बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

काँग्रेसको चुनावी तालमेल 'गर्न सक्ने' निर्णयको अन्तरकथा

मङ्गलबार, १५ चैत २०७८, २१ : ४४
मङ्गलबार, १५ चैत २०७८

सत्तारुढ नेपाली काँग्रेस आसन्न स्थानीय निर्वाचनमा आवश्यकता अनुसार तालमेल 'गर्न सक्ने' निर्णय गरेको छ । पार्टी कार्यालय सानेपामा चार दिन भएको सघन छलफलपछि काँग्रेसले स्थानीय अवस्था र आवश्यकता अनुसार तालमेल गर्न सक्ने निर्णय लिएको हो । तर काँग्रेसले एक्लै पनि आसन्न स्थानीय निर्वाचनमा बहुसङ्ख्यक स्थानीय तहमा विजयी हुने बलियो आधार र अवस्था बनेको निष्कर्ष निकालेको छ ।

उक्त अवस्थालाई अझै सबल र व्यापक बनाउन स्थानीय अवस्था तथा आवश्यकता अनुरूप गठबन्धनमा रहेका अन्य दलसँग तालमेल गर्न सक्ने काँग्रेसको नीतिगत निर्णय हो । बैठकको निर्णय हेर्दा काँग्रेस सबै ठाउँमा चुनावी तालमेलको पक्षमा छैन भन्ने देखिन्छ । निर्णयबारे व्याख्या गर्दै महामन्त्री विश्वप्रकाश शर्माले रातोपाटीलाई भने, ‘काँग्रेसले तालमेल गर्ने निर्णय गरेको छैन । तालमेल गर्ने सक्ने निर्णय गरेको छ ।’

शर्माका अनुसार झापामा तालमेल हुँदा मोरङमा तालमेल नहुन पनि सक्छ । ‘आजको बैठकको निर्णय नम्बर ५ मा काँग्रेसले एक्लै चुनाव लड्ने आकाङ्क्षालाई केन्द्रमा राखिएको छ । ६ नम्बरमा काँग्रेसलाई अझै सबल र बलियो बनाउन आवश्यकता अनुसार तालमेल गर्न सक्ने भन्ने छ ।’ 

निर्णय गर्न पूर्व तालमेल गर्ने कि गर्न सक्ने छ भन्नेमा छलफल भएको थियो । तालमेल गर्ने कुरा केन्द्रीय नीति निर्देशित भन्दा पनि स्थानीय आवश्यकतालाई काँग्रेसले ध्यानमा राखेको छ । गठबन्धन दलहरूसँग तालमेल गर्ने नीतिगत निर्णयलाई व्यवहारमा कार्यान्वयन गर्न काँग्रेसले केन्द्रदेखि स्थानीय तहसम्म संयन्त्र बन्ने छ । तालमेलको निर्णय भए भने पार्टी विधानको अधिकारका आधारमा सम्बन्धित तहले गर्ने उनको भनाइ छ ।

उनले भने, ‘सम्बन्धित तहमा समझदारी विकसित गराउँदै ल्याउँछौ । त्यसमा केन्द्रले पनि आवश्यक निर्देशन र व्यवस्थापन मिलाउँछ । गठबन्धन प्रक्रियालाई व्यवहारिक रूपमा अगाडि बढाउने काम हामी गर्छौँ ।’

वडा, पालिका, प्रदेश तथा संघीय क्षेत्र, जिल्ला, सात प्रदेशहरूको अधिकार क्षेत्रभित्र रहेर नै निर्णय प्रक्रियालाई अगाडि बढाउने पार्टी प्रवक्ता प्रकाशशरण महतले बताए । केन्द्रीय संसदीय समिति, प्रदेश संसदीय समिति, जिल्ला संसदीय समिति र संघीय निर्वाचन क्षेत्र संसदीय समिति गर्ने निर्णय उनको भनाइ छ । यस्तै महामन्त्री गगन थापाले पनि चुनावी तालमेलको सहजीकरण गर्न संयन्त्र बनेपनि निर्णय भने संसदीय समितिबाट हुने बताए । 

काँग्रेसमा यसरी छानिन्छन् उम्मेदवार

काँग्रेसमा केन्द्रीय संसदीय समिति, प्रदेश संसदीय समिति, जिल्ला संसदीय समिति र संघीय निर्वाचन क्षेत्र संसदीय समितिमार्फत उम्मेदवार चयन गर्ने व्यवस्था छ । तर काँग्रेसले अहिलेसम्म संसदीय समिति गठन गर्न सकेको छैन ।

आज सकिएको केन्द्रीय समिति बैठकको मुख्य एजेण्डा नै संसदीय समिति गठन थियो । पार्टीभित्र थप परामर्श आवश्यक भएको भन्दै बैठकले समिति गठन गर्न सकेन । तर स्थानीय तहको उम्मेदवार चयन गर्न पार्टीको विधानमा उल्लेखित प्रावधान र प्रक्रिया अनुरूप कार्यअघि बढाइने काँग्रेस बैठकको निर्णय छ ।

केन्द्रीय संसदीय समितिले उपमहानगर र महानगरपालिकाका उम्मेदवार चयन गर्छ । पार्टीको महानगर कार्यसमितिले प्रमुख र उपप्रमुखमा तीन÷तीन जनाको नाम सिफारिस गर्न पाउने व्यवस्था छ । सिफारिस गरिएका नामहरू प्रदेश कार्यसमिति हुँदै केन्द्रमा आइपुग्नुपर्दछ । त्यसपछि केन्द्रीय संसदीय समितिले महानगरका प्रमुख र उपप्रमुखको उम्मेदवार टुङ्गो लगाउने काँग्रेस विधानमा व्यवस्था छ ।

यस्तै प्रदेश संसदीय समितिले नगरपालिकाका मेयर र उप–मेयरको उम्मेदवार छान्ने काम पर्छ । नगरपालिका मेयर र उप मेयरको उम्मेदवारका लागि पार्टीको नगर कार्यसमितिले तीन–तीन जनाको नाम उपल्लो तहमा सिफारिस गर्ने व्यवस्था छ । तीन मध्ये एक जना महिला नाम अनिवार्य गरिएको छ । नगर समितिले पठाएको नामबाट प्रदेश संसदीय समितिले उम्मेदवार छनोट गर्नेछ ।

यस्तै गाउँपालिका अध्यक्ष र उपाध्यक्षको उम्मेदवार चयन गर्ने अधिकार काँग्रेस विधान जिल्ला संसदीय समितिलाई छ । पार्टीको गाउँपालिका, प्रदेश सभा क्षेत्रीय कार्यसमिति र प्रतिनिधि सभा क्षेत्रीय समितिले आवश्यक रायसहित प्रतिनिधि सभा संसदीय समितिमा आकाङ्क्षीको नाम पठाउँछन् ।

त्यसपछि प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिबाट अनुमोदन गराई वडा अध्यक्ष र सदस्यको उम्मेदवार प्रतिनिधि सभा संसदीय समितिले टुङ्ग्याउने छ ।

यस्तै प्रतिनिधि सभा क्षेत्र संसदीय समितिले वडा सदस्य र अध्यक्षको उम्मेदवार टुङ्गो लगाउन अधिकार पाएको छ । वडाध्यक्ष र सदस्यको उम्मेदवार चयन गर्न वडा कार्यसमितिले माथिल्लो तहमा नामहरू सिफारिस गर्नुपर्दछ । वडाध्यक्षको नाम सिफारिस गर्दा एक महिला अनिवार्य हुनुपर्दछ । सदस्यमा सिफारिस गर्दा बढीमा ३ जनाको नाम गाउँ नगर समितिमा पठाउनुपर्दछ । विधानको सोही व्यवस्था अनुसार उम्मेदवार चयन गर्ने काँग्रेस केन्द्रीय समिति बैठकले निर्णय लिएको छ ।

यसरी खोजियो मिलन विन्दु

चुनावी गठबन्धनका सन्दर्भमा काँग्रेस बैठकमा दुई वटा विचार प्रकट भए । जसले सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला पक्षबीच गठबन्धनबारे जुहारी नै चल्यो । देउवा निकट नेताहरूले तालमेलको पक्षमा अभिमत राखे । त्यसलाई बल पुग्ने गरी वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला लगायतको मत आयो । तर शेखर पक्ष एक्लै गठबन्धनको विपक्षमा उभिएको थिए । पदाधिकारीदेखि ‘घर–घर जाऔँ, नेपाली काँग्रेस जिताऔँ’ अभियानबाट फर्किएका प्रतिनिधि पनि दुई भागमा विभाजित भए ।

जिल्लागत रिपोर्ट सुनाउँदा देउवा निकट प्रतिनिधिले गठबन्धनको आवश्यकता औँल्याए भने शेखर निकट प्रतिनिधिको मत एक्लै निर्वाचनमा पर्छ भन्ने रह्यो । प्रदेश सभापतिले पनि गठबन्धनको पक्ष–विपक्षमा ब्रिफिङ गरेका थिए । त्यसमा पनि महामन्त्री गगन थापा र गृहमन्त्री बालकृष्ण खाण आमनेसामने भए ।

गृहमन्त्री बालकृष्ण खाण तीन तहकै निर्वाचनमा सम्पूर्ण रूपमा तालमेल गरेर जानुपर्छ पक्षमा उभिए । कुनै हालतमा गठबन्धन गर्नुपर्ने विचारको प्रतिनिधित्व खाणबाट भयो । तर तालमेल गर्नै हुँदैन भन्ने विचारको प्रतिनिधित्व महामन्त्री गगन थापाबाट भयो । 

बैठकमा भने गठबन्धन सरकारको नेतृत्व गरिरहेकाले आवश्यकता अनुसार स्थानीय तहमा चुनावी तालमेल गरौँ भन्ने विचार हाबी भयो । त्यसले बालकृष्ण खाँण र गगन थापाले प्रतिनिधित्व गर्ने विचारभन्दा बाहिर गएर चुनावी तालमेल गर्न सक्ने निर्णय भएको एक नेताले रातोपाटीलाई बताए ।

यसमा पार्टीका सबै नेताको एक मत रहेको महामन्त्रीद्वय थापा र शर्माको भनाइ छ । ‘निर्णय सर्वसम्मतिले भएको छ । पार्टी सभापति शेरबहादुर देउवादेखि सभापति पदका प्रत्यासी शेखर कोइरालासम्म निर्णयमा सरिक हुनुहुन्छ,’ महामन्त्री शर्मा भने ।

उनले अगाडि थपे, ‘पाका नेताहरू रामचन्द्र पौडेलदेखि गोपालमान श्रेष्ठसम्म र युवा भनिएका गगन थापा र विश्वप्रकाश शर्मासम्म पनि सरिक हुनुहुन्छ ।’ महामन्त्री थापाले पनि सबैले स्वीकार गर्ने गरी तालमेल गर्न सक्ने निर्णय भएको बताए ।

निर्वाचनका लागि काँग्रेसका तीन समिति

नेपाली काँग्रेसले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि विभिन्न समिति गठन गरेको छ । मंगलबार बसेको केन्द्रीय समिति बैठकले निर्वाचन परिचालन समिति र निर्वाचन प्रचार–प्रसार समिति गठन गरेको हो ।

उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन भएको भने प्रवक्ता डा. प्रकाशशरण महतलाई प्रचार–प्रसार समितिको संयोजक बनाइएको छ । सदस्यहरू सभापति देउवाले आपसी सहमतिमा चयन गर्नेछन् ।

सभापति देउवाले चैत १० गते महामन्त्री गगन थापालाई ‘स्थानीय तह निर्वाचन – २०७९, घोषणापत्र तयारी समिति” को संयोजकमा मनोनीत गरेका थिए । ७७ वटै जिल्ला सभापति, पार्टीबाट निर्वाचित पालिका प्रमुख र केही विज्ञ राखेर समितिलाई पूर्णता दिने महामन्त्री थापाको तयारी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप