विहीबार, २६ माघ २०७९
ताजा लोकप्रिय

'सामाजिक मुद्दा सम्बोधन नगरी देशको विकास हुँदैन'

गठबन्धन भइहाल्यो भने पनि यहाँ काँग्रेसले नै मेयर पाउँछ : उमा थापा मगर, उपमेयर, नेपालगञ्ज उपमहानगरपालिका
मंगलबार, १५ चैत्र २०७८, ०६ : ५५
मंगलबार, १५ चैत्र २०७८

स्थानीय तहको चुनावका लागि अहिले सबै पार्टीहरू गाउँ फर्किएका छन् । गाउँ गााउँमा चुनावी सरगर्मी बढेको छ । नयाँ संविधान बनेपछिको स्थानीय जनप्रतिनिधिले सङ्घीयता कार्यान्वयनको अनुभव सँगाली सकेका छन् । यसको अनुभव जनताले पनि लिइसकेका छन् ।

यसक्रममा गणतन्त्रले गाउँगाउँमा सिंहदरबार पुर्यायो भने पनि कतिपय जनप्रतिनिधिले जनताका माग सम्बोधन नगर्दा छोटे राजाहरूले राज गरेको आरोप पनि लगाए । यसै सन्दर्भमा जनप्रतिनिधि भएर  एक कार्यकाल लगभग पूरा गरिसकेकी नेपालगञ्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापा मगरसँग आगामी चुनावी रणनीतिबारे रातोपाटीले गरेको कुराकानी :

चुनावको माहौल तातिएको छ, नेपालगञ्जमा काँग्रेसलाई कत्तिको चुनाव लागेको छ ? 

–चुनावले सबैको ध्यानाकर्षण गराएको छ । स्वाभाविक रूपमा स्थानीय जनप्रतिनिधिसँग जनताको पहुँचमा जति सहजता छ प्रदेश र केन्द्रसँग त्यति छैन । अधिकारको उपयोग र कार्यान्वयनको दृष्टिले पनि स्थानीय सरकारमा जनताको पहुँच सहज बनेको छ । अहिले स्थानीय तहलाई दिइएको जिम्मेवारीले गर्दा पनि सबैको ध्यान निर्वाचन केन्द्रित भएको छ । यो स्वाभाविक हो । 

हामीले एक कार्यकाल आफ्नो भूमिका निर्वाह गरिसकेका छौँ । यस अर्थमा यो माहौलबाट टाढा रहन सकिँदैन, छुन्छ नै । हामी आफै पनि उम्मेदवार हौँ । 

देशभरका ६ वटा महानगरपालिकामा एक जना मात्र महिला मेयर हुनुहुन्थ्यो । ११ वटा उप–महानगरपालिकामा एक जना पनि महिला मेयर हुनुहुन्नथ्यो । उपमेयर हुँदाका अनुभव पनि छ, के अब तपाईं मेयरको दाबेदार हो ?

–मैले एक कार्यकाल उपमेयर भएर काम गरिसकेँ, अब अपग्रेड हुनुपर्छ नै । सङ्घीयताको अभ्यासको पहिलो जनप्रतिनिधि भएकाले स्थानीय सरकारलाई कसरी सञ्चालन गर्ने भन्ने विषयमा हामीभन्दा अनुभवी अरू हुनुहुन्न । त्यसैले मेरो पार्टीबाट म नै उम्मेदवार हुँ । 

काँग्रेस पुरानो पार्टी भएकाले उम्मेदवारका दबेदार अरू साथी पनि हुनुहुन्छ । यसलाई अन्यथा लिनुहुँदैन । तर कस्तो खालको उम्मेदवार बनाउने भन्ने मूल कुरा हो । हिजोदेखि नै पार्टीमा नियमित लागेर योगदान गरेकोलाई मात्र हेर्ने कि क्षमताको मूल्याङ्कन गर्ने भन्ने कुरा महत्त्वपूर्ण हो । 

अहिले पार्टीभित्र उम्मेदवारको अनुभवलाई पनि एउटा मापदण्ड बनाउने चर्चा चलिरहेको छ । अर्को कुरा काँग्रेसले समावेशिताको कुरालाई आफ्नो नीतिमा समेटेको छ । 

सङ्घीयता कार्यान्वयनको पहिलो अभ्यासमा ९४ प्रतिशतभन्दा बढी उपप्रमुख, उपमेयर छौँ । नयाँ संरचनामा कहाँ, कसरी, कस्ता काम गर्न सकिन्छ भन्ने कुरा भन्न सकिन्छ भन्ने कुरामा अनभिज्ञ नै भयौँ । म मात्र होइन, सबै नयाँ थियौँ । संविधानले नै महिला सहभागिता भनेकाले हामीले उपप्रमुखमा हामीले चित्त बुझाएकै हौँ । उप–प्रमुखको रूपमा काम गर्दाको अनुभव, लैङ्गिकता र समावेशिताको हिसाबले पार्टीलाई समावेशी देखाउने ठूलो अवसर छ अहिले । 

पार्टीले अवसर दिन्छ भन्नेमा विश्वस्त छु ।  अहिले उपप्रमुखको भूमिकामा रहेका र आफ्नो क्षमता देखाएका, काम गर्न सकेकाहरूले मेयरमा दाबी गर्नैपर्छ । चुनावमा उठेर जित्न सक्छु भनेर आँट देखाउन सक्ने व्यक्तिलाई पार्टीले पनि अवसर दिनुपर्छ । त्यो आँट ममा पनि छ । 

यो क्षेत्र राप्रपाको बढी प्रभाव भएको ठाउँ हो । काँग्रेसबाट तपाईं मेयरमा उठ्दा जित्न सक्नुहुन्छ त ? तपाईंले नै जित्ने आधार के के हुन् ?

–साङ्गठनिक दृष्टिले नेपाली काँग्रेस जनस्तरमा सशक्त छ । नेपालगञ्जलाई देशको माहोल कता गइरहेको छ त्यसले पनि प्रभाव पार्छ । तर पनि ०२४, ०७०, ०६४ को चुनावमा केही प्रभावहरू भोगिएकै हो । राप्रपाको हिजोको जस्तो सशक्त छैन । धवल शमशेरजीको कारणले एउटा ‘धवल ब्रान्ड’ बनेको छ । किनभने उहाँ २० वर्ष पहिले पनि यहाँको मेयर हो । उनको कार्यकाल सकिँदै गर्दा नयाँ दाबेदार कोही आएनन् । आफ्नो कार्यकालमा जति योजना बनाए त्यसलाई कार्यान्वयनमा लैजान सकेनन् । त्यहाँ एक खालको ग्यापिङ रह्यो । त्यसको म्यासेज जनतामा गयो भने धवलजी  मेयर हुँदा यहाँका लागि केही काम गर्नुभएको थियो । उहाँभन्दा उपयुक्त व्यक्ति अरू छैन भन्ने खालको वातावरण बन्यो । त्यो उहाँको भाग्य हो । उहाँ पछाडी कोही जनप्रतिनिधि मेयर भएर आएको भए त्यो कुरा त्यही काटिन्थ्यो । तर काट्न पाइएन । त्यो भएको हुनाले २० वर्षको अन्तरालमा कर्मचारीले चलाएको स्थानीय निकायबाट जनताले धेरै दुःख भोगे । जनताका अपेक्षाहरू १०, २० प्रतिशत पनि पूरा भएनन् । त्यो भएकाले धवलजी ब्रान्ड बन्न गएका मात्र हुन् ।

तपाईंसँग उपमेयरमा उठ्ने राप्रपाको उम्मेदवारले ८ हजार ९२१ मत ल्याउनुभयो । धवलजीले १२ हजारभन्दा बढी मत ल्याउनुभयो नि ?

–त्यो उहाँको व्यक्तिगत भोट थियो । राप्रपाको होइन कि धवल ब्रान्ड भएर हो । 

त्यतिबेला मेयरमा सेकेन्ड पोजिसनमा हुनुहुन्थ्यो उपमेयरमा जित्नुभयो । त्यसो भए फेरि धवलजी चुनाव लड्नुभयो भने त्यो धवल ब्रान्डले काम गर्छ कि गर्दैन ?

–काम गर्छ नै । त्यो ब्रान्ड हाम्रो सहरबाट टाढा जान सकेको छैन । अहिलेको देशको राजनीति परिदृश्यले पनि त्यसलाई मलजल गर्छ । तर उहाँको पार्टी पनि फुटेको छ । 

जनताले कम्युनिस्टहरूलाई दुईतिहाइ जनमत दिएर देश चलाऊ भने तर देशको अवस्था यस्तो भयो । त्यस हिसाबले पनि काँग्रेसको माहोल बनेको छ । पार्टीमा पनि सभापतिबाहेक सबै नयाँ अनुहार आएका छन् । देशले नयाँ अनुहार खोजेको छ । जनताले काँग्रेससँग नै अपेक्षा गरिरहेका छन् । त्यो अपेक्षालाई पूरा गर्न उम्मेदवारी दिँदा पार्टीले सम्बोधन गर्न सक्यो भने काँग्रेसले धेरै सिट ल्याउँछ र नेपालगञ्जमा पनि चुनाव जित्छ ।

तर एमाले र राप्रपाबीच गठबन्धन बन्यो भने जित्न गाह्रो होला नि ? 

एमालेको पनि सङ्गठन संरचना जनस्तरसम्म छ । त्यसलाई नर्कान मिल्दैन । हाम्रो प्रतिस्पर्धीको विश्लेषण गरी स्वीकार्नुपर्छ नै । एक्लै एक्लै चुनावमा उठ्ने हो भने काँग्रेसले पक्कै जित्छ । तर गठबन्धनका कुरा आयो भने त्यसप्रति अलि सचेत हुनुपर्छ । गठबन्धनको कुरा एमाले र राप्रपामा मात्र होइन काँग्रेसभित्र उठेको छ । यदि उहाँहरूबीच भयो भने त्यसले काँग्रेसलाई केही प्रभाव पार्न सक्छ । 

काँग्रेस, एमाले, एकीकृत समाजवादी कुनै दुई पार्टीबीच गठबन्धन बन्ने सम्भावना कतिको छ ?

–यसबारे केही भन्न सकिँदैन किनभने देशमा भएका राजनीति परिर्वतनहरू पूर्वानुमान गरेभन्दा फरक भइरहेका छन् । बीचमा एमाले र काँग्रेस भित्र पनि गठबन्धनको कुरा उठिरहेको थियो । फेरि त्यो हट्यो र यही पाँच दलीय गठबन्धनलाई चुनावसम्म लैजानुपर्छ भन्ने कुरा उठिरहेको छ । नेताहरूबीच पनि गठबन्धन गर्ने नगर्ने कुरामा अझै अन्योत छ । 

तर हामी एउटा कुरामा प्रष्ट छौँ, गठबन्धन बने पनि नबने पनि माथिबाट थोपर्ने होइन, जनस्तरको आवाश्यकताअनुसार हुनुपर्छ । जस्तै नेपालगञ्जमा गठबन्धन चाहिने हो होइन, यहाँका नेता, कार्यकर्ताहरूले भन्नुपर्‍यो । यो कुरामा उहाँहरू सहमत हुनुहुन्छ । गठबन्धन बन्यो भने पनि त्यो जिम्मेवारी स्थानीय नेतालाई नै दिने कुरामा एकमत देखिन्छन् ।

माओवादीका केही नेताहरूले ११ वटा उप–महानगरपालिकामध्ये केहीमा हामीले दाबी गर्ने भन्दैछन् । त्यसमध्ये उहाँहरूले नेपालगञ्जको नाम पनि लिनुभएको छ । यदि नेपालगञ्जको मेयर पद माओवादीलाई दिनुपर्यो भने काँग्रेसलाई अन्ततिर मेयर दिइयोभने कुरा मिल्न सक्छ ?

–त्यो त सम्भव छैन । गठबन्धन भइहाल्यो भने पनि यहाँ काँग्रेसले नै मेयर पाउँछ । प्रत्यक्ष मात्र नभई समानुपातिक मत हेर्दा पनि हामी नै अगाडि छौं । उहाँहरुले माग राख्नु स्वाभाविक हो । तर दाबीका साथ भन्छु गठबन्धन बने पनि नेपालगञ्ज काँग्रेसकै हातमा पर्छ ।

उप–महानगरपालिकाको मेयर, उपमेयर केन्द्रले उम्मेदवार तय गर्ने भन्ने कुरा छ नि ?

–यसबारे अहिले स्पष्ट भएको छैन । माथिबाट नै के निर्णय आउँछ हेरौँ । केही समयअघि महामन्त्री गगन थापा पनि आउनुभएको थियो । उहाँले पनि हामीले बैठकबाट निर्णय गरेर पठाउँछौ । विधानमा उपमहानगरसम्मको टिकट प्रदेशले दिने भन्ने छ । तर संविधानले त्यो कुरा मान्दैन भन्ने कुरा आइरहेको छ । अब केन्द्रीय कार्यसमितिले निर्णय गर्ला नै । सकेसम्म तल्लो स्तरलाई नै शक्तिशाली बनाउँछौँ भन्ने नेताहरूको धारणा पनि छ ।

काँग्रेसले एक महिने अभियान चलाइरहेको छ, यहाँ चाहिँ के भइरहेको छ ? 

– यहाँ पनि चलिरहेको छ । केन्द्र, प्रदेश र जिल्लाबाट प्रतिनिधि खटाइसकिएको छ । यो अभियानले जनताका आकाङ्क्षा बुझ्न र आउँदो निर्वाचनमा चुनावी घोषणापत्र बनाउन सहज हुन्छ । यस्तै टोल कमिटीहरू पनि गठन भइरहेका छन् । यसले हामीलाई केही पोजेटिभ भाइब दिन्छ नै ।

यहाँका नेताहरूबीचमा पनि गठबन्धन गर्ने नगर्ने कुरामा छलफल हुन्छ कि हुँदैन ?

–अनौपचारिक रूपमा त भएको छ । म आफैँ उम्मेदवार भएकाले चासो लिने कुरा पनि हो । औपचारिक रूपमा विस्तारै होला ।

व्यक्तिगत जीवन र पार्टी पोजिसनका कुरा

पार्टीमा मेरो संलग्नता नेविसङ्घबाट सुरु भएको हो । विद्यालय तहबाट ०४७÷४८ सालदेखि नै सुरु भएको हो । त्यसपछि जिल्लाका ट्रेड युनियनहरूमा सहभागी भएँ र पछि नेविसङ्घको केन्द्रीय सदस्य भएँ । त्यसपछि ०७० मा समानुपातिकबाट नाम गयो । त्योबीचको समयमा म पत्रकारितामा सक्रिय थिएँ । रेडियो, टेलिभिजन, पत्रिकामा पनि काम गरेँ । ०७० पछि सबै छोडेर आर्टिकलहरू लेख्थेँ । 

त्यसपछि निरन्तर पार्टीमा काम गरेँ । पछि नेपाली काँग्रेसकै भ्रातृसंस्था नेपाल मगर सङ्घको सहमहामन्त्री भएँ । त्यसपछि पार्टीभित्र कुनै पदमा छैन । अस्ति महाधिवेशन प्रतिनिधि थिएँ । पराजित भएँ । पार्टीभित्रको गुट उपगुटले चुनावमा पराजित भएँ ।  

पारिवारिक हिसाब

अहिलेसम्म म सिङ्गल नै हो । बुबा एक वर्षअघि बित्नुभयो, आमा हुनुहुन्छ । म सैनिक परिवारको मान्छे हुँ ।  दिदीबहिनी, एक जना भाइ छ । म घरको साइँली छोरी हुँ । घरपरिवार भनेको श्रीमान्–श्रीमती मात्र होइन । घरपरिवारले सपोर्ट गरेनन् भने सफल हुन गाह्रो हुन्छ । 

अब अन्तिममा तपाईं उपमेयर हुँदैगर्दा अन्य स्थानीय तहका उपमेयर, उपाध्यक्षसँग के–कस्तो संवाद हुन्थ्यो ? त्यस्तो खालको महिलाको एलाइन्स बन्यो कि बनेन ? 

—देशैभरि त सम्भव भएन । पहिलो र दोस्रो वर्षमा धेरै महिला उपप्रमुखहरूको भेला भएको हो । तर त्यसलाई निरन्तरता दिन सकेनौँ । त्योबीचमा अन्त नभए पनि बाँके जिल्लाको उपमेयर, उपाध्यक्षहरू एकजुट हुने मौका पायौँ । विभिन्न खाले फोरममा हाम्रो जिम्मेवारीको कुरामा छलफल हुन्थ्यो । मेरै संयोजकत्वमा उपमेयर क्लब गठन पनि गर्‍यौँ । त्योबीचमा हामीले प्रत्येक पालिकामा गएर त्यहाँका उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई सँगै बसालेर सङ्घीयताले उपमेयरलाई केके अधिकार दिएको छ भन्ने विषयमा पढ्ने पढाउने काम गर्‍यौँ । किनभने उपमेयरलाई नजानेर अधिकार नदिएको रहेछ । 

हाम्रो मेयरसाबले पनि सुरुमा म त मेयर हो, मलाई सबै कुरा थाह छ । तिमीलाई म सिकाइहाल्छु बैनी पनि भन्नुभयो । नयाँ नयाँ थिएँ मैले केही भन्न सकिनँ । आफैँले अध्ययन गरेपछि थाहा भयो त्यहाँ त स्वतः अधिकार दिएको रहेछ । उहाँले दिनुपर्ने कुरा केही रहेनछ । यो सबै कुरा उहाँलाई पढाएँ । सबै पालिकामा पढाएँ । त्यसपछि उपमेयरहरूले आफूबीचमा जाने बुझेका कुरा सेयर गर्यौं । नरैनापुरमा सुरुमा मेयर र उपमेयरको एउटै कोठामा थियो बस्ने ठाउँ । पछि हामीले गएर विरोध गर्‍यौँ । अर्को ठाउँमा व्यवस्थापन भयो ।

न्यायिक समितिको प्रमुख भएका नाताले कस्ता खालका झगडाहरू आए, कसरी मिलाउनुभयो ? प्रहरीमा जाने मुद्दा यता आउने, यता आउने मुद्दा उता जाने भए कि भएनन् ?

–त्यो त स्वाभाविक रूपमा भयो नै । पहिला पहिला प्रहरीले जस्तो पनि मुद्दा लिन्थ्यो । तर पछिल्लो समय कम हुँदै गएको छ । हामीकहाँ मधेसी समुदाय बढी भएकाले व्यक्तिगत रिसइबीका मुद्दा बढी आउने गरेका छन् । त्यस्ता खालका घटना मिलाउन केही समय लाग्छ । हाम्रो न्यायिक समिति कहाँसम्म सफल भयो भन्ने लाग्छ भने आजसम्म हामीकहाँ आएका मुद्दाहरूमा पुनरावेदन परेको छैन । त्यो भनेको सफल हो नि.. !

दुई पार्टीका मेयर, उपमेयर हुँदा पनि असमझदारी हुँदो रहेछ, यहाँ चाहिँ के भयो ?

–सुरुमा केही असहज भएको थियो तर पछि बुझ्दै जाँदा सहज नै भयो । बहुमतको हिसाबले त हामी बढी छौँ । 

अन्तिममा यो चुनावको रौनकमा रातोपाटीमार्फत देशभरका महिला जनप्रतिनिधिलाई के भन्नुुहुन्छ ? 

–मेरो एउटै भनाइ छ, पाँच वर्षमा जति काम गर्नुभएको छ त्यसको रिजल्ट आउने समय भएको छ । सङ्घीयताले मागेको पनि समावेशिता हो । अपग्रेड हुनूस्, त्यही पदमा नलड्नूस्, मेयरमा लड्नुहोस्..! तपाईंको क्षमता भए पार्टीले ठाउँ दिन्छ । सकेसम्म तपाईंले जति काम गर्नुभएको छ, त्यो कामको मूल्याङ्कनको आधार भनेको अबको निर्वाचन हो । निर्वाचनमा भाग लिएपछि सङ्घीयता कति सफल र असफल भयो भन्ने त्यहाँ पनि देख्न सकिन्छ । तपाईं आफैँमा पनि जनप्रतिनिधिको कुरामा ठीक–बेठीकको कुरा अबको चुनावमा हुने नै छ । त्यसैले सम्पूर्ण महिला जनप्रतिनिधिहरूलाई सोहीअनुसार अगाडि बढ्न अनुरोध गर्दछु । यसका लागि एकले अर्काका लागि सपोर्ट गर्ने वातावरण पनि बन्छ ।

महिला मेयर हुँदा भ्रष्टाचार कम  हुन्छ भन्छन् नि ? 

–दुईवटा कुरा हुन्छन् । भ्रष्टाचारका कुरा पनि उठ्छन्, सामाजिक मुद्दाहरू पनि उठ्छन् । अहिले भौतिक कुरालाई प्राथमिकता दिनुभयो । तर सामाजिक मुद्दाहरू उठाउने कुरामा हाम्रा प्रमुखहरू चुक्नुभएको छ । सामाजिक मुद्दालाई सम्बोधन गर्न सक्दैनौँ भने देशमा विकास हुँदैन । देशलाई कुनै पनि समस्याबाट निकास दिनका लागि सामाजिक मुद्दालाई सम्बोधन गर्न जरुरी छ । यस्ता कुरा महिला प्रमुखले अधिकतम सम्बोधन गर्छन् । भ्रष्टाचारको कुरामा पनि धेरै कम हुन सक्छ । तर कसैको गोटी भइदिए भने अनर्थ हुन सक्छ । आफैँ सक्षम भएर लाग्नुपर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप