शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

चीनले नेपालबाट लैजान खोजेको घाँस कस्तो हो ?

बुधबार, १६ चैत २०७८, ०८ : ४३
बुधबार, १६ चैत २०७८

चर्चा सुरु भएको ३ वर्षपछि नेपालमा उत्पादित पशु आहारा ‘घाँस’ आयात गर्न चीन तयार भएको छ । भर्खरै नेपाल भ्रमण सकेर फर्किएका चिनियाँ विदेशमन्त्री वाङ यी सहितको टोलीले नेपालबाट घाँस आयातसम्बन्धी ‘प्रोटोकल’मा हस्ताक्षर गरेसँगै चीन यहाँबाट घाँस लैजान तयार भएको हो ।

अब विश्व व्यापार संगठन (डब्ल्यूटीओ) को मापदण्ड र चीनको आन्तरिक मापदण्ड पूरा भएपछि नेपालबाट चीनतर्फ घाँस निर्यात सुरु हुनेछ । यो मापदण्डमा नेपाल तर्फको पशुपक्षी र बालीनालीमा रहेको रोग चीन प्रवेश हुनबाट रोक्नुपर्छ ।

यसका लागि चिनियाँ पक्षले तोकेको आवश्यक मापदण्डसहितको ‘क्वारेन्टाइन’ पूरा गर्नुपर्छ । यस्तै, निर्यात गर्ने घाँसमा गुणस्तर र निर्धारित सबै पौष्टिक आहार उपलब्ध हुनुपर्नेछ । ‘स्वास्थ्य परीक्षणमा समेत उत्तीर्ण भएपछि नेपालले चीनको मागअनुसारका घाँस निर्यात गर्न सक्छौं,’ पशुपक्षी विकास मन्त्रालयकी सचिव निरू दाहाल पाण्डे भन्छिन्, ‘यसअघि हल्लामै सीमित घाँस निर्यातको बाटो औपचारिक रूपमै खुलेको छ ।’

चिनियाँ पक्षले नेपालबाट  आयात सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेसँगै उनीहरूले राखेको मापदण्ड पूरा गरेर घाँस निर्यात गर्न सकिन्छ । तर, चिनियाँ पक्षले राखेको मापदण्ड र विश्व व्यापार संगठनको घाँस आयात÷निर्यात सम्बन्धी मापदण्ड पूरा गर्न नसकेमा निर्यात योजना र हल्लामै सीमित हुन्छ । ‘नेपाली पक्षले चीन र विश्व व्यापार संगठनको मापदण्ड पूरा गर्न नसक्ने भन्ने हुँदैन,’ सचिव पाण्डेले भनिन्, ‘चीनतर्फ निर्यात हुने घाँस खेती घरेलु रूपमा नभइ व्यवसायीक रूपमा हुनेछ ।’

सचिव पाण्डेका अनुसार यदि कसैले चीनको मागअनुसार घाँस निर्यात गर्ने गरी वृहत् खेती गर्न चाहन्छ भने बाटो खुलेको छ । तर, चीन निर्यात हुने घाँस घरेलु रूपमा उत्पादन गरेर पठाउन सम्भव छैन । किनकि, चीनले आयात गर्ने घाँसखेती मानववस्ती र पशुपक्षीको पहुँचबाट टाढा अर्थात् एकान्त क्षेत्रमा गर्नुपर्छ । अन्यथा, नेपालमा पालिने पशुपक्षीमा रहेका विभिन्न प्रकारका रोग चीनतर्फ जान सक्छ । जसकारण घाँस निर्यातको मापदण्ड पूरा हुँदैन र चीनले आयात नै बन्द गर्न सक्छ । सोहीकारण किसानले परम्परागत रूपमा भन्दा पनि व्यावसायिक रूपमा र ठूलो परिमाणमा खेती गर्नुपर्ने हुन्छ ।

‘चीनतर्फ घाँस निर्यातको चर्चा ३ वर्षअघिदेखि नै सुरु भएको थियो । अब भने लक्ष्य हासिल हुँदैछ,’ सचिव पाण्डेले थपिन्, ‘सुन्तला निर्यात गर्ने भनिएजस्तै घाँस निर्यात अब हल्लामा सीमित रहेन ।’ हाल चितवन जिल्लाको रत्ननगरमा अत्याधुनिक प्रविधि प्रयोग गरी घाँस खेती हुँदै आएको छ । यस बाहेक, चीनले आयात गर्ने घाँस उच्च पहाडीदेखि तराईको तल्लो भेगसम्म खेती हुन्छ ।

चीनले कस्तो घाँस आयात गर्छ ?

चीनले नेपालबाट खरिद गरेर लैजाने भनिएको घाँस प्रशोधित र निश्चित मात्रामा पौष्टिक तत्त्व भएको हुनुपर्छ । अर्थात्, नेपालको जुनसुकै भेगमा जतासुकै पाइने घाँस चीनले लैजाने होइन । यद्यपी, नेपालका सबै भेगमा उत्पादन हुने मकैको पात चीनले लैजानेछ । चीनले मकैसहित नेपियर र सरगम प्रजातिको घाँसको पात समेत आयात गर्ने सम्झौतामा हस्ताक्षर गरेको हो ।

यी ३ प्रजातिका घाँसको पात जस्ताको त्यस्तै चीनतर्फ जाँदैन । वनस्पतिको निश्चित (एक–एक) प्रजातिबाट उत्पादन हुने पातमात्रै चीनले लैजानेछ । नेपालबाट चीनले लैजाने ३ प्रजातिका वनस्पतिका पातलाई उनीहरूले तोकेको मापदण्डअनुसार प्रशोधन र तयार पार्नुपर्छ । चीनले नेपालबाट आयात गर्ने घाँसलाई ‘हेलेज’ भनिन्छ । पशुपालनमा अहिले मुख्यगरी ३ प्रकारका घाँसको माग बढ्दो छ । यी मध्ये विरूवाबाट पात काटेपछि घाममा हल्का सुकाइने ‘हे’ घाँस र गुन्द्रुक बनाए जसरी नै तयार पारिने घाँस ‘साइलेज’ हो । यी दुई ‘हे’ र ‘साइलेज’ प्रकारका घाँसमा रहेको पौष्टिक तत्त्व राखेर उत्पादन गरिने घाँस नै ‘हेलेज’ हो । यसलाई आधुनिक प्रविधिबाट तयार पारिन्छ ।

यस प्रविधिबाट नेपालको चितवनमा मात्रै घाँस उत्पादन गरिँदै आएको छ । हेलेज घाँस बनाउँदा बिरुवाको पातमा रहेको अक्सिजनलाई घाममा सुकाएर निकालिन्छ र हल्का अमिलो बनाइन्छ । यस्तै, यो घाँसमा ३० देखि ५० प्रतिशत आद्रता (मोइस्चर) आवश्यक पर्छ । यो घाँस खुवाएपछि दुग्ध व्यवसायका लागि पालिएका पशुले पर्याप्त मात्रामा दुध दिन्छन् । सोहीकारण चीनले सुख्खा तिब्बत क्षेत्रमा पालन गरिएका दुग्ध फार्मलाई आवश्यकता अनुसार नेपालबाट यो प्रकारको घाँस आयात गर्ने योजना बनाएको हो ।

तिब्बतस्थित दुग्ध फार्महरूमा चिनियाँ मुख्य भूमिबाट ल्याउनुभन्दा तातोपानी र केरूङ नाका हुँदै नेपालबाट घाँस किन्न सहज र सस्तो पर्छ । जसकारण चीनले नेपालमा उत्पादित घाँस आयातलाई प्राथमिकतामा राखेको हो । यस बाहेक, नेपालतर्फको उत्पादन लागत समेत चीनको तुलनामा सस्तो हुँदा उनीहरूको प्राथमिकतामा नेपाली घाँस परेको सचिव पाण्डे बताउँछिन् । अन्य नगदेबालीको तुलनामा घाँस खेती लाभदायी हुने भएकाले यसबाट नेपालले समेत फाइदा लिनसक्ने उनको भनाइ छ ।

चीनले नेपालबाट आयात गर्ने भनिएको ३ प्रजातिका घाँसमध्ये मकै उच्च हिमालीदेखि तराई भेगसम्मै खेती गर्न मिल्छ । यस्तै, नेपियर घाँस पनि नेपालका सबैजसो स्थानमा खेती गर्न मिल्छ भने सरगम प्रजातिको घाँस गर्मी स्थानमा मात्रै खेती हुन्छ । यसअनुसार मध्य तराई तथा दाङ, चितवन र नवलपरासी लगायत क्षेत्र चीन निर्यात हुने घाँसका लागि उर्वर मानिन्छ ।

घाँस खेतीमा चीनले लगानी गर्छ ?

कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अनुसार चीनले नेपालमा घाँस खेतीका लागि ठूलो परिमाणमा लगानी गर्न सक्छ । चीनले वैदेशिक लगानीका रूपमा नेपाली भूमिमा घाँस खेतीमा लगानी गर्ने सम्भावना छ । यस्तै, चीनले नेपाललाई खेतीको प्रविधि हस्तान्तरण गरेर उत्पादन बढाउन र आफूलाई चाहिएजति घाँस लैजाने गरी उत्पादन वृद्धि गर्न समेत सक्ने सम्भावना छ । तर, चिनियाँहरू नै नेपाल आएर घाँस खेतीमा सामेल हुने सम्भावना भने देखिँदैन । यसबाहेक, चीनले घाँस प्रशोधन गर्न चाहिने आवश्यक मेसिनरी समेत नेपाललाई उपलब्ध गराउन सक्ने मन्त्रालयका अधिकारीहरूले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निकेश खत्री
निकेश खत्री

खत्री रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप