विहीबार, १९ माघ २०७९
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

हामी आफैँ रमाएर गठबन्धन गर्ने पक्षमा छैनौँ : चिरिबाबु महर्जन

‘चुनाव आयो भन्दैमा हावादारीको भरमा आरोप लगाउनु त भएन नि !’
शनिबार, १२ चैत्र २०७८, ११ : ५०
शनिबार, १२ चैत्र २०७८

स्थानीय तहको निर्वाचन नजिकिँदै छ । स्थानीय तहका जनप्रतिनिधिको पाँच वर्षको कार्यकाल पूरा हुन लागेको छ । जनप्रतिनिधिहरूले यो अवधिमा कति र कस्तो काम गरे भन्ने मूल्याङ्कन जनताले गर्ने बेला आएको छ ।
जनताले स्थानीय तहका जनप्रतिनिधिबाट भएका कामको मूल्याङ्कन गर्नु अघि स्वयं जनप्रतिनिधिले आफ्ना कामलाई कसरी मूल्याङ्कन गरेका छन् भन्ने प्रश्न पनि महत्त्वपूर्ण नै हुन्छ । यसै सन्दर्भमा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनसँग रातोपाटीले कुराकानी गरेको छ । ललितपुर महानगरको नेतृत्व गरेको करिब पाँच वर्षको अवधिमा आफूले गरेका काम र अनुभव महानगर प्रमुख महर्जनले विस्तृत रुपमा व्यक्त गरेका छन् । प्रस्तुत छ, ललितपुर महानगर प्रमुख चिरिबाबु महर्जनसँग गरिएको कुराकानीको सम्पादित अंश–

 
तपाईंको नेतृत्वमा ललितपुर महानगरपालिकामा के के काम भए ?
ललितपुर महानगरमा थुप्रै काम भएका छन् । यो भनिरहँदा एउटा आधारशिला लिनुपर्छ । त्यो भनेको हाम्रो घोषणापत्रलाई आधार मान्दा उत्तम हुन्छ । घोषणापत्रमा उल्लेख भएका कुरा हामीले ९० प्रतिशत पूरा गरेका छौँ । घोषणापत्रमा उल्लेख नभएका अन्य कयौं काम पनि हामीले पूरा गरेका छौँ । यो अवधिमा हामीले गरेको कामबाट हामीमात्रै होइन नगरवासी पनि सन्तुष्ट हुनुहुन्छ भन्ने मलाई लागेको छ ।
 
पाँच वर्ष अगाडि घोषणापत्रमा भनिएका कुरा के के पुरा गर्नुभयो ? बुँदागत रुपमा भन्नुस् त ?
भए/गरेको कुरा त बिर्से पनि फरक नपर्ला । बोलेको तर पूरा गर्न नसकेको कुरा अझै पनि मैले त्यागेको छैन । पुल्चोकदेखि बागमतीसम्मको १.४ किलोमिटरसम्मको फ्लाई ओभरको प्रस्तावनाका लागि बोलेको थिएँ । त्यसमा हामीले अध्ययन पनि गरायौँ तर त्यहाँ ६ वटा घर भत्काउनुपर्ने देखियो । हामीले यहाँबाट फ्लाइओभरबनाएर लैजाँदा माइतीघर, त्रिपुरेश्वरसम्म जाइकाबाट फ्लाइओभर राख्ने निश्चित भइसकेको छ । यहाँनिर ललितपुरबाट आउने फ्लाइओभरलाई जोड्नका लागि एउटा मुख पनि राखिएको छ । तर त्यो पनि बनेको छैन । उतातिर नामोनिशान केही पनि छैन । तसर्थ हाम्रोतर्फबाट फ्लाइओभरबनाएर लगिए पनि कहाँ टुङ्ग्याउने भन्ने निश्चित छैन ।
अर्कोतर्फ यसको लागत पनि धेरै नै निस्कियो । त्यसैले अहिलेका लागि हामीले यसलाई थाँती राखेका छौँ । यसलाई रद्द नै भने गरेका छैनौँ ।
 
त्यो एउटा विषयमा तपाईंहरू चुकेको हो ?
चुकेकै भन्ने शब्द प्रयोग गर्दिनँ । यसलाई म विचाराधीन भन्छु । यसको अध्ययन पनि गराइयो । यसको अध्ययनपछि जुन नतिजा निस्कियो, त्यो नतिजा चाहिँ बाटो विस्तार गर्ने, फराकिलो पार्ने कुरा ठिक छ तर बस्तीलाई उठाएर बाटो बढाउने पक्षमा भने म छैन । तसर्थ ६ वटा घर भत्काउने प्रस्ताव आएको छ, त्यसले मेरो ध्यानाकर्षण गराएको छ ।
दोस्रो मुख्य कुरा, हामी कहाँ टुङ्गिने भन्ने पनि हो । अवतरण गर्न एउटा आधारशीला चाहियो । मैले काठमाडौँको थापाथलीमा अवतरण गर्दा उताको अनुमति लिनुपर्ला नि त ! तसर्थ जाइकाले अध्ययन गरेको जुन अंश छ, त्रिपुरेश्वर–माइतीघर खण्ड, यो जोडियो भने राम्रो हुन्छ ।
 
आगामी निर्वाचनमा तपाईं उम्मेदवार बन्ने कि नबन्ने ? मेयरमा तपाईंको दाबी छ कि छैन ?
संविधानले चाहिँ मेयरलाई दुई पटकको मौका दिएको छ । मैले पहिलो पटक राम्रै काम गरेँ । मार्क्स (परीक्षा नतिजा) दिँदा पनि मैले विशिष्टिकृत (डिस्टिङसन) नै पाउँछु होला । डिस्टिङसन ल्याउने विद्यार्थीले छात्रवृत्ति (स्कलरशीप) नै पाउनु पर्‍यो । फेरि पनि अवसर पाएमा राम्रो गर्छु भन्ने मेरो मनसाय छ । तसर्थ संविधानप्रदत्त दोस्रो पटकको अधिकारलाई सम्बोधन गर्न चाहन्छु । यो कुरा भनिरहँदा गएको पाँच वर्षको अवधिमा यदि मैले काम गर्न नसकेको भन्ने जनतालाई लाग्छ वा आफ्नै पार्टी नेपाली काँग्रेसले पनि चिरिबाबुले केही पनि गर्न सकेन भनेको भए मैले विचार गर्नुपर्ने अवस्था आउँथ्यो ।
 
त्यसो भए ललितपुरको मेयरमा ‘स्कलरशीप’ नै मिल्छ होला ?
अवसर दिन्छन् भनेर मैले एक किसिमको मौखिक अभिव्यक्ति दिइसकेको छु । यसको स्कलरशीप कमिटीले निर्णय गर्न बाँकी छ । तर मभन्दा अर्को उत्तम विद्यार्थी आयो भने मेरो स्कलरशीप खोसिन्छ । तर अहिलेको सन्दर्भमा नेपाली काँग्रेसले पनि मभन्दा उत्तम विद्यार्थी पाउला भन्ने मलाई लागेको छैन ।
 
भनेपछि मेयरमा तपाईंको उम्मेदवारी दोहोरिँदै छ ?
हजुर, त्यसरी बुझ्दा फरक पर्दैैन ।
 
तपाईं मेयर भएपछि ललितपुर महानगरवासी शत प्रतिशत खुसी छन् भन्ने तपाईंलाई लागेको छ ?
बेखुसी हुनुपर्ने कुरा मेरो कानमा परेको छैन । चिरिबाबु ! तिमीले गरेका कुराबाट ‘वि आर अनह्यापी’ भन्ने कुरा मेरो कानमा भने परेको छैन । तसर्थ उहाँहरू खुसी हुनुहुन्छ । यद्यपि, त्यहाँ केही अलि तलमाथि परेको हुन सक्छ । ह्रस्व–दीर्घ मिलाउनुपर्ने हुन सक्छ । त्यो भनेको आफ्नो ठाउँमा भइरहन्छ । काम गर्दा ढिलोचाँडो एउटा प्रोजेक्ट एक वर्षभित्र पूरा गरेको भए नगरवासीहरू अझै खुसी हुन्थे होला । यो वर्षमा नसकिएको र अर्को वर्षलाई राखौँभन्दा अलि बढी बेखुसी भए होला । तर मैले बोलेपछि म त्यो काम पूरा गरिदिन्छु । तसर्थ चिरिबाबुले भनेपछि फरक खाँदैन भन्ने नगरवासीलाई थाहा छ ।
 
तर एकाध सडकबाहेक धेरै सडक खाल्डाखुल्डी परेका छन्, व्यवस्थापन छैन भन्ने सुन्नमा आएको छ नि ?
यसमा मेरो भनाइ स्पष्ट छ । दुईवटा क्याटागोरीका सडक छन् । ८ मिटरभन्दा कम फराकिलो स्थानीय तहले हेर्ने, योभन्दा बढी केन्द्रले हेर्ने । यहाँले भनेको सडक पनि संघीय सरकारले टेन्डर गरेकोमा पर्छन् । त्यसैले केन्द्र सरकारका कारण हामीले गाली खानु परेको छ । जस्तै, सैंजु भैसेपाटीको बाटो, हरिसिद्धि गोदावरीको बाटो, धापाखेलको बाटो, चापागाउँ जाने बाटो, यी चारवटै सडक केन्द्रीय सरकार मातहतको हो । यसमा स्थानीय सरकारलाई एउटा किला ठोक्ने अधिकार पनि छैन । केन्द्रीय सरकारले टेन्डर गरेको पाँच वर्ष बितिसक्यो । तर अहिलेसम्म पनि बाटो लथालिङ्गनै छ । हिलाम्य छ, धुलाम्य छ । तसर्थ यो विषयमा अकरमण्यता र गल्ती केन्द्रीय सरकारको हो । तर गाली हामीले खानु परेको छ । उदाहरणका लागि हिजोमात्रै सुनाकोठीका वासिन्दाले विरोधस्वरुप कुनै पनि गाडी जान नदिनेगरी बाटो बन्द गरिदिए । हुन पनि हो, त्यहाँ कति भइसक्यो– जस्ताको तस्तै छ । पानी पर्‍यो हिलाम्य, अरुबेला धुलाम्य । यसले नगरवासीको स्वास्थ्यमा जुन असर परिरहेको छ, त्यो महत्वपूर्ण कुरा हो ।

अब यो विषयमा म मेयर भएको नाताले मै यो काम गर्दिन्छु भन्न पनि नसक्ने । किनकि संघीय सरकारले टेन्डर गरिसकेको छ, त्यसमा मैले बजेट हाल्दा बेरुजु देखिन्छ । अख्तियारले पनि सोध्ला ।
 
समन्वय त गर्न सकिन्छ होला नि ?
समन्वय गरिरहेका छौँ । तर यहाँ ठेकेदारहरू साह्रै बलिया छन् । यसले गर्दा हामीलाई पनि यहाँ महाभारत छ । मैले एउटा पत्र पनि लेखिसकेँ सरकारलाई । ललितपुर महानगरमा पर्ने चक्रपथ पनि ललितपुर महानगरपालिकालाई जिम्मा दिनुहोस् । हामी सुख–दुःख गरेर बनाउँला ।
 
तपाईंको पार्टी नेपाली काँग्रेस नै सरकारमा छ तर पनि यस्ता काम गर्न सहज भएन ?
योचाहिँ ऐन कानुनकै कुरा हो नि त । ८ मिटरभन्दा माथिको संघीय सरकारले हेर्ने र योभन्दा तलको स्थानीय सरकारले हेर्ने प्रावधान छ । तसर्थ नेपाली काँग्रेसको सरकार भए पनि चिरिबाबुलाई मात्रै हेरेर त ऐन कानुन परिवर्तन त गर्दैन नि । पूरै मुलुकलाई हेरेर ऐन परिमार्जन र संशोधन गर्नुपर्ने हुन्छ । तसर्थ मेरो सुझाव यो छ कि एउटै विषयमा दुईथरीको कुरा नहोस् । उदाहरणको निमित्त ८ मिटर बढीको सडकमा खाल्डाखुल्डी भइरहेको हुन्छ । तर त्यहाँ हिँड्ने बटुवा दुर्घटनामा पर्‍यो भने सबैभन्दा पहिला मैले गाली खानुपर्छ । हामी स्थानीय जनप्रतिनिधि हौं, हामीले गाली खानुपर्छ । तर यो हाम्रो दोष होइन नि । त्यो सडकको जिम्मा पनि हामीलाई नै दिइयो भने अन्य काम छोडेर खाल्डाखुल्डी पुर्न सकिन्थ्यो । तर त्यो मौका हामीले पाइरहेका छैनौँ । तसर्थ ललितपुर महानगरपालिकाभित्रका ८ मिटरभन्दा बढीको जिम्मा हामीलाई दिइयोस् । यो जिम्मेवारी हामी पूरा गर्छौँ । सकिन्छ भने बजेट पनि दिनुस् । बजेट दिन नसक्ने भए पनि हामी यो काम गर्छौँ । बाटो सफा गर्न ३ वटा ब्रुमर छन्, पानी ट्याङ्करहरू छन् । धेरै कुरा हामीले व्यवस्थापन गरिसकेका छौँ ।
 
तपाईंका प्रतिस्पर्धीहरूले केही सवाल उठाउनु भएको छ । साँघुरो बाटामा हरियो सेतो लाइन तानेर साइकल लेनका नाममा करोडौं खर्च भयो । त्यहीमाथि पार्किङ गराएर शुल्क उठाइयो । यसले कसरी नगरको विकास भयो भन्ने उहाँहरूको गुनासो छ । यसमा तपाईं के भन्नुहुन्छ ?
अब कथम्कदाचित म पनि मेयरकै विरुद्धमा चुनाव लड्ने भएको भए त्यो विचार राख्थेँ होला । एउटा प्रतिपक्षको धर्म निभाउनुभयो, उहाँहरूलाई पनि धेरै धेरै धन्यवाद । तर हामीले बुझ्नुपर्ने कुरा के हो भने काठमाडौँका बाटो भनेको २००७ सालभन्दा अगाडिका हुन् । त्यसपछि यसलाई अलि सुदृढीकरण गरियो होला । पछि यसलाई चौडा पार्ने प्रयास गरियो होला । तर त्यो अन्तर्राष्ट्रिय मापदण्डको किमार्थ छैन । यो अवस्थामा हामीले ललितपुर महानगरपालिकालाई बस्न लायकको सहर अर्थात स्मार्ट सिटी बनाउने अवधारणा छ, त्यो अनुसार काम गर्दा अलि सुख–दुःख त गर्नै पर्‍यो नि । विदेशमा हेर्नुहोस् त । त्यहाँ सानो सडकमा पनि साइकल लेन छ । त्यहाँका बाटो एकतर्फी भएकाले सजिलो भयो । तर हाम्रा सडकहरू दुईतर्फी छन् । तसर्थ यहाँ अलिकति गाह्रो भएको हो । तर गर्दै नगर्नु भनेको राम्रो होइन ।
हामी सानो छँदा यहाँ साइकलमात्रै हुन्थ्यो । अब त छैन नि । यसले वातावरणमा एकदमै नराम्रो असर पार्‍यो । मुलुककै अर्थतन्त्रमा पनि यसले नराम्रो असर पार्‍यो । जनमानसको स्वास्थ्यमा पनि यसले प्रतिकुल असर पार्‍यो । यी सबै कुरालाई हामीले अहिले सम्बोधन नगरे कहिले गर्ने त ? बाटो सबै चौडा भइसकेपछि सम्बोधन गर्ने भनेर बस्ने ? त्यो मिलेन ।
 
करोडौँ खर्च भयो भन्ने आरोप छ नि ?
यसको नतिजा हामीले साइकल लेन बनाएपछि साइकल चलाउनेको संख्यामा व्यापक वृद्धि भएको छ । माउन्टेन बाइकमा हिँड्ने, कार्यालयमा जाँदा साइकल चढ्ने र फुर्सदमा साइकल चलाउनेको संख्यामा व्यापक वृद्धि भएको छ । मैले नै यहाँ कयौँ पटक साइकल र्‍यालीको उद्घाटन गरिसकेको छु । कारण के भने यहाँ साइकल लेन छ । त्यसैले हामीले यो कुरामा खर्च भयो भनेर चित्त दुखाउनु हुँदैन ।
 
साइकल लेन बनाएर पनि पार्किङको शुल्क उठाएको आरोप समेत लागेको छ नि ?
साइकल लेन बनाएर शुल्क लियो भन्ने विषय सत्य होइन । जहाँजहाँ साइकल लेन छ, त्यहाँ हामीले पार्किङ गर्न दिएका छैनौँ । बागमती पार गरेर आएपछि जहाँजहाँ पार्किङ गरिएको छ, त्यहाँ निःशुल्कमात्रै छ । महानगरमा जहाँ साइकलको लेन छ, त्यहाँ सशुल्क पार्किङ गराइएको छैन । यसको प्रमाणको रुपमा कुमारीपाटीमा हेर्न सकिन्छ । लगनखेलतिर हेर्न सक्नु हुन्छ । धेरै ठाउँमा हेर्न सकिन्छ । हामीले बनाएको ३२.५ किलोमिटर क्षेत्रमा सशुल्क पार्किङको व्यवस्था छैन । एकताका हुनहुन खोजेको थियो । तर हामीले त्यसलाई पनि रद्द गर्‍यौँ ।
 
तपाईंका प्रतिस्पर्धी वा विपक्षीहरूले चिरिबाबु महर्जन विकासका कार्य, सुशासन, सहकार्य सबै भूमिकामा चुक्नु भयो भन्ने आरोप लगाएका छन् । एउटा गुठीयारको रुपमा मात्रै काम गरिरहेको आरोप लगाएका छन् । उनीहरू तपाईंसँग केही सय मतले मात्रै हारेका थिए । यस विषयमा के भन्नुहुन्छ ?

विपक्षीको नाताले र अब निकट भविष्यमै आउन लागेको चुनावलाई केन्द्रविन्दु बनाएर केही यस्ता शब्दहरू प्रयोग गरेर आफूचाहिँ ‘लाइफ लाइन’मा आउन सकिन्छ कि भन्ने धृष्टता मात्रै हो । हो, मैले मेरा विपक्षीलाई ३२६ भोटले मात्रै हराएँ । तर, त्यो बेलाको वातावरण हेर्नुस त । त्यो बेलाको वातावरण अहिलेको जस्तो थिएन । ललितपुर जिल्ला नै ‘लाल किल्ला’ थियो । त्यो अवस्थामा मैले ३२६ भोटले हराएँ भने त्यो अब झनै धेरैले बढ्छ । मैले जसलाई हराए, उनै फेरि उम्मेदवार भएर आए पनि म झनै अन्तरले हराउन सक्छु । त्यो बेला र हाल आमूल परिवर्तन भइसकेको छ । त्यो बेला ललितपुर उपमहानगरपालिका थियो । हाल महानगरपालिका बनाइएको छ । छिमेकी गाउँपालिकाहरूलाई यसमा मर्ज गरियो । छिमेकी गाउँपालिकाहरूमा चिरिबाबु महर्जन चिनिएको थिएन ।

दोस्रो कुरा, नेपाली काँग्रेसको आन्तरिक झैझगडाले गर्दा त्यो बेला निर्बल थियो । हाल छिमेकी गाउँपालिकामा चिरिबाबु पनि चिनिएको छ । मैले पाँच वर्ष काम गरेँ । पाँच वर्ष काम गर्दा ‘मेक नो मिस्टेक’ भन्ने मेरो सिद्धान्त हो । गल्ती नगर, क्षमा माग्नु हुन्न । क्षमा माग्नुपर्ने गरी गल्ती नगर भन्ने मेरो सिद्धान्त हो । ललितपुर महानगरपालिका अन्तर्गत मैले यो काममा गल्ती गरेँ, माफ पाउँ भनेको छैन । तसर्थ मैले जे काम गरेँ, त्यो गर्छु । उपमहानगरको २२ वडा र महानगरको २९ वडाका सबैले मलाई चिनिसक्नु भएको छ । चिरिबाबुले बोलेपछि गर्छ, उसले गल्ती गर्दैन । चुनावको निम्ति योभन्दा ठूलो कुरा के होला र ?
 
नेकपा एमाले, माओवादी र विवेकशीलले लगाएका सबै आरोप झुठा हुन् त ?
म सबै झुठा त भन्दिनँ । होला, चुनावको समयमा बोल्दा भोटलाई आकर्षित गर्न त्यहाँको वस्तुस्थिति हेरेर केही कुरा बोलिएको होला । उहाँहरूले त्यो पनि सम्झिरहनु भएको होला । तसर्थ म सबै कुरा झुठा भन्दिनँ । थोरै भोटले मात्रै जितेको भन्ने कुरा हो । त्यसमा मेरो कुनै विरोध छैन । तर आगामी चुनावमा भने म आमुल सुधार गर्छु ।
 
तपाईं सुशासन र सहकार्यमा चुक्नुभयो भन्ने आरोप सत्य हो ?
सुशासन र सहकार्यमा पनि चुक्यो भन्न मिल्दैन । उहाँहरूले आरोपका निमित्त आरोप लगाउनु भएकोमात्रै हो । यदि म पनि विपक्षी भएर वैशाख ३० गते चुनाव लड्दैछु र मेरो विपक्षी चाहिँ मेयर भइरहेको छ भने म त्योभन्दा घनिभूतकै आरोप लगाउँछु । यद्यपि, त्यो मलाई प्रमाणित गर्न गाह्रो पर्छ होला । आरोप लगाइदिन्छु । सुशासनको कुरामा हामीले आफ्नो तर्फबाट राम्रो गरेका छौँ । यहाँ विगत ४० वर्षदेखि कौडीको भाउमा महानगरपालिकाका पसलहरू बहालमा लिइरहेको थियो । तर त्यसलाई हामीले सुशासन कायम गरेर त्यसको १० गुणा बढाएका छौँ । आम्दानी यसरी भइरहेको छ । योभन्दा राम्रो सुशासन के होला ? प्रत्येक वडावासीलाई सुशासन दिन केन्द्रका अधिकारहरू वडा वडामा पठाएका छौँ । तसर्थ उहाँहरू हाल केन्द्रमा आउनु पर्दैन । यस्ता धेरै कुरा छन् ।

सहकार्यको कुराका सन्दर्भमा यसको परिभाषा अलि विशाल छ । तर पनि सहकार्यमा हामीले राम्रो गरिरहेका छौँ । हामीले सहकार्य नै गर्ने सन्दर्भमा हाम्रो एसियाली विकास बैंकसँग सहकार्य गर्ने भएका छौँ । विश्व बैंकको एउटा काममा राम्रोसँग सहकार्य भयो । दोस्रो चरणको कार्यक्रम ल्याउन खोज्दा कोभिड–१९ ले बिगार्‍यो । तसर्थ फेज–२ कर्नरमा छ । कुनै पनि बेला आइपुग्छ । त्यस्तै युरोपेली संघसँग पर्यटकीय सम्पदा सम्बन्धी योजनामा राम्रोसँग सहकार्य भइरहेको छ । ललितपुर महानगरपालिका एसिया–प्रशान्त क्षेत्रको १३४ मेयरहरूको सञ्जाल निर्वाचित मेयरको बोर्ड हो । हामी बोर्ड अफ डाइरेक्टर हौँ । हामीले त्यहाँबाट धेरै परियोजना ल्याएका छौँ । कोभिडको समयमा यी कार्यक्रम बन्द नै भएको होइन, केही मात्रामा कमी भयो । तसर्थ सहकार्यमा पनि हामीले राम्रो गरेका छौँ ।
 
ललितपुर महानगरका २९ वटा वडामध्ये वडा नम्बर २१, २२, २६, २७, २८ र २९ लाई तपाईंले बेवास्ता गर्नुभयो, चक्रपथतिर मात्रै ध्यान दिनुभयो भन्ने गरिन्छ नि ?
यो पनि विपक्षीले आफ्नो धर्म निभाएको मात्रै हो ।
 
के ती वडाका जनता तपाईंसँग खुसी हुनुहुन्छ ?
२०७४ सालको चुनावमा सम्भवतः मैले उहाँहरूको तर्फबाट धेरै भोट पाइनँ । तसर्थ निकटतम प्रतिस्पर्धीलाई थोरै मतले मात्र हराएँ । यो पाँच वर्षको अवधिमा मेरो काम र जनसम्पर्कले त्यो ३२६ को अन्तरलाई कयौँ गुणाले बढाउन सक्छु । यसको कारण के हो भने ललितपुर महानगरपालिकाले एउटा नीति बनाएको छ । त्यो नीति भनेको हिजो उपमहानगरपालिका हुँदा २२ वडा थियो । त्यसमा पुल्चोक, जावलाखेल, मंगलबजार, गावाहल, पाटनढोका हिजोका उपमहानगरपालिकाका विकसित वडा थिए । यो ठाउँमा वास्तवमै पैसा धेरै भए पनि गर्नुपर्ने काम भने थोरै थियो । सम्भवतः छैन भन्दा पनि फरक पर्दैन । एउटा कुरा त्यो छ भने, हिजोका गाउँपालिका र कार्यविनायक नगरपालिका गाभिन आयो त्यो ठाउँमा गर्नुपर्ने काम धेरै छ । हामीले ललितपुर महानगरमा गाभिएका हिजोका गाउँपालिकालाई पनि जावलाखेल, पुल्चोक, पाटनढोकाको स्तरमा ल्याउन ध्यान दियौँ । बजेट विनियोजन पनि धेरै गर्‍यौँ । नेपाल सरकार र अन्तर्राष्ट्रिय रुपमा पाउने परियोजनाहरू पनि बढीभन्दा बढी यता लागू गर्ने हाम्रो नीति छ । यस अन्तर्गत हामीले काम गरिरहेका छौँ ।

तपाईंले उल्लेख गर्नुभएको जतिवटा वडा छन्, नगरवासीलाई एकदमै थाहा छ । यसमा कुनै किसिमको तुक छैन । हामी हिजोको गाउँपालिका क्षेत्रमा द्रुत गतिले विकास गर्नका निमित्त अग्रसर भइरहेका छौँ । ‘रोम वाज नट बिल्ड इन अ नाइट’ भनेजस्तै एकैचोटी विकास गर्न नसकिएला, अब आउँदो एक कार्यकालभित्र यी क्षेत्रमा पनि धेरै विकास हुनेछ ।
 
ललितपुर महानगरपालिका एक ऐतिहासिक क्षेत्र, सांस्कृतिक सम्पदाको धनी छ, यसको पुनर्निर्माणमा चुक्नु भएको हो ?
पुनर्निर्माणमा हामी एकदमै सफल भयौँ । मठ, मन्दिर, देवालय, शिवालय बनाउने काम लगभग पूरा भयो । पछिल्लो चरणमा देवतलेको निर्माण सुरु भइसकेको छ । बालकुमारी मन्दिरको निर्माण सुरु भइसकेको छ । नर्सिङ मन्दिर बनाउन सुरु भइसकेको छ । शिखर शैलीको मच्छिन्द्रनाथको मन्दिर निर्माणको आधाभन्दा बढी काम सकिइसकेको छ । खोकनाको रुद्रायणी मन्दिरको पनि काम सुरु भइसकेको छ ।
यी परियोजनाहरू सुरुमा द्विविधापूर्ण र यो कार्य कसरी सुरु गर्ने भन्ने थियो ।
 
सम्पदाहरू पुनर्निर्माणमा पाँच वर्षको समय पर्याप्त नभएको हो कि अन्य अप्ठ्यारो वा नीतिगत समस्या आएको हो ?
नीतिगत अप्ठ्यारोका कुरा थिए । उदाहरणका लागि म तपाईंलाई वडा नम्बर २२ को बुङ्गमतीको रातो शिखर शैलीको मच्छिन्द्रनाथ मन्दिरको कुरा गर्छु । त्यो मन्दिर श्रीलंका सरकारको सहयोगमा बनाउन खोजिएको हो । त्यसमा मन्दिर बनाउने मामिलामा केही पनि थाहा नभएको ठेकेदार पर्‍यो । सार्वजनिक खरिद ऐन २०६३ को सबैभन्दा बिग्रेको पक्ष भनेको यही हो । ऐनले जसले सबैभन्दा घटीमा टेन्डर प्रस्तुत गर्छ, उसैले काम पाउनुपर्छ भन्छ । त्यो ठेक्का डोटीका एक ठेकेदारले पाउनुभयो । उहाँले कहिल्यै पनि मन्दिर बनाउनु भएको रहेनछ । पिचरोड बनाउन माहिर तर मन्दिर अहिलेसम्म नबनाएको । त्यसैले ऊ असफल भयो ।
 
पाटन त अन्तर्राष्ट्रिय रुपमै पर्यटकका लागि चर्चित छ । यसलाई त सम्पन्न गर्नुपर्ने थियो नि ?
यसमा हामीले गर्नुपर्ने काम सबै गर्‍यौँ । उदाहरणका निमित्त नेपाल सरकारले जापान सरकारबाट केआरटु भन्ने एउटा सहयोग पायो । त्यो सहयोगमा पाटनको देवु तलेजु बनाउनुपर्ने थियो । तर त्यो मन्दिर बनाउन पुरातत्व विभागलाई ललितपुर महानगर अन्तर्गतको पुरातत्व निर्माणका लागि सार्वजनिक खरिद ऐन २०६३ अन्तर्गत काम गर्न दिन्नँ भनेर मैले घोषणा गरे । उहाँहरूले त्यही मन्दिरको टेन्डर पनि गर्नुभयो, त्यो काम म गर्न दिन्नँ भनेपछि रोकियो । हामीले यो मन्दिर बनाउँदा गुणस्तरमा सम्झौता गर्न दिँदैनौँ भनेर मैले भनेँ । यो एकदम राम्रोसँग बनाउनु पर्छ भनेर मैले भनेँ । ठेकेदारले सबैभन्दा कम मूल्यमा बोलकबोल पेस गर्‍यो । काम नपाउन्जेलसम्म थोरैमा बोलकबोल गरेर काम लिने, काम पाएपछि त्यसैबाट नाफा कमाउन गुणस्तर कम गरेर नाफा कमाउने प्रवृत्ति देखियो । तसर्थ मैले यहाँ हामी मन्दिर बनाउन दिदैनौँ भनेँ । यदि यो बनाउने हो भने स्थानीयस्तरको उपभोक्ता समितिका तर्फबाट काम गर्नुपर्छ भनेर भन्दा जापानले दिएको सहयोगबाट काम सुरु गर्न विलम्व भएकै हो । अन्ततः त्यो काम हामी स्थानीयस्तरमा गर्न सफल भयौँ । यस्ता कामले गर्दा अलिकता ढिला हुन गएको हो ।
 
तपाईंले सम्पदा संरक्षण गर्न नसकेको भन्ने आरोप पनि छ नि ?
आरोपकै लागि आरोप लगाउनु छ भने ठिकै छ । यो भोटे भोटे खालको छ भन्दिए पनि हुन्छ । म त नेवार हुँ नि, होइन ? तर प्रमाणित गरेर देखाउनु पर्‍यो नि । हामीले अहिलेसम्म सम्पदा क्षेत्रमा भए गरेका काममा चिरिबाबु तैँले गरेको यो यो काममा कैफियत छ है भनेर देखाउनुपर्यो नि त । अब चुनाव आयो भन्दैमा हावादारीको भरमा आरोप लगाउनु त भएन नि ! मेरै नेतृत्वमा ललितपुर महानगरपालिकामा जे जति काम भइरहेको छ, त्यसलाई नगरवासीले मुक्तकण्ठले प्रशंसा गरिरहेका छन् । उदाहरणका निमित्त हामीले शंखमुल, पाटन दरबार स्क्वायर र लगनखेलमा ट्रंक लाइनको प्रोजेक्टमा व्यवस्थापन गर्दैछौ । यो एसियाली विकास बैंकबाट ५४ करोड रुपैयाँ सहयोग पाएर काम गर्न गइरहेका छौँ । यो बैंकका लागि पनि सम्पदा क्षेत्रमा विश्वकै पहिलो आयोजना रहेछ । त्यसले गर्दा पनि उहाँहरू साह्रै चिन्तित भएको हामीले पायौँ । दुई पटक विशेषज्ञहरू पठाएर अध्ययन गरेपछि ‘ल, काम ठिक छ अगाडि बढाउनुहोस्’ भनेर उहाँहरूले भन्नुभयो ।

हरेक कोणबाट हेरेर हामीले काम गरेका छौँ । त्यसैले यसको विरोध गर्नु विपक्षीको धर्म निभाएकोजस्तो मात्रै मलाई लागेको छ ।
 
अब तपाईंले फेरि उम्मेदवार हुन्छु भन्नुभएको छ । यसको अर्थ ९० प्रतिशत काम पूरा भएको तथा बाँकी १० प्रतिशत काम गर्न आफैँ ललितपुर महानगरको मेयर हुनुपर्छ भन्नु भएको हो ?
१० प्रतिशतका लागिमात्रै होइन । त्यो १० प्रतिशत त मेरो यो कार्यकालको मात्रै बाँकी हो । अर्को १०० प्रतिशत काम त बाँकी नै रहन्छ नि ।
 
अबको चुनावमा तपाईंलाई किन भोट दिने ?
मेरो घोषणा यही हो भनेर हामीले घोषणापत्र छापेका छैनौँ ।
 
स्थानीय तहको निर्वाचनमा त जनताले पार्टीमात्र नहेरेर व्यक्ति पनि हेर्छन्, होइन र ?
हो, यो स्थानीय चुनाव भएकाले पार्टीभन्दा व्यक्ति बढी हावी हुन्छ । यद्यपि, पार्टीको ह्विपजस्तै केन्द्रीय घोषणापत्र आउँछ । त्यसलाई हामी स्थानीयकरण गर्छौँ । २०७४ सालको चुनावमा हामी जितेर आउँदा यहाँ केही पनि थिएन । त्योभन्दा अगाडि कर्मचारीले शासन चलाएको संस्था हो यो । केही महिनासम्म स्थानीय तह संचालन ऐनसमेत थिएन । त्यसैले हामी अलिकति अप्ठ्यारोमा परेका थियौँ । यस किसिमको अप्ठ्यारोका बाबजुद पनि ९० प्रतिशत काम गरेको दाबी मैले गरेँ । तर हालको अवस्थामा पाइपलाइनमा थुप्रै योजना छन् । पछि म वा अन्य जो आए पनि त्यो प्रोजेक्ट बैंकका आयोजना कार्यान्वयन गर्न सक्नुहुने छ । अब चिरिबाबुले नै जितेर आएमा बाँकी लगायत नयाँ प्रशस्त काम हुन्छ भन्ने स्थानीयको ठम्याई छ । त्यो आधार मैले तयार पारेँ ।
 
तपाईंले यो दावी गरिरहँदा २०७४ को झिनो मतान्तरको अवस्थालाई सम्झाउन चाहेँ । झिनो मसिनो कामले मतान्तर अझै कम हुने त होइन ?
अझ कम हुने ? अहँ, छँदै छैन । त्यो सपनामा पनि नचिताए हुन्छ ।
 
केन्द्रमा पाँच दलीय गठबन्धन छ । स्थानीय तहमा के छ अवस्था ?
मिडियातिर गठबन्धनको चर्चा चलिरहेको छ । तर हामी आफैँ रमाएर गठबन्धन गर्ने पक्षमा भने छैनौँ । हामी केन्द्रले ह्विप जारी गरेको अवस्थामा सकेसम्म नाई भन्छौँ । पाँच वर्ष अगाडि झिनो मतले जिते पनि हामीले जे काम गर्‍यौँ, यसबाट हाम्रो जित सुनिश्चित छ भन्ने मलाई लागेको छ । तसर्थ गठबन्धनको खासै आवश्यकता छैन भन्ने मेरो ठम्याइ छ । तर म अन्तिम निर्णयकर्ता भने होइन । तर ललितपुरमा मेयर र उपमेयर सहित २० वडामा काँग्रेसलाई जिताउँछु भन्ने मेरो ठम्याई छ ।
 
के अन्य पार्टी टुक्रिएकाले पनि जित सुनिश्चित भएको लागेको छ ?
त्यो हिसाबले मैले सोचेकै छैन । म आफ्नै कामले जित्छु भन्ने मलाई लागेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

मनोज न्यौपाने
मनोज न्यौपाने
लेखकबाट थप