बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

अनलाइन ठगी : सामाजिक सञ्जालको सम्पर्क कार्यालय नहुँदा अनुसन्धानमा ‘सकस’

अपराध महाशाखाका एसएसपी भन्छन्– ठगको जालोमा छिर्नै सकिँदैन
सोमबार, ०७ चैत २०७८, १६ : ३८
सोमबार, ०७ चैत २०७८

काठमाडौं उपत्यका बाहिर ग्रामीण क्षेत्रमा बस्ने कविता कार्की (परिवर्तित नाम)लाई आकाश बर्मा नाम गरेका व्यक्तिले ह्वाट्स एपमा फोन गरेर भने, ‘कोभिड–१९ लक्की ड्र पुरस्कार २५ लाख तपाईले जित्नुभयो, खाता नम्बर पठाउनुस् ।’ करिब दुई महिनाअघि अपरिचितले गरेको त्यो ‘आकर्षक फोन’ले कविता फुरुक्क भइन् । सिद्धार्थ बैंकमा रहेको आफ्नो खाता नम्बर उनले पठाइन् । बर्माले मोबाइलमा आएको ओटीपी कोड पठाउन आग्रह गर्दै भने, ‘तपाईको बैंक खाता एक्टिभ गराएर लट्री रकम जम्मा गराइदिन्छु ।’ तर, ओटीपी कोड पठाएको केही बेरमा खाताबाट १ लाख रकम अपरिचितको नाममा ट्रान्सफर भयो । लट्री रकम आएन । अनि, कविताको खुसी तनावमा बदलियो । अहिले उनी खाताबाट ट्रान्सफर भएको रकम फिर्ता गराउन प्रहरी कार्यालयमा धाउँदै छिन् ।

कविताको खाताको रकम मोरङको रंगेली नगरपालिका–६ घर भएका २० वर्षीय धिरेन कुमार मण्डलको खातामा ट्रान्सफर भएको देखिएको छ । मण्डलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ । प्रहरीको अनुसन्धानबाट धिरेनले ओटीपी कोड मागेर अरुको बैंक खातामा पहुँच बनाएर आफ्नो ई–सेवा आईडीमा रकम ट्रान्सफर गर्ने गरेको थाहा भएको छ ।

सामाजिक सञ्जाल फेसबुक, इमो, भाइबर, ह्वाट्स एप र इन्स्टाग्राम आजभोलि ठगीको हतियार बन्ने गरेको छ । सामाजिक सञ्जालमार्फत व्यक्तिसँग चिनजान र सम्पर्क गरेर ठग्ने समूहले व्यक्तिको बैंक खाता, खल्ती एप्स, ई–सेवामा पहुँच बनाएर रकम ट्रान्सफर गर्ने गरेका छन् ।

‘चिठ्ठा परेको छ’ भनेर भाइबर र ह्वाट्स एपमा फोन गरेर फोटो, नागरिकता, फोन नम्बर र बैंक खाता माग्ने तथा चिठ्ठा परेको नक्कली प्रमाणपत्र पठाएर पैसा पाउन ‘राजस्व लाग्छ’ भनेर ठग्ने प्रवृत्ति पनि आजभोलि बढेको छ ।

​अनलाइन मार्फत हुने ठगीको अर्को प्रवृत्ति हो, सामाजिक सञ्जालबाट मायाको जाल बिछ्याउने र अन्त्यमा ठगेर भाग्ने । फेसबुक र ह्वाट्स एप मार्फत माया जाल बिछ्याउनेहरुले प्रलोभन देखाएर महँगो सामान (घडी, नेक्लेस, क्यामेरा, कपडा र अमेरिकी डलर) पठाएको छु भन्छन् । सामानको फोटो सामाजिक सञ्जालमार्फत पठाउँछन् र विश्वास दिलाउँछन् । त्यसपछि ‘भन्सारको कर्मचारी हुँ’ भनेर भारतीय नम्बरबाट फोन गर्छन् । फोन गर्नेले भन्छ, ‘तपाईको सामान भन्सारमा आएको छ, सामानको लागि भन्सार शुल्क लाग्छ ।’

त्यसपछि ट्याक्स रकम मागेर विभिन्न व्यक्तिको नाममा बैंक, आइएमई, ई–सेवा र खल्ती जस्ता वालेटको माध्यमबाट रकम पठाउन लगाएर ठगी गर्ने प्रवृत्ति मौलाएको छ ।  

अनुसन्धानमा सकस

आर्थिक वर्ष २०७७/०७८ मा काठमाडौं उपत्यकाभित्र अनुसन्धान गर्ने इकाई अपराध महाशाखामा २४४ जनाले आफू अनलाइनको माध्यमबाट ठगिएको उजुरी दिएका छन् । सो आर्थिक वर्षमा १५ वटा मुद्दा दर्ता भए । फेसबुकको माध्यमबाट ठगी भएका १६ र अन्य माध्यमबाट ठगी भएका ४ वटा घटना प्रहरीले मिलापत्र गराएको छ ।

२०७८ साउनपछि ३ सय १५ जना अनलाइन ठगीको सिकार भएका छन् । १७ वटा ठगीको मुद्दा दर्ता गरिएको छ भने २५ जना आरोपितलाई पीडितको पैसा फिर्ता गराएर छाडिएको छ ।

अनलाइन ठगी जति मौलाउँदै छ, अनुसन्धान पनि त्यतिकै सकसपूर्ण हुँदैछ । फेसबुक, भाइबर, ह्वाट्सएप र इन्स्टाग्रामको सम्पर्क कार्यालय नेपालमा छैन । सम्पर्क कार्यालय नहुँदा सामाजिक सञ्जालमार्फत भएको अपराधको विवरण सजिलै नआउने बताउँछन् अपराध महाशाखाका एसएसपी बसन्त कुँवर ।

‘ठगी गर्ने गिरोहको सम्पर्ककमा को–को छन् भन्ने विवरण नआउँदा सञ्जालका मान्छे पक्राउ गर्न सकिँदैन,’ उनले रातोपाटीसँग भने । ह्वाट्स एप, भाइबर र फेसबुकमार्फत ठगी धन्दा चलाउने धेरैजसोले भारतमा बसेर सोझा नेपाली नागरिकलाई टार्गेट गर्ने गरेका छन् । तर, प्रहरी भारतमा बस्ने मुख्य योजनाकारसम्म पुग्न सक्दैन । अनलाइन ठगीबारे अनुसन्धान गर्ने प्रहरी अधिकृतहरु पीडितले पैसा जम्मा गरेको बैंक खाता सञ्चालक र ओटीपी कोड लिएर रकम ट्रान्सफर गर्नेहरुसम्म मात्रै पुग्छन् ।

‘पीडितले पैसा जम्मा गरेको आधारमा खातावालासम्म पुग्छौं, उनीहरु नेपालभित्रकै हुन्छन्,’ महानगरीय अपराध महाशाखाका एसएसपी बसन्त कुँवर भन्छन्, ‘सामाजिक सञ्जालबाट विवरण नआउँदा त्यहाँ भएको कुराकानी र योजना पत्ता लगाएर ठगी गर्ने मुख्य योजनाकारसम्म पुग्न समस्या भएको छ ।’

नेपालमा सञ्चालित डिजिटल वालेट ई–सेवा, खल्ती र आइएमई–पे मा पहुँच बनाएर ठगी गर्ने गिरोहले एक पटक प्रयोग गर्न मिल्ने ‘ओटीपी’ कोड लिएर ठग्ने गरेका छन् । त्यसरी, अपरिचितले लोभ देखाएर ओटीपी कोड मागेमा नदिन र प्रहरीलाई जानकारी दिन एसएसपी कुँवरले आग्रह गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप