यसूची

स्रोत – नेपाल खुद्रा व्यापार संघ

एलपी ग्यासको मूल्य २०० रुपैयाँ बढ्यो

यस्तै, यस तीन वर्ष अवधिमा खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २०० रुपैयाँ बढेको छ । २०७६ सालमा प्रतिसिलिन्डर १३ सय ७५ रुपैयाँ रहेको एलपी ग्यासको मूल्य अहिले अहिले १५ सय ७५ रुपैयाँ पुगेको छ ।

यो ३ वर्षको बीचमा खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २०० रुपैयाँले उकालो लागेको नेपाल आयल निगमले जानकारी दिएको हो । कोभिड–१९ महामारी साम्य भएपछि निरन्तर बढेको ग्यासको मूल्य रूस–युक्रेन युद्ध शुरू भएयता फेरि बढ्न थालेको निगमले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निकेश खत्री
निकेश खत्री

खत्री रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप